
पाल्पा,पाल्पाली पत्रकार सिता डोटेल सम्मानित भएकी छन् । रामपुर नगरपालिका–६ बिजयपुर निवासी समाजसेवी सुब्बा लोकनाथ रेग्मी उपाध्यायको स्मृतिमा रेग्मी परिवारले स्थापना गरेको ‘सुब्बा लोकनाथ रेग्मी उपाध्याय स्मृति अक्षयकोषबाट डोटेल सम्मानित भएकी हुन् ।
सामाजिक क्षेत्रमा पत्रकारिताको माध्यमबाट खेलेको महत्वपूर्ण भूमिकाको उच्च कदर गर्दै उनलाई सम्मान गरिएको हो । डोटेल २ दशकदेखि रामपुरमा रहेर पत्रकारिता गर्दै आएकी छन् । उनी सञ्चारिका समुह पाल्पाका अध्यक्ष, सबल न्युज डटकमका प्रबन्ध निर्देशक, नेपाल पत्रकार महासंघको केन्द्रिय परिषद् सदस्य समेत हुन् । सामुदायिक रेडियो रामपुरको स्थापनाकालदेखि एक दशक लामो समय रेडियोमा आवद्ध डोटेल हाल आफ्नै अनलाईन सञ्चालन गर्दै आएकी छन् । उनले विभिन्न पत्रिका र टेलिभिजनमा समेत जिल्ला संवाददाताको रुपमा काम गर्दै आएकी छन् । पत्रकार डोटेल कालीगण्डकी फाउण्डेशन नेपालको सचिव, खेलकुद पत्रकार मञ्चको जिल्ला सदस्यसहित विभिन्न सामाजिक क्षेत्रमा समेत क्रियाशिल छन् । डोटेलसहित उक्त अक्षयकोषबाट रामतुलसी नमुना माविका प्रध्यानध्यापक बालकृष्ण लम्साल समेत सम्मनित भएका छन् । उपाध्यायको नाममा रेग्मी परिवारले स्थापना गरेको अक्षयकोषबाट हरेक बर्ष सामाजिक क्षेत्रमा महत्वपुर्ण भूमिका खेल्ने २ जनालाई सम्मान गरिदै आइएको छ । शताब्दी पुरुष समेत रहेका उपाध्यायको गत २०७८ साल चैत्र १ गते १०१ बर्षको उमेरमा निधन भएको थियो । उपाध्यायको तेस्रो स्मृति दिवसको अवसरमा रामपुर नगरपालिका– ६ वडा कार्यालयसँगको समन्वयमा रेग्मीका श्रीमती तथा अक्षयकोषका संरक्षक तिलकुमारी रेग्मी, छोराहरु नारायण प्रसाद, सुदनप्रकाश र ओम प्रकाश रेग्मी बुहारी र रेग्मी परिवार सहित वडाध्यक्ष दिवाकर देवकोटा लगायतले सम्मानित व्यक्तिहरुलाई नगद सहित सम्मान पत्रले सम्मान गरेका हुन् ।