
पाल्पा, कालीगण्डकी नदीमा दुुई जना मृत भेटिएका छन् । जिल्लाको बगनासकाली गाउँपालिकास्थित कालीगण्डकी नदीमा दुुई जना मृत भेटिएका हुन् ।
मृत भेटिनेमा सिन्धुलीको गोलाचौर गाउँपालिका –६ का २६ वर्षीय भोजराज अस्लामी मगर र दाङको तुलसिपुर उपमहानगरपालिका–३ का ४५ वर्षीय तेजबहादुर रास्कोटी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिए । मृत भेटिएका दुुवै जना कालीगण्डकी करिडोर सडक खण्डमा काम गर्दै आएका मजदुर हुन् । मृतक अस्लामी बगनासकाली गाउँपालिका –६ दर्पुकस्थित कालीगण्डकी करिडोर सडक खण्डको अस्थायी क्याम्पमा बसी सोही सडक खण्डमा डोजर अप्रेटरको काम गर्दै आए थिए । उनी गत फागुन २६ गते बेलुका खाना खाई साथीहरुसँगै क्याम्पमा सुतेकोमा २७ गते बिहान हेर्दा विस्तारामा नभएको र खोजतलास गर्दा ५ दिनपछि शनिबार राती मृत अवस्थामा भेटिएका हुन् । अस्लामीले मोबाईल विस्तारामा नै छोडेर गएको र सिसिटिभी फुटेज हेर्दा राती क्याम्पबाट बाहिर निस्किएको देखिएकाले खोजतलास गर्ने क्रममा माईचौरस्थित कालीगण्डकी नदीमा मृत अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ ।
यस्तै कालीगण्डकी नदीमै मृत फेला परेका रास्कोटी राम्दी–रानीमहल निर्माणाधिन कालीगण्डकी करिडोर सडकमा लेवर काम गर्दै आएका थिए । उनी नदीको किनारमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए । उनलाई खोजतलास गर्ने क्रममा घटनास्थलदेखि दुई सय मिटर तल पानीमा मृत अवस्थामा फेला पारिएको प्रहरी नायव उपरीक्षक मल्लले बताए । प्रारम्भिक अनुसन्धानपछि अस्लामीको शवलाई पोष्टमार्टमको लागि टिचिङ अस्पताल काठमाडौं र रास्कोटीको शवलाई जिल्ला अस्पताल पठाइएको छ ।
दुवै घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।