
पाल्पा, उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले पूर्व विशिष्टहरुलाई सुविधा दिने विषयमा सरकारलाई थाहा नभएको बताएका छन् । शुक्रबार नेपाली काँग्रेस पाल्पाले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै सिंहले पूर्वविशिष्टहरूलाई आजीवन सुविधा दिने गरी सरकारले विधेयक ल्याउन लागेको भन्ने समाचार आएकाले त्यस विषयमा सरकारलाई नै थाहा नभएको बताएका हुन् ।
मन्त्री सिंहले सरकारले पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, मन्त्रिपरिषदका पूर्वअध्यक्ष र राष्ट्रियसभा पूर्वअध्यक्षलाई सुविधा दिन लागेको छ भन्ने कुरा आएकाले त्यो हल्ला भएको उल्लेख गरे । उनले भने ‘अहिले हामी सरकारमा छौं,तर हामीलाई नै थाहा छैन्, अब कुन सरकारको समयमा के आवश्यकता परेर ल्याउने कुरा भएको होला, त्यो कुरा अहिले ल्याएर दललाई अफठ्यारो पार्न खोजिएको हुन सक्छ, त्यो त भएन नि, यो सबैले बुझ्न जरुरी छ ।’ मन्त्री सिंहले वर्तमान सरकारले नागरिकका पक्षमा केन्द्रित रहँदै आशा जगाउने काम गरिरहेको बताए । उनले शिक्षा, स्वास्थ्य, रोजगार र व्यावसायिक क्षेत्रको सुधारमा सरकार योजना बनाएर अघि बढिरहेको उल्लेख गरे । स्वदेशमा सीप विकास, रोजगारीका अवसर सिर्जना गर्दै युवालाई स्वदेशमा बस्ने वातावरण बनाउने पक्षमा काम भइरहेको भन्दै अब देश बनेन् भनेर चिन्तित हुनुपर्ने अवस्था नभएको पनि उपप्रधानमन्त्री सिंहले बताए ।
पछिल्लो समय सकारात्मकभन्दा नकारात्मक टीकाटिप्पणी बढी हुने गरेको भन्दै बाहिर हुने हल्लाको पछाडी नलाग्न उहाँले कार्यकर्तालाई आग्रह गरे । लामो समय सरकारले स्थायित्व नपाउँदा धेरैमा निराशा छाएको भन्दै उनले वर्तमान सरकारले विकास निर्माण र जनताको आवश्यकताअनुसार काम गर्ने प्रतिबद्धता जनाए । उपप्रधानमन्त्री सिंहले भने, ‘केही हुँदै भएन भन्नु गलत हो, देशमा धेरै परिवर्तन भएको छ, आम नागरिकका इच्छाचाहाना असीमित छन्, त्यसलाई सरकारले क्रमैसँग सम्बोधन गर्दै गएको छ, नयाँ सरकार बनेपछि जनतामा भएको निराशा पनि चिरिँदै गएको छ ।’ मन्त्री सिंहले नेपाली काँग्रेस र नेकपा (एमाले) गठबन्धनको सरकार परिस्थितिको उपज भएको समेत बताए । उनले देशमा जब राष्ट्रिय सङ्कट पर्छ तब काँग्रेसले नेतृत्व लिएको उल्लेख गर्दै यसपटक देशको सङ्कट समाधान गर्न एमालेसँग गठबन्धन गर्नुपरेको उल्लेख गरे । सिंहले अब बोल्नेभन्दा पनि उपलब्धि देखाउनुपर्ने बेला आएको पनि बताए । उनले जनताले बोलीभन्दा पनि परिणामको अपेक्षा गरिरहेकाले सोहीअनुसार सबै अगाडि बढ्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य नैनसिंह महराले बहुमत प्राप्त गरेर मात्र सरकार स्थिर नरहने भन्दै नेताहरूले चरित्र परिवर्तन गर्न जरुरी रहेको बताए । उनले काँग्रेस महाधिवेशन हुने नहुने तल्लो तहमै निर्भर रहेको उल्लेख गरे । महराले भने ‘वडा, टोल समितिबाटै काम भए मात्र पार्टीको महाधिवेशन हुन्छ नत्र हुन्न ।’ नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले जनतामा निराशा छाएकाले त्यसलाई चिर्न काँग्रेसको काधमा जिम्मेवारी आएको बताए । काँग्रेस पाल्पाका निवर्तमान सभापति तथा लुम्बिनी प्रदेश सांसद वीरबहादुर रानाले जनतामा असुन्तुष्टी पैदा भएकाले त्यसतर्फ पार्टी नेतृत्वले ध्यान दिनुपर्ने उल्लेख गरे । ‘हामी सधैं भुइ मान्छेको जिम्मेवारी लिएर काम गरेका छौं तर केन्द्रीय नेतृत्वका कारण साथीहरुको मनोवल गिरेको छ’ उनले भने । सांसद रानाले तानसेनलाई साँस्कृतिक नगरको रुपमा विकास गर्ने दिशामा ध्यान दिन मन्त्री सिंहलाई आग्रह गरे । काँग्रेस जिल्ला सभापति हिमालदत्त श्रेष्ठको अध्यक्षता, उपसभापति झपेन्द्र गहिरेको स्वागत, सचिव सन्तोष कुमार थापाको सञ्चालनमा कार्यक्रम भएको थियो ।