Shittalpati
पानी दिवसको सन्दर्भ

पानीको उपयोग तथा त्यसका स्रोतको संरक्षणमा चेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ आज विश्व पानी दिवस मनाइँदै छ । विभिन्न सङ्कल्प तथा जनचेतनामूलक कार्यक्रम गरी नेपालसहित विश्वभरि नै यो दिवस मनाइँदै छ । प्राणी जगतका लागि हावापछिको दोस्रो महत्वपूर्ण तत्व पानीलाई मानिन्छ । पानीको महत्व र संरक्षणबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९९३ देखि संसारभरि हरेक वर्ष मार्च २२ का दिन विश्व पानी दिवसका रूपमा मनाउँदै आएको छ । सन् १९९२ मा ब्राजिलको रियो डी जेनेरियोमा भएको संयुक्त पर्यावरण र विकासको संयुक्त राष्ट्रसंघको भेलाले यस दिवसको घोषणा गरेको हो ।

जलाधार क्षेत्रको संरक्षण, स्वच्छ पिउने पानीको अभावमा मानव शरीरमा लाग्ने रोगलगायत पानीको महत्वकाबारे सर्वसाधारणमा चेतना जगाउन यो दिवस महत्वपूर्ण मानिन्छ । नेपालमा हरेक वर्ष तामझामपूर्वक यो दिवस मनाएर एकदिन भएपनि पानीको महत्व सम्झाउने गरिन्छ । तर पानीको समस्या अहिले विश्वव्यापी चिन्ता र चासोको विषय बन्न पुगेको छ । जनसंख्याको तीव्र वृद्धिसँगै पानीका स्रोतहरु विनाश हुँदै गएका छन् । जसका कारण मानव जीवन थप समस्यामा मात्र परेको छैन प्रकृति समेत संकटमा परेको अवस्था छ । पानी नभएको स्थानमा जीवन सम्भव छैन् । यसैले पानी नै जीवन हो भन्ने गरिन्छ । जीव र वनस्पतिका लागि जन्ममात्र पर्याप्त हुँदैन बाँच्नका लागि स्वच्छ पानी आवश्यक पर्छ । पिउने पानी स्वच्छ र सुरक्षित भयो भने ८० प्रतिशत रोग नै लाग्दैनन् । पृथ्वीको दुईतिहाइ भाग पानीले ढाकेको छ । तर सबै पानी पिउन योग्य छैन ।

मानव शरीरको अधिकांश हिस्सा पानीले नै भरिएको हुन्छ । यसै कारण पानीको महत्वलाई कसैले पनि नकार्न सकिदैन । तर विश्वभर पानीको स्रोतको उचित संरक्षण हुन नसक्दा खानेपानीको हाहाकार भइरहेको छ । एकातिर जलवायु परिवर्तन तथा औद्योगिक प्रदूषणका कारण विश्वव्यापी रुपमा पानीका मुहान सुक्दै गएका छन् भने अर्कातिर नदी, खोलाजस्ता पानीको स्रोतको उचित संरक्षण नगरिँदा मानवीय जीवन कष्टकर बन्दै गएको छ । यो अत्यन्त दुखको कुरा हो । पानीको महत्व बुझाउन एकदