Shittalpati
मौलिक फागु जोगाउँदै पाल्पाका युवा–पाका 
पाल्पाको तानसेन नगरपालिका–१३ छेर्लुङ्गमा लोप हुँदै गरेको मौलिक फागु जोगाउन ट्याम्को, ढोलक,मादल र मुजुराको तालसँगै लयबद्ध फागु गीत गाएर नाँच्दै युवा– पाका पुस्ता । तस्वीर : किशोर भट्टराई

तानसे (पाल्पा), 
मजाको फागुन जानमा लाग्यो, धड्कन लाग्यो छाती हो । 
औँला काटी कलम बनावे रगतकी मसिया बनायी, यै हो । 
हाय हाय रगत के मसिया बनावे सखियाँ । 
धड्कन लाग्यो छाती हो ।’
फागु खेलन हो...हुरी खेलन..राजाको आँगनमा हुरी खेलन....
. लोप हुन लागेका यी र यस्तै  फागु गीत गाएर पाल्पाको तानसेन नगरपालिका–१३ छेर्लुङ्गका टोल–टोलमा तीन दिनयता फागु खेलिएको छ । पहाडी भेगका अधिकांश गाउँमा फागु पूर्णिमाको ४/५ दिन अघि नै यस्तै गीत घन्काउने पुरानो चलनलाई यहाँका युवा र पाका पुस्ताले ब्युँताउन यस्ता गीत गाएर टोल, गाउँ, बस्तीमा पुगेका छन् ।  
 छेर्लुङ्गमा विहीबार बिहानैदेखि युवा र पाका पुस्ता फागु गीत गाउँदै रमाउँदै थिए । पाका पुस्ताले गीतको भाका झिक्थे भने नयाँ पुस्ताले यसलाई साथ दिए । उनीहरुले ट्याम्को, ढोलक,मादल र मुजुराको तालसँगै लयबद्ध बनाउँदै गाउँदै होलीको रङसँग रमाउँदै थिए । उनीहरूले गाएको यही ऐतिहासिक फागु गीतले युवायुवतीदेखि बुढाबुढीसम्मको ध्यान तान्यो । मादल बजाउँदै टोल –टोलमा जाँदै गर्दा घरको आगनीबाट धेरैले नियालेका थिए । आज पहाडी क्षेत्रमा होलीको रौनक छ । सडकमा युवायुवती, ‘ह्यापी होली –ह्याप्पी होली’ भनी रमाइरहेका देखिन्छन् । यहाँका युवाहरु भने वर्षौँ पुरानो फागु गीत घन्काउँदै गाउँटोलमा छुट्टै माहोल बनाएका छन् । 

1
यहाँ युवा र पाकाहरु  मिलेर हरेक वर्ष होली पुर्णिमाका  अवसरमा  परम्परागत संस्कृतिको संरक्षण गर्दै  आएका छन् । आधुनिकता र प्रविधिको विकाससंगै होली खेल्ने प्रचलन बढेपछि मौलिक फागु हराउन लागेका बेला छेर्लुङ्गवासीहरु भने सरंक्षणमा जुटेको स्थानीय किशोर भट्टराईले बताए । उनले भने ‘ दुई/ तीन दिनदेखि नै यहाँका युवा र पाकाहरु स्वतस्फूर्त रुपमा सबै टोलहरुमा समूह बनाएर उत्साहका साथ फागु सिकाउने, गाउने र नाच्ने गरिरहेका छन् ।’ मौलिक संस्कृतिको संरक्षण र जगेर्ना गर्नुपर्छ भन्ने उद्देश्यका साथ यहाँका युवाहरु लागेको उनले बताए । फागु खेलेर  उठेको केही रकम साथीभाइहरु मिलेर रमाइलो गर्ने र बाँकी रकम सामाजिक कार्यमा खर्च गर्ने गरिएको स्थानीय अगुवा समेत रहेका भट्टराईले बताए । यहाँ त्रेता युगमा भगवान विष्णुका भक्त प्रह्लादको कथामा आधारित भई फागु गाउने प्रचलन छ । जुन अहिलेको पुस्तालाई थाहै नहुँदा लोप हुन लागेको भट्टराईको भनाई छ । 
आफूहरुले बाजेहरुसँग फागु खेलेको स्मरण गर्दै  धनबहादुर भट्टराईले  भने ‘अहिलेका पुस्तालाई चासो नै छैन । डेक र मोबाइलमा गीत बजाउँछन् हाम्रो पालको फागु हराउन थालेपछि अहिले हामी सबैलाई सिकाउन लागि परेका छौं ।’ फागु गाउँदा भाका ठाउँ अनुसार फरक –फरक भएपनि टेम्को, ढोलक, डम्फु, मजुरा मादल बजाएर गीतअनुसार नाच देखाउदै नाच्ने गरिन्छ । दुई दशक अघिसम्म पाल्पासहित पहाडी जिल्लाका विभिन्न गाउँ र टोलहरुमा यसरी गाइने मौलिक फागु अहिले सीमित समूह र टोलमा मात्रै देख्न पाइन्छ । 
फागुपूर्णिमाको मौलिकता हराउँदै गएपछि यसको जगेर्नाका लागि कतिपय संघसंस्था,युवा क्लब,समूहहरु पनि लागि परेका छन् । मौलिकता जोगाउन यहाँका चिदीपानी, भैरवस्थान, देउराली, खस्यौली, ख्याहा सोमादीको सर्देवा,बराङदीलगायतका गाउँमा टेम्को, ढोलक, डम्फु, मजुरा बजाएर फागु खेल्ने प्रचलन कायमै छ । यहाँ पाका पुस्ताले गीत गाउने र युवा पुस्तालाई सिकाउने गर्छन् । 

प्रकाशित मिति: बिहीबार, फागुन २९, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update