Shittalpati
आँखाको ज्योति फर्किंदा पाल्पाका ज्येष्ठ नागरिक उत्साहित

तानसेन (पाल्पा), आँखामा मोतियाबिन्दुले ढपक्कै ढाकेपछि नातिनातिनाको सहयोगमा भित्रबाहिर गर्दै आएकी पाल्पाको बगनासकाली गाउँपालिका चिर्तुङ्गधाराकी लक्ष्मी ढुङ्गानाको शल्यक्रियापश्चात् ज्योति फर्किएपछि खुसी भएकी छिन् ।     
     
 गाउँमा सञ्चालित शिविरमार्फत आँखा परीक्षण गरी तासेनस्थित पाल्पा लाकौल आँखा अस्पतालको उपचार केन्द्रमा एउटा आँखाको शल्यक्रिया गरेपछि ८२ वर्षीया ढुङ्गानाको आँखाको ज्योति फर्किएको हो । आँखाको ज्योति फर्किएपछि आफूले पुनजन्म पाएसरह भएको भन्दै उनीले खुसी व्यक्त गरिन् । उनीले यसअघि आँखाले बाटो राम्रोसँग ठम्याउन नसक्दा कैयौँ पटक भिरपाखाबाट लडेको र काम बिग्रिएको सुनाईन । अहिले गाउँपालिकाले निःशुल्क शल्यक्रिया गरिदिएपछि मनमा खुसी छाएको उनको भनाइ छ ।     
     
उनि जस्तै चिर्तुङ्गधाराका अमर विक पनि मोतियाबिन्दुको शल्यक्रियापछि उत्साहित छन् । उनीले आर्थिक अभावमा आँखा उपचार गर्न नपाएको बेला गाउँपालिकाले निःशुल्क उपचार र शल्यक्रियाको व्यवस्था मिलाएकामा खुसी लागेको बताए । विकको आँखा मोतियाबिन्दुले ढाकेपछि लामो समयदेखि अन्धकारमय जीवन बिताइरहेको थिए । आज बाँया आँखाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको भन्दै उनीले भने, “फेरि आँखाले पहिले जस्तै देखियो, अब सजिलै हुन्छ होला ।”     
     
पोखराथोककी मैया कुमाल पनि आँखाको शल्यक्रियापछि खुसी हुनुहुन्छ । “हेर्न आँखामात्रै भएर काम रहेनछ, देख्ने ज्योति नभएपछि, गाह्रो हुँदो रहेछ”, उनले भनिन्, “अहिले शल्यक्रिया गरेपछि संसार देखेजस्तो भयो ।” उजिहरू जस्तै यहाँका १९ जना ज्येष्ठ नागरिकको आज आँखाको ज्योति फर्किएको छ । बगनासकाली गाउँपालिकाले सञ्चालन गरेको निःशुल्क आँखा शिविरबाट चार हजार चार सयभन्दा बढी सर्वसाधारणले सेवा लिएका छन् । गाउँपालिकाभित्रका १० वटा विद्यालय केन्द्रमा सञ्चालित शिविरमा चार हजार चार सय तीन जना लाभान्वित भएकामध्ये एक हजारभन्दा बढी ज्येष्ठ नागरिक छन् ।     
     
सेवा लिएकामध्ये ७३ जनालाई मोतियाबिन्दुको तत्कालै शल्यक्रिया गर्नुपर्ने भएपछि आज १९ जनाको शल्यक्रिया गरिएको पालिकाका स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारीले जानकारी दिए । उनीका अनुसार बाँकीको यही चैत २० गते शल्यक्रिया गरिने छ । शल्यक्रिया यहाँ आँखा अस्पतालका चिकित्सकले गरेका छन् । “गाउँपालिकाले पाल्पा लाकौल आँखा अस्पतालको प्राविधिक सहयोगमा यहाँका नागरिकको निःशुल्क आँखाको परीक्षण गरेको हो । शिविरमा विद्यार्थी, ज्येष्ठ नागरिक र अन्य उमेर समूहका नागरिकले सेवा लिएका छन् । सेवा लिएकामध्ये ८१ जनालाई आँखाको दृष्टिदोषका कारण पावर चस्मा सिफारिस गरिएको छ”, प्रमुख अधिकारीले भने ।     
     
शिविरमा अन्य तीन सय ९१ जनालाई पनि आँखाको पावरअनुसार निःशुल्क चस्मा र औषधिसमेत निःशुल्क वितरण गरिएको थियो । चालु आर्थिक वर्षको बजेटमा रकम विनियोजन गरेर पालिकाभित्रका नागरिकको आँखाको उपचार निःशुल्क गर्ने व्यवस्था मिलाइएको स्वास्थ्य प्रमुख अधिकारीले बताए ।

प्रकाशित मिति: मंगलबार, चैत ५, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update