तानसेन, पाल्पामा पर्यटकीयस्थलको निर्माण तथा पुनःनिर्माणको कामको थालनीले स्थानीय युवालाई रोजगार मिलेको छ । स्थानीय तहले विकास निर्माणका कामलाई जोड दिँदै आ–आफ्ना तवरले प्रधानमन्त्री युवा स्वरोजगार कार्यक्रमलाई अगाडि बढाइरहँदा निस्दी गाउँपालिका, रामपुर र तानसेन नगरपालिका लगायतले भने कोरोना संकटमा गरिएको बन्दबन्दीमा पनि पर्यटन पूर्वाधार विकासलाई जोड दिएका छन् । अन्य क्षेत्रका युवालाई कच्ची मोटरबाटो निर्माण तथा सरसफाइ एवं जङ्गलमा झाडी फँडानी, खेलमैदान र नालीनिर्माणलगायत काममा परिचालन गरिए पनि महत्वपूर्ण पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नका निम्ति युवालाई निस्दीको लेकडाँडामा पोखरी निर्माणमा खटाइएको गाउँपालिकाले जनाएको छ ।
निस्दीका प्रवक्ता तथा वडा नम्बर ६ का वडाध्यक्ष मेखबहादुर सुनारीका अनुसार गत वर्ष औषधिजन्य बिरुवा रोपिएका क्षेत्रमा यस वर्ष पनि बिरुवा रोपिने छ । त्यस्तै लेकडाँडामा दुई पोखरी र तथा गोलघर निर्माण गर्न लागिएको छ । १० लाखको लागतमा लेकडाँडामा तीन गोलघर निर्माण गरिँदैछ । पर्यटन विकासमा टेवा पुग्ने गरी करीब रु साढे दुई लाखको लागतमा दुई लेकडाँडा पोखरी निर्माणको काम थालिएको रोजगार उपभोक्ता समितिका थमबहादुर खन्गाहाको भनाइ छ । त्यस्तै सिलुवा– मित्याल– अर्चले मोटरबाटोको खाल्डाखुल्डी पुर्ने तथा नाली खन्ने कार्य पनि अगाडि बढाइनेछ । पोखरी निर्माणको कामका लागि ३६ युवा परिचालन गरिएको छ ।
खाली जग्गामा गत वर्ष जिल्ला वन कार्यालय पाल्पाबाट करीब चार लाखको टिमुरको बिरुवा तथा पूर्वाधार विकास कोषअन्तर्गत सांसद दलबहादुर रानाबाट सांसद विकास कोषको रु १० लाख लागतमा ३२ हजार तेजपात, ६ हजार टिमुर तथा ७५ हजार अम्रिसो र १५ हजार दालचिनीको बिरुवा रोपिएको थियो । निस्दीका सातदोबाटो, अधमरा, धोवला, नारीभन्ज्याङलगायत क्षेत्रका १६९ घरपरिवारका नागरिकले बिरुवा रोपेका हुन् । गौचरनका रुपमा रहेको जंगललाई कबुलियती वनका रुपमा विकास गर्ने उद्देश्य छ । खाली रहेका जग्गामा विरुवा रोपण गरेपछि पहिरो जानबाट रोकिने, आम्दानी लिन सकिने र लेकभेगको सुन्दरता हेर्न सकिने भएकाले विभिन्न ठाउँबाट आउने पर्यटकलाई यस क्षेत्रसम्म ल्याइने योजना छ । एक सय ६० हेक्टर क्षेत्रफलमा वृक्षरोपण गर्ने योजना अनुसार पोहोर साल ७५ हेक्टर क्षेत्रफलमा बिरुवा रोपिएको लेकडाँडा कृषि पशु वन व्यवसायी उत्पादन समितिका अध्यक्ष कृष्ण सुनारीले जानकारी दिए ।
वन क्षेत्रमा रोपिएका विरुवाको उत्पादनले धेरै आम्दानी हुने र स्थानीयस्तरमा आर्थिक विकासको बाटो सिर्जना गर्न सकिने सुनारी बताउँछन् । निस्दी –७ ज्यामिरे पोखरीछापलाई दालचिनीको पकेट क्षेत्रका रुपमा विकास गरिने लक्ष्य छ । निस्दी –३ झिरुवासको काउलेडाँडामा इलामको चियाबारीको झल्को दिने गरी अम्रिसो खेतीको विकास गरिएको छ । निस्दीमा स्थानीय उत्पादन, संस्कृति, लोपोन्मुख कुडुलेघर, ज्यामिरेको केराखेती, लोभलाग्दो अम्रिसो खेती, तराईका भूभाग र नेपाल भारत सीमाक्षेत्र अवलोकन गर्न सकिने छ । लेकडाँडाको पूर्वाधार निर्माणसँगै थुप्रै आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्य गाउँपालिकाको छ । लेकडाँडा सदरमुकाम तानसेनबाट करीब ७० किलोमिटर पूर्व पर्छ । नेपालका एक सय पर्यटकीय गन्तव्यस्थलमध्ये सूचीकृत रामपुर तालपोखरामा पनि बन्दाबन्दीकै समयमा पुनःनिर्माणको काम भएको छ ।
