
पाल्पा, ग्लोबल आइएमई बैंक लिमिटेड र लुम्बिनी मेडिकल कलेज एण्ड शिक्षण अस्पतालबीच विभिन्न स्वास्थ्य सेवामा २५ प्रतिशतसम्म छुट प्रदान गर्ने सहमती भएको छ । अस्पतालले बैंकका ग्राहकहरुलाई अस्पतालको सामान्य बेड, प्रयोगशाला परीक्षण, एक्स–रे, अल्ट्रासोनोग्राफी, ओ.पी.डी. र अपरेशन लगायतका सेवाहरुमा २५ प्रतिशतसम्मको छुट दिने गरी सम्झौता भएको हो ।
बैंकका लुम्बिनी प्रदेश प्रमुख शान्ता शिवाकोटी र अस्पतालका अध्यक्ष गोपालबहादुर पोखरेलले उक्त समझदारीमा पत्रमा हस्ताक्षर गरेका छन् । सहमति अनुसार अस्पतालले बैंकका डेबिट÷क्रेडिट कार्ड एव्म बैंकको मोबाइल एप (ग्लोबल स्मार्ट प्लस) प्रयोगकर्ताहरुलाई अस्पतालको सेवा तथा औषधी उपचारमा लाग्ने शुल्कमा २५ प्रतिशतसम्म छुट प्रदान गर्नेछ । यस साझेदारी पश्चात् ग्लोबल आइएमई बैंकका ग्राहकहरुले गुणस्तरीय स्वास्थ्य सेवा सुविधाहरु उचित दरमा प्राप्त गर्ने र अस्पतालले स्वास्थ्य सेवा तथा सुविधाहरु विस्तार गर्न यस सहकार्यले सहयोग पुग्ने अध्यक्ष पोखरेलले बताए । पोखरेलले यो पहलले पहुँचयोग्य स्वास्थ्य सेवा प्रदान गर्ने अस्पतालको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्ने कुरा समेत स्पष्ट पारे । यसैगरी, ग्लोबल आइएमई बैंकका लुम्बिनी प्रदेश प्र्रमुख शान्ता शिवाकोटीले लुम्बिनी मेडिकल कलेज एण्ड शिक्षण अस्पतालसँगको साझेदारीले बैंकका ग्राहकहरुलाई लाभान्वित गर्ने र बैंकको कार्ड तथा मोबाईल बैंकिङ सेवाको प्रयोगकर्ता वृद्वि हुने विश्वास व्यक्त गरिन् ।