
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आजदेखि देशव्यापी रूपमा सञ्चालन हुँदैछ । परीक्षा नियन्त्रण कार्यालयको तथ्यांक अनुसार यसपटक पाँच लाख १४ हजार ७१ जना विद्यार्थी परीक्षामा सहभागी हुँदैछन् । उक्त परीक्षा चैत १९ गतेसम्म सञ्चालन हुनेछ । एसईई विद्यार्थीहरुको सुरक्षित भविष्यको ढोका पनि हो । त्यसैले उनीहरु सुरक्षित भविष्य खोज्दै एसइईको महासंग्राममा जुट्दैछन् ।
फलामे ढोकाका रुपमा समेत लिइएको एसइई परीक्षा भविष्यका कर्णधारका रुपमा रहेका लाखौँ विद्यार्थीहरुले गरेको लगानीको परिणाम देखाउने महापरीक्षा पनि हो ।
परीक्षाको सफलतासँगै त्यसले भविष्य निर्धारण गर्ने भएकाले एसइई जस्तो परीक्षालाई जो कोहीले पनि सामन्य रुपमा लिन सक्दैन । विगतमा एसइई परीक्षामा हुने अमर्यादित क्रियाकलापहरु पछिल्लो समय कम हुँदै गएका छन् । तर अझै पूर्ण रुपमा नियन्त्रण भने हुन सकेको छैन । विद्यार्थीहरुलाई परीक्षामा निर्धक्क साथ लेख्ने वातावरण सबै पक्षबाट सिर्जना गरिदिनुपर्छ । विद्यार्थीहरुको भविष्यसँग जोडिएको विषयमा खेलवाड गर्ने अधिकार कसैलाई हुँदैन । परीक्षा बोर्डले परीक्षालाई शान्त, अनुसाशित, मर्यादित बनाउने भनेको छ । यद्यपि परीक्षा नसकिन्जेलसम्म व्यवस्थित रुपमा सञ्चालन हुन सक्छ कि सक्दैन ? भन्ने प्रश्न भने यथावत् नै रहन्छ । परीक्षामा बाह्य हस्तक्षेप हुनु, परीक्षा हलमा अनुशासनहीनताले बढवा पाउनुजस्ता सम्भावनालाई नकार्न सकिँदैन । तर यस्ता गतिविधि रोक्नका लागि परीक्षाको समयमा राम्रोसँग अनुगमन गरिनुपर्छ । यसो भयो भने विद्यार्थीले ढुक्क र निर्धक्कसाथ परीक्षा दिन सक्ने छन् । परीक्षा केन्द्रको आन्तरिक वातावरण तथा परीक्षा केन्द्रभन्दा बाहिरको आसपासको बाह्य वातावरणले परीक्षालाई शान्तिपूर्ण, मर्यादित तथा अनुशासित बनाउने दिशामा महत्व राख्छ । जिम्मेवारी तथा दायित्व निर्वाह गर्ने दिशामा कुनै किसिमको मुलाहिजा तथा कन्जुस्याइँ गर्नु हुँदैन । तसर्थ परीक्षालाई व्यवस्थित, मर्यादित बनाउने विषयमा सरोकारवाला निकायले ध्यान दिन जरुरी छ ।