Shittalpati
सामाजिक सेवामा सकारात्मक सोँच आवश्यक

सामाजिक विज्ञानको मागमा रहेर विभिन्न मानव जीवन र उनीहरुको व्यवहार तथा सामाजिक समूहको अध्ययन र सोही अनुसार सहयोग र सहकार्य गर्नुलार्ई सामाजिक सेवा भनिन्छ । सामाजिक कार्यकर्ताहरूले हाम्रो समुदायमा धेरै भूमिकाहरू खेलेका हुन्छन् । समाज रुपान्तरणका लागि उनीहरुले खेलेको भूमिका विर्सनु हुँदैन । यद्यपी अझै पनि सामाजिक कार्यलाई अन्य विषयजस्तै स्वीकार्न नसकिएको अवस्था भने विद्यमान छ । यसो हुनु राम्रो होइन । सामाजिक कार्यकर्ताको भूमिकाको मूल्यांकन गर्न हरेक वर्ष सामाजिक सेवा दिवस मनाउने गरिन्छ । समाजकल्याण परिषद्को स्थापना भएको दिनको अवसर पारेर हरेक वर्ष यो दिवस मनाइँदै आइएको छ । यो दिनले सामाज सेवकहरुको कडा परिश्रम र लगनशीलतालाई मान्यता दिन्छ ।

समाज सेवा देश विकासका लागि एउटा मेरुदण्ड र विशुद्ध सेवामूलक काम हो । तर पछिल्लो समय समाज सेवाको नाममा कही कतै ब्रम्हलूट पनि भएको छ । समाजसेवीको नामबाट गलत क्रियाकलाप पनि नभएका हैनन् तर त्यो समाज सेवाको रथ हाक्ने जिम्मा मानिसले लिएका हुन्छन् । समाजसेवा पवित्र कार्य हो भने समाजसेवीको चरित्र तथा दरिद्र मानसिकताबाट समाज सेवामा कालो धब्बा लाग्दछ । जसले गर्दा समाजसेवा गर्ने संस्थाहरु नै बदनाम बन्न पुगेका छन् ।

यसो हुनु गलत हो । समाजमा निस्वार्थ रुपमा समाज सेवामा लागेका व्यक्तिहरु थुप्रै छन् तर केही बदनीयत भएका व्यक्तिहरुका कारण उनीहरु ओझेलमा पर्नु राम्रो होइन् । निस्वार्थ रुपमा सामाजिक सेवामा समर्पित हुने व्यक्तिहरुको मनोवलाई उच्च बनाइनुपर्छ । सकारात्मक सोँचका साथ गरिने समाज सेवाले सेवा गर्ने र लिने दुबैलाई सन्तुष्ट प्रदान गर्दछ । एक अर्कालाई सहयोग गर्न सक्नेले नसक्नेलाई सहयोग गर्नु, दुःख र अफठ्यारोमा परेका व्यक्तिलाई सहयोग र राहत प्रदान गर्नु मानवीय तथा परापूर्वकालदेखि नै चल्दै आएको चलन नै हो । तर,समयको गति र विकाससँगै पछिल्लो समयमा सेवाहरु देखावटी र प्रचारमुखी भएका छन् । यसले समाज राष्ट्रलाई हित गर्दैन । तसर्थ सकारात्मक सोँचका साथ सामाजिक सेवामा लाग्नु अहिलेको आवश्यकता हो ।

प्रकाशित मिति: मंगलबार, चैत ५, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update