
पाल्पा, जिल्लाको बगनासकाली गाउँपालिकाका ग्रामीण क्षेत्रमा सञ्चालन भएको निःशुल्क आँखा शिविरमा ४४ सयभन्दा बढी सर्वसाधारणले सेवा लिएका छन् । गाउँपालिका भित्रका १० वटा विद्यालय केन्द्रमा चलेको आँखा शिविरमा ४ हजार ४ सय ३ जना सर्वसाधारण लाभान्वित भएका हुन् ।
गाउँपालिकाले पाल्पा लाकौल आँखा अस्पतालको प्राविधिक सहयोगमा यहाँका नागरिकहरुको निःशुल्क आँखा परीक्षण गरिदिएको हो । शिविरमा विद्यार्थी, जेष्ठ नागरिक र अन्य उमेर समूहका नागरिकले सेवा लिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मणीराम अधिकारीले बताए । उनका अनुसार सेवा लिनेमा एक हजार भन्दा बढी जेष्ठ नागरिक रहेका छन् । जसमा ७३ जनालाई मोतिबिन्दुको तत्कालै अप्रेसन गर्नु पर्ने भएको छ ।
उनीहरु मध्ये १९ जनाको सोमबार अप्रेसन भएको र बाँकीको चैत्र २० गते गरिने प्रमुख अधिकारीले एनजेडीलाई जानकारी दिए । शल्यक्रिया पाल्पामै आँखा अस्पतालका चिकित्सकले गरेका छन् । शिविरमा २ हजार २ सय ७८ जना विद्यार्थीले सेवा लिएका छन् । जस मध्ये ८१ जनालाई आँखाको दृष्टिदोषका कारण पावर चस्मा सिफारिस गरिएको स्वास्थ्य शाखा प्रमुख अधिकारीले बताए । शिविरमा अन्य ३ सय ९१ जनालाई पनि आँखाको पावर अनुसार निःशुल्क चस्मा वितरण गरिएको छ । बिरामीहरूलाई औषधिसमेत निःशुल्क वितरण गरिएको थियो । चालु आर्थिक वर्षको बजेटमा रकम विनियोजन गरेर पालिका भित्रका नागरिकको आँखाको उपचार निःशुल्क गर्ने व्यवस्था मिलाइएको स्वास्थ्य शाखा प्रमुख अधिकारीले बताए ।
आँखाको निःशुल्क अप्रेसन गर्न पाएपछि जेष्ठ नागरिक उत्साहित भएका छन् । तासेनस्थित पाल्पा लाकौल आँखा अस्पतालको उपचार केन्द्रमा सोमबार आँखा शल्यक्रिया गरेपछि गुमेको दृष्टिको ज्योती जस्ताको त्यस्तै फिर्ता पाएकोमा चिर्तु·धाराकी लक्ष्मी ढुंगाना खुसीले दंग देखिएकी थिइन् । उमेरले ८२ वर्ष पुगेकी उनले आँखाले बाटो राम्रो ठम्याउन नसक्दा कयौँ पटक भीर–पाखाबाट लडेको, काम बिग्रीएको सुनाइन । अहिले गाउँपालिकाले निःशुल्क अप्रेस गरिदिएपछि मनमा खुसी छाएको उनको भनाई छ । चिर्तु·धाराकै अमर विक पनि मोतियाविन्दुको शल्यक्रिया गराएपछि उत्साहित भए । उनले आर्थिक अभावमा आँखा उपचार गर्न नपाएको बेला गाउँपालिकाले निःशुल्क रुपमा अप्रेसन सम्मको व्यवस्था मिलाएकोमा खुसी लागेको बताए । पोखराथोककी मैया कुमाल पनि शल्यक्रियापछि खुसी छन् । ‘हेर्न आँखामात्रै भएर काम रहेनछ, देख्ने ज्योति नभएपछि, गाह्रो हुँदो रहेछ’ कुमालले भनिन् ।