Shittalpati
अब पुराना पुस्ताका नेताहरुबाट देश बन्दैन : डा. भण्डारी 

गुल्मी, नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा प्रभावशाली नेता डा. चन्द्र भण्डारीले अब पुराना पुस्ताका नेताहरुबाट देश नबन्ने दावी गरेका छन् । नेपाली कांग्रेस गुल्मी क्षेत्र नम्बर २ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै नेता भण्डारीले अहिलेका शीर्ष नेताहरूबाट देश नबन्ने दाबी गरेका हुन् ।

उनले  पुराना पुस्ताका नेताहरूलाई सम्मानजनक रुपले विस्थापित गरी आफूहरुले देशलाई निकास दिन लागि परेको बताए । गुल्मी क्षेत्र नम्बर २ का सांसद समेत रहेका भण्डारीले नयाँ पुस्ताका नेताहरूलाई साथ दिन देशभरका मतदाताहरूलाई आग्रह समेत गरे । 
“पुराना नेताहरू सच्चिने अवस्था देखिएन, त्यसैले नयाँ पुस्ताका नेताहरूलाई मौका दिनु नै अहिलेको निकासको मुख्य उपाय हो’ उनले भने । पुराना नेताहरूको व्यवहारकै कारण राजावादीहरूको आत्मबल बढेको तर्क गर्दै नेता भण्डारीले नेपालमा फेरि राजतन्त्र फर्किने सम्भावना नरहेको दाबी गरे । अब “लोकतन्त्रको विकल्प राजतन्त्र होइन, बरु पुराना नेताहरूको विकल्प नयाँ नेताहरू हुन सक्छन् यही व्यवस्थाभित्र सुधारका लागि लाग्नुपर्छ’ उनले भने ।

 नेता भण्डारीले अति विशिष्ट पदाधिकारीहरूको सेवा सुविधा घटाउनुपर्ने समेत बताए । उनले देश आर्थिक संकटमा गइरहेका बेला विशिष्ट पदाधिकारीको सेवा सुविधा बढाउने प्रस्ताव स्वीकार्य नहुने स्पष्ट पारे । उनले विशिष्ट व्यक्तिका सेवासुविधा कटौती गरेर जनताको सुविधा बढाउनुपर्नेमा जोड दिए । नेता भण्डारीले देशका हरेक मोडमा निकासको नेतृत्व सधैँ कांग्रेसले मात्रै गरेको दृष्टान्त प्रस्तुत गर्दै अब पनि कांग्रेसले नै निकास दिने दाबी गरे । उनले सबैभन्दा बढी सम्भावना कांग्रेसबाटै भएकाले यसको विकल्पमा नलाग्न पनि शुभेक्षकहरूलाई आह्वान गरे । 
कार्यक्रममा राष्ट्रिय सभा सदस्य विष्णु सापकोटा, कांग्रेसका प्रदेश उपसभापति भुवन श्रेष्ठ, जिल्ला सभापति तथा रेसुङ्गा नगरपालिकाका मेयर खिलध्वज पन्थी लगायतका नेताहरूले केन्द्रीय नेताहरू सुध्रिनुपर्ने र आम कार्यकर्ता निराश नभई खबरदारी गरिरहनुपर्नेमा जोड दिए । 
 

प्रकाशित मिति: शुक्रबार, चैत १, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update