
पाल्पा, जिल्लाको तानसेन नगरपालिका–२ अमर नारायण फूलबारीमा वडास्तरीय रनिङ शिल्ड ब्याडमिन्टन प्रतियोगिता भएको छ । नारायण युवा क्लवको आयोजना, वडा कार्यालयको सहयोग, जिल्ला व्याडमिन्टन संघ पाल्पाको समन्वय र अमर नारायण फूलबारी कर्भड हल व्यवस्थापन समितिको व्यवस्थापनमा प्रतियोगिता भएको हो ।
प्रतियोगिताको शनिबार एक औपचारिक कार्यक्रमकाबिच शुभारम्भ गरिएको छ । प्रतियोगिताको तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठ, वडा अध्यक्ष महेश्वर श्रेष्ठ, नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पिताम्वर पाण्डे र क्लवका अध्यक्ष प्रबिनराज शाक्यले संयुक्त रुपमा ब्याडमिन्टन खेलेर शुभारम्भ गरेका हुन् ।
प्रतियोगिताको शुभारम्भ गर्दै नगर प्रमुख श्रेष्ठले क्लवले सञ्चालन गर्दै आएका हरेक गतिविधिहरु रचनात्मक र प्रशंसनिय रहेको बताए । उनले खेल क्षेत्रको विकासका लागि नगर सरकारले विशेष प्राथमिकतामा राखेर काम गर्दै आएको र त्यसमा क्लवले सक्रियता देखाएकोमा खुसी व्यक्त गरे । नगर प्रमुख श्रेष्ठले विगतमा खेल क्षेत्रका लागि नगर सरकारबाट अत्यन्त न्युन बजेट विनियोजन हुँदै आएकोमा चालु आर्थिक वर्षमा भने ३० लाख छुट्याएको बताए । सेलाउदै गएको तानसेनको खेल क्षेत्रको गतिविधिलाई आफुहरु निर्वाचित भएर आइसकेपछि चलायमान बनाइएको उनले दावी गरे।
नगर प्रमुख श्रेष्ठले भने ‘हामीले पहिलो, दोस्रो, तेस्रो मेयर कप प्रतियोगिता गरिसक्यौं, विद्यालयस्तरी खेलकूदका कार्यक्रमहरु भइरहेका छन्, यसरी खेल क्षेत्र अहिले चलायमान भएको छ ।’ वडा अध्यक्ष महेश्वर श्रेष्ठले महिलाहरुको जीविकोपार्जनसँगै शिक्षा, स्वास्थ्य, पर्यटन र खेल क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेर वडाले काम गर्दै आएको बताए । उनले वडाको खेल क्षेत्रका लागि क्लवसँग सहकार्य गर्दै अगाडि बढेको उल्लेख गरे । ब्याडमिन्टन संघ पाल्पाका अध्यक्ष बसन्तलाल बज्राचार्यले खेल क्षेत्रको माध्यमबाट तानसेनलाई गुल्जार बनाउनुपर्ने बताए । उनले तानसेन खेलको सम्भावना बोकेको नगर भएकाले त्यसको विकास गरी पर्यटनसँग जोड्न सके सुुस्ताउँदै गएको तानसेनलाई चलायमान बनाउन सकिने भन्दै त्यसतर्फ ध्यान दिन नगर सरकारलाई आग्रह गरे ।
क्लवका अध्यक्ष प्रबिनराज शाक्यले २०७५ देखि क्लवले रनिङ शिल्ड प्रतियोगिता गर्दै आएको बताए । उनले सामाजिक क्षेत्रको विकाससँगै खेल क्षेत्रको विकासलाई पनि सँगसँगै अगाडि बढाएको जानकारी गराए । अध्यक्ष शाक्यले वडा र नगर सरकारको सहयोगका कारण अधिकांस कार्यक्रमहरु गर्न सहज भएको भन्दै नवनिर्मित कर्भड हललाई थप व्यवस्थित गर्ने काममा आवश्यक सहयोग गरिदिन समेत नगर सरकारलाई आग्रह गरे । क्लवका निवर्तमान अध्यक्ष तथा कार्यक्रम संयोजक किशोर दर्शन बज्राचार्यले खेल क्षेत्रको विकाससँगै दक्ष र अब्बल खेलाडी उत्पादन गरी राष्ट्रिय अन्तर्राष्ट्रियरुपमा चिनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए । उनले खेल क्षेत्रको विकासका लागि नगरका सबै वडाहरुमा बजेट विनियोजन हुनुुपर्नेमा जोड दिए । प्रतियोगितामा नगर भित्रका १६ वटा टिमको सहभागिता रहेको छ । क्लवका अध्यक्ष प्रबिनराज शाक्यको अध्यक्षता, सचिव विनायक महर्जनको सञ्चालनमा कार्यक्रम भएको थियो । क्लवले सोही अवसरमा दोस्रो मेयर कप ब्याडमिन्टन प्रतियोगितामा विजेता प्रतियोगी र प्रशिक्षकहरुलाई सम्मान समेत गरेको छ ।