कोरोना भाइरसको संक्रमण फैलिन नदिन मुलुकमा लकडाउन गरिएको तीन महिना पुग्न लागेको छ । लकडाउनले मानिसको दैनिक जीवन केही असहज भएपनि यो जरुरी थियो र यसले कोरोना नियन्त्रणमा धेरै सफलता पनि हासिल गरेको हो । लकडाउनले सामाजिक र भौतिक दूरीको आवश्यकताका सम्बन्धमा पनि जनतालाई सचेत गराउन सफल भएको छ । तर, लकडाउन स्थायी समाधान पक्कै होइन र यसका सकारात्मक परिणामसँगै नकरात्मक प्रभाव पनि उत्तिकै छन् ।
हाम्रो अहिलेको मुख्य समस्या कोभिड–१९ भए पनि यसका अतिरिक्त थुप्रै समस्या छन् र लकडाउनले ति समस्यालाई झनै गम्भीर बनाइरहेको छ । पछिल्ला दिनमा कोरोना संक्रमितको ग्राफ निकै तिब्र गतिमा उकालो लागिरहेको छ । दिन दुगुना र रात चौगुना भने जसरी नै कोरोना फैलिएको देखिन्छ । तर, कोरोनाको समस्याका सामु अन्य समस्याहरूलाई सरकारले गम्भीरतापूर्वक लिएको छैन र यसले नयाँ संकट उत्पन्न भएको छ । नेपालमा लाखौं दीर्घरोगी छन् र उनीहरूमध्ये सयौंले समयमै उपचार नपाएर यही बेला ज्यान गुमाइसकेका छन् । अस्पताल लैजान सहज छैन र अस्पताल पु¥याइहाले पनि उपचारको राम्रो बन्दोवस्त छैन ।
चिकित्सक र नर्सका पनि आफ्नै समस्या छन् । यसरी लकडाउनले समाजमा धेरै समस्या सिर्जना गरिसकेकाले अब लकडाउनको विकल्प खोज्नु पर्दछ । सरकारले जेठ ३२ सम्म लकडाउन लम्ब्याएको छ । जबकि यही लकडाउनकै अवधिमा संक्रमित र मृतकको संख्या झनझन् बढ्ने तर त्यसलाई रोक्न सरकारी संयन्त्रहरू निष्प्रभावी देखिने विडम्बनापूर्ण अवस्था छ । बिना विकल्प यसरी सारा मुलुक बन्द गर्दा कोरोना भाइरसले भन्दा बढी सर्ने नसर्ने अरू रोग र भोकले मान्छे मर्ने चिन्ता र चेतावनी विज्ञहरूको छ । जनताको नियमित दैनिकीलाई जति ठप्प पारे पनि सरकारले आफूले गर्नैपर्ने काम नगरेका कारण संक्रमणको साङ्लो भने चुँडिएको छैन, झनझन् बढ्दो छ ।
यही कारण, लकडाउनलाई सरकारले कतै आफ्नो अकर्मण्यता छल्ने अस्त्रका रूपमा प्रयोग गरेको त होइन भन्ने आम आशंका पनि उब्जाएको छ । संक्रमण रोक्नभन्दा लकडाउन थप्न सरकार सहज ठान्दै छ । आफूलाई सहज बनाउने अनि जनताको पीरमर्कामा ध्यान नदिने सरकारको रवैया एकदम गलत छ । सरकारको यसो गर्दै जाँदा जनआक्रोश बढ्ने निश्चित छ, जुन सामाजिक सञ्जालमा देखिन थालिसकेको छ । अब सरकारले अर्थतन्त्रलाई प्राथमिकतामा राखेर यसलाई गतिशील बनाउन सहयोग पुग्ने गरी लकडाउन विकल्प खोज्न ढिला गर्नु हुँदैन ।