अठार युवा परिचालन गरेर करीब २० लाख बराबरको काम भइरहेको तालपोखरा संरक्षण समितिका अध्यक्ष सागरप्रसाद देवकोटा बताउन्छन् । तालको वरपर करीब पाँचसय मिटर लम्बाइमा टायल टाँस्ने, उद्यान वरपर फुटपाथ, चौतारी तथा फूलबारी निर्माणको काम भइरहेको समितिले जनाएको छ । निर्माणको काम करिब ९० प्रतिशत भइसकेको छ । प्रधानमन्त्री युवा स्वरोजगार कार्यक्रमअन्तर्गत रामपुरका १० युवाले लक्ष्मीनारायण मन्दिर परिसरमा सरसफाइ तथा करीब १५० बोट फलफूल र १०८ पीपलको बिरुवा गोडमेल, शालिग्राम स्तम्भ नजिक इँटा बिच्छ्याउने काम गरिरहेको लक्ष्मीनारायण मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बुद्धिप्रकाश रेग्मी जानकारी दिए । बन्दाबन्दीले न काम न दाम भएर बसेका युवा यसरी सामाजिक दूरी कायम गरेर रोजगारी मिलेपछि खुशी छन् ।
पहिलो चरणमा स्थानीय तहबाट राहत पाएका युवा राहतले मात्रै सधैंँभरिको समस्या नटर्ने बताउँदै काम पाउँदा हर्षित बनेको अध्यक्ष देवकोटा बताउन्छन् । तानसेन बजारको सुन्दरता कायम राख्न पुरानै शैलीका सडकमा ढुङ्गा छाप्न, रामपुरको राम्चेवन पर्यटकीयस्थल निर्माण गर्न तथा श्रीनगरमा सांस्कृतिक डबली निर्माण गर्न युवालाई खटाइएको छ । तानसेन नगरपालिकाले युवालाई नाली सरसफाइमा परिचालन गरेको छ । सडक छेउछाउका नाली सफा नगर्ने हो भने सडकको समस्या थपिने हुँदा यसमा तिनलाई परिचालन गरिएको नगर उपप्रमुख लक्ष्मीदेवी पाठकले जानकारी दिईन ।
तिनाउ गाउँपालिकामा पर्यटन विकासकै लागि रु ५० लाख बराबरको काम भइरहेका छन् । तिनाउ –२ मा आकाशेपुल, ट्रस र रेलिङसहितको बाटो, दृश्यावलोकन भवन, अविरल उद्यान निर्माण तथा जन्तीलुङ घरबास निर्माण भइरहेको छ । उद्यानका निम्ति २२ तन्नेरीले निरन्तर काम गरिरहेको गाउँपालिकाका प्रवक्ता राजेश श्रेष्ठ बतान्छन् । महत्वपूर्ण धार्मिकस्थल तिनाउको सत्यवतीताल क्षेत्रमा शौचालय निर्माण र सुकेतालको स्तरोन्नतिका कामसमेत गर्ने योजना रहेको गाउँपालिकाले जनाएको छ । सिद्धार्थ राजमार्गसँग जोडिएको तिनाउ महत्वपूर्ण पालिका पनि भएकाले प्रदेश नम्बर ५ सरकारसँग समन्वय गरेर कृषि तथा पर्यटकीय क्षेत्रको विकास गरी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्य रहेको गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तीले बताए । पाल्पाका तानसेन र रामपुर नगरपालिका तथा निस्दी, पूर्वखोला, तिनाउ, रैनादेवी छहरा र रिब्दीकोट गाउँपालिकामा प्रधानमन्त्री युवा स्वरोजगार कार्यक्रम लागू भइसकेको छ भने बगनासकाली र माथागढी गाउँपालिकामा शुरु हुन बाँकी छ । रासस