
पाल्पा, उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले राजा ल्याउने कुरा गणतन्त्रवादीका लागि स्वीकार्य नहुने बताएका छन् । नेपाल पत्रकार महासङ्घ पाल्पा शाखाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री सिंहले यस्तो बताएका हुन् ।
पत्रकारहरुले किन पछिल्लो समय राजावादीहरुका गतिविधि बढ्दै गएका छन् भन्ने प्रश्नमा उनले राजावादीहरुको गतिविधि बढेपनि राजतन्त्रको बारेमा कुरा गर्नुको कुनै अर्थ नरहने उल्लेख गरे । संघीय लोकतान्त्रिक गणतन्त्र नेपाली जनताको संघर्षबाट आएकाले राजा ल्याउने कुरा गणतन्त्रवादीका लागि स्वीकार्य नहुने उपप्रधानमन्त्री सिंहले जिकिर गरे ।
उपप्रधानमन्त्री सिंहले केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा भ्रमपूर्ण समाचार सम्प्रेषण भइरहेको बताउँदै त्यसले जनतामा निरासा पैदा गरेको उल्लेख गरे । अहिले निरासा हुनुपर्ने कुनै कारणा नरहेको बताउँदै वर्तमान सरकारबाट जनताको चाहना अनुसार काम भइरहेको सिंहले बताए ।
उपप्रधानमन्त्री सिंहले पूर्वविशिष्टलाई सुविधा थप्ने सरकारको कुनै तयारी नभएको पनि उल्लेख गरे । उनले भने यसअघिका सरकारले अगाडि बढाएको पूर्वविशिष्टको सुविधाको विषय सर्वोच्च अदालत पुगेपछि कानून बनाएर व्यवस्थित गर्ने गरी निर्देशनात्मक आदेश जारी भएको हो, अहिलेको सरकारले पूर्वविशिष्टलाई सुविधा थप्ने कुनै योजना बनाएको छैन ।’
देशको संकट समाधानका लागि नेपाली कांग्रेस–नेकपा (एमाले) गठबन्धन सरकार निर्माण भएको पनि उनले बताए । गठबन्धनको सरकार परिस्थितिको उपज भएको उनको भनाई छ । देशमा जब राष्ट्रिय सङ्कट पर्छ तब काँग्रेसले नेतृत्व लिएको उल्लेख गर्दै यसपटक देशको सङ्कट समाधान गर्न एमालेसँग गठबन्धन गर्नुपरेको नेता सिंहले उल्लेख गरे । सिंहले अब बोल्नेभन्दा पनि उपलब्धि देखाउनुपर्ने बेला आएको पनि बताए । उनले जनताले बोलीभन्दा पनि परिणामको अपेक्षा गरिरहेकाले सोहीअनुसार सबै अगाडि बढ्नुपर्नेमा जोड दिए ।
उपप्रधानमन्त्री सिंहले वर्तमान सरकार आएपछि कुनै पनि काण्ड तथा नराम्रो काम सुन्न नपरेको समेत बताए । उनले भने‘ विगतको सरकार बनेपछि विभिन्न काण्ड सुनिने गरेकोमा अहिलेको सरकारले कुनै त्यस्तो नराम्रो काम गरेको भन्ने सुनिएको छैन् ।’ नेपाली काँग्रेस गुल्मीको क्षेत्रिय सम्मेलनलाई सम्बोधन गर्न उहाँ गुल्मी जाने क्रममा पाल्पा आएका हुन् । पत्रकार महासंघका जिल्ला अध्यक्ष कमलराज तिमिल्सेनाको अध्यक्षता, सचिव रामचन्द्र रायमाझीको सञ्चालनमा कार्यक्रम भएको थियो ।