Shittalpati
‘शैक्षिक सुधार गरी क्याम्पसको साख फर्काउन नेविसंघलाई मतदान’

पाल्पा, त्रिभुवन बहुमुखी क्याम्पस पाल्पामा नेपाल विद्यार्थी संघको तर्फबाट स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा सभापतिमा उम्मेदवारी दिएका कृष्ण अर्यालले शैक्षिक सुधार गरी क्याम्पसको साख फर्काउन विद्यार्थीहरुले नेविसंघलाई मदान गर्ने बताएका छन् । आइतबार पत्रकारहरुसँगको भेटमा उनले शैक्षिक गुणस्तर वृद्धि गरी खस्कदो क्याम्पसको साखलाई फर्काउन नेविसंघको नेतृत्वमा मात्रै सम्भव रहेकाले विद्यार्थीहरुले मतदान गर्ने बताएका हुन् ।

नेता अर्यालले समय सापेक्षा क्याम्पसको शैक्षिक क्षेत्र सुधार नहुँदा विगतमा शैक्षिक धरोहरको रुपमा पहिचान बनाएको त्रिभुवन बहुमुखी क्याम्पसको गरिमा खस्कदै गएको भन्दै त्यसको सुधारका लागि विद्यार्थी मतदाताले नेविसंघ र अखिल छैठौंको संयुक्त प्यानललाई विजयी बनाउने विश्वास व्यक्त गरे । उनले क्याम्पसमा अहिले विज्ञान संकायमा विएसी, व्यवस्थापन संकायमा विविए, विविएम मात्र पढाई हुँदै आएको र एमएसी, एमविए, विए, एलएलवि नहुँदा धेरै विद्यार्थीहरु बाहिर जानुपर्ने बाध्यता रहेकाले त्यसको अत्यन्त गर्न आफुहरुले निर्वाचन जित्नुपर्ने बताए । नेता अर्यालले भने ‘पाल्पामा राम्रो पढ्ने वातावरण छ, तर शैक्षिक क्षेत्र अस्तव्यस्त हुँदा धेरै विद्यार्थीहरु बाहिर जानु परेको छ, त्यसलाई हामीले रोक्नु छ, यहाँ समय सापेक्षा नयाँ–नयाँ र रोजगारीमुलक विषयहरु ल्याएर चहल–पहल पढाई देशकै नमुना क्याम्पसको रुपमा विकास गर्नु पर्दछ, त्यस्तो भिजन नेविसंघसँग मात्र छ ।’  उनले क्याम्पसमा महिला होस्टेल सञ्चालनका लागि पहल गर्ने, साइन्स क्याम्पसमा बोटानिकल गार्डेनको प्रवर्द्धन गर्ने, बताँसेमा रहेको क्याक्पसको खाली जग्गाको सदुपयोग गर्न स्थानीय सरकारसँग समन्वय गरी आन्तरिक स्रोत जुटाई  एक सय जना विद्यार्थीहरुलाई पूर्ण छात्रावृत्तिमा अध्ययनको व्यवस्था मिलाउने जस्ता एजेण्डा नेविसंघले ल्याएको बताए ।

आफू यस अघि स्ववियू सभापति हुँदा धेरै हदसम्म क्याम्पसमा हुने शैक्षिक बेतिथिहरु कम गर्न सफल भएको र विद्यार्थीहरुका हक अधिकार कार्यान्वयनमा अनुभूत हुने गरी काम गरेको उनले बताए । नेता अर्यालले पुनः सभापतिमा निर्वाचित भएमा विगतको अनुभवको प्रयोग गरी थप रचनात्मक काममा  लाग्ने बताए ।

क्याम्पस प्रशासनले थेशिसको बेलामा विद्यार्थीहरुलाई धेरै दुःख दिइरहेको उनले बताए । स्ववियू सभापतिमा निर्वाचित भएको खण्डमा थेशिसमा अहिले रहेको समस्या समाधानको लागि पहल गर्ने उनको भनाई छ । उनले पुस्तकविनाको लाइबे्ररीको र्‍याक, पानीविनाको शौचालय, राजनीति गरिरहेका प्राध्यापक र कर्मचारी आफ्नो क्याम्पसको मूल समस्या रहेको बताए । नेता अर्यालले आफूले देखेका यी समस्या समाधान र क्याम्पसलाई उत्कृष्ट बनाउन पुनःउम्मेदवारी दिएको उल्लेख गरे । रिसर्चको लागि अनुदान र पारिश्रमिकसहितको इन्टर्नसीप र विद्यार्थीमैत्री भौतिक संरचनाको निर्माण नेविसंघका चुनावी एजेण्डा रहेको उनले बताए । ग्लोबलाईजेशनको युगमा, प्रविधिमा र विज्ञानमा देशका धेरै क्याम्पसहरुले जुन फड्को मारेका छन् त्यति हाम्रो क्याम्पसले गर्नसकेको छैन । त्यसकारण यसमा थप योगदान दिनुपर्ने अवस्था आएको उनको भनाई छ । ‘क्याम्पसको भौतिक अवस्था, गुणात्मक अवस्था, यो भित्रका प्राध्यापक र कर्मचारीहरुको नियुक्तिको उचित मापदण्डदेखि लिएर क्याम्पसलाई राजनीतिकरणबाट मुक्त गर्नुपर्छ भन्ने नेविसंघको स्पष्ट धारणा छ ’ नेता अर्यालले भने ‘हामीले अहिले भन्नैपर्दा क्याम्पसको अवस्थालाई हामीले प्रतिस्पर्धी बनाउने, रिसर्च बेसमा बनाउने, विश्व बजारमा प्रतिस्पर्धा गर्ने शिक्षा, ई–लर्निङ, डिजिटल एजुकेशन सबै क्षेत्रमा पहुँच बढाउनका लागि क्याम्पसलाई त्योखालको गरिमामा उठाउन चाहान्छौं ।’

श्रममा विश्वास गर्न सक्ने गुणस्तरीय शिक्षा, प्रविधियुक्त शिक्षा, व्यवहारिक शिक्षामा नेविसंघले जोड दिएको पनि उनले बताए । अर्यालले भने ‘श्रममा विश्वास गर्ने वैज्ञानिक शिक्षालाई बढावा दिनु जरुरी छ । एमएस्सी, बिई पास गरेर कृषिकर्म गर्नै हुन्न भन्ने जुन किसिमको कन्सेप्ट छ, यसलाई अन्त्य गरेर जीवनलाई व्यवहारिकतिर लैजानुपर्छ र समाजलाई मैले योगदान दिनुपर्छ भन्ने शिक्षाको विकास हुन जरुरी छ । समयमै भर्ना, समयमै परीक्षा र समयमै नतिजा प्रकाशन हुन सकेको छैन । त्रिविको क्यालेण्डर कार्यान्वयनमा पनि जोड दिनुपर्ने छ ।’

प्रकाशित मिति: आइतबार, चैत ३, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update