Shittalpati
पाल्पामा होलीको हर्षोल्लास

पाल्पा, तानसेनका शान्ता ढकाल, रेनुका न्यौपाने र मनिषा आलेले यो वर्ष साथीभाइसँग जमघट भएर नै होली पर्व मनाए । तानसेनको कैलाशनगर, भगवती टोल, शित्तलपाटी, मखनटोल, टुँडिखेल, बसपार्क, बसन्तपुर क्षेत्र वरिपरी नै भेला भएर उनीहरुले एकआपसमा रङ दलेर होलीलाई उल्लासमय बनाए ।

‘घरमा बस्दा/बस्दा वाक्क नै लागेको थियो’ शान्ताले   हास्दै भनिन्, ‘साथीहरू मिलेर कलरसँग खेल्दा निकै फ्रेस फिल भएको छ ।’ हरेक वर्ष फागु पूर्णिमाका दिन पहाडमा र त्यसको भोलिपल्ट तराईमा मनाइने होली यस वर्ष भने पाल्पामा रङमा रमाउनेहरु निकै उत्साहित देखिए । पाल्पाका विभिन्न ठाउँहरुमा विहानैदेखि पिचकारींसँग रमाएका बालबालिका र रंगको उमङ्गमा चुलुम्म डुबेका युवा अनि पुराना यादहरु संगाल्दै अबिर र केशरीको टिका लगाएका वृद्ध पुस्ता सबै उमेरका व्यक्तिहरु होलीमा उत्साहका साथ रमाएको देखिन्थ्यो ।
 होलीको अवसरमा यहाँका विभिन्न स्थानमा होली विशेष कार्यक्रम समेत भए । यहाँका तानसेनको बसपार्क,प्रभास, माथागढीको चिदीपानी, रिब्दीकोटको भैरवस्थान, देउराली, खस्यौली,  रैनादेवीको ख्याहा सोमादीको सर्देवा, बगनासकाली,निस्दी, तिनाउ, रम्भा, रामपुर, पूर्वखोला लगायतका गाउँ गाउँमा  समेत होली उत्साहका साथ मनाइएको छ । 

हट्दै विकृति

होली पर्व सुरु हुनु अगावै अरुलाई लोला हान्ने, पिच्कारीले भिजाउने, सडकमा काम विशेषले हिँड्नेलाई इच्छा विपरित रङ लगाउने जस्ता क्रियाकलाप केही वर्ष यता कम हुँदै गएको देखिन्छ भने यो वर्ष  जिल्लामा यस्ता क्रियाकलाप निकै कम देखिएको छ ।  
केही वर्ष अघिसम्म फागुन शुक्ल अष्टमीदेखि नै लोला हान्ने प्रवृत्ति थियो । तर, विगत चार–पाँच वर्ष यतादेखि फागु पर्वलाई अनुशासित भएर मनाउने गरिएको पाइन्छ । यसअघिको जस्तो एक हप्ताअघिदेखि बाटोमा हिँड्ने नागरिकले खेप्नुपर्ने सास्ती भने यस वर्ष सामना गर्नु नपरेको तानसेनको टुँडिखेलमा होली खेल्न आएकी कमला सूर्यवंशीले बताइन । उनी भन्छिन् ‘होलीकै दिन पनि खेल्न नचाहनेलाई बाध्यात्मक अवस्था छैन हुलमै पुगेर पनि बच्नसक्ने अवस्था छ ।’ समयक्रमको विकाससँगै होली मनाउने शैली र परम्परामा निकै परिवर्तन आएको उनको बुझाई छ ।

बतासेडाँडामा साथीसँग होली खेल्दै गर्नुभएकी मनिषा आलेलाई कुनै अपरिचितले रङ लगाइदेला र लोला हान्ला भन्ने संशय थिएन । नेपाल प्रहरीले कसैलाई जबरजस्ती छुन नपाइने र अनुमति बिना होली खेल्न नहुने भन्दै कारवाही सुरु गरेपछि होली सभ्य बन्दै गएको उनको बुझाइ छ । आलेको जस्तै अनुभव छ, भगवतीटोलकी विनु गाहा र सिर्जना बस्नेतको । उनीहरू दुवैजना होली खेल्न टुँडिखेल पुगे । तर बाटोमा कसैले दुव्र्यवहार गरेनन् । कसैले जबरजस्ती रङ दलेनन् । लोला हानेनन् । ‘अहिले त होली निकै अनुशासित ढङ्गले खेल्न थालिएछ’, विनुले भनिन्, ‘सुरक्षित र सभ्य भएपछि थप रमाइलो पनि भएको छ ।’ होलीका बेला देखिने विकृति अहिले भने क्रमशः हराउँदै गएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, चैत १, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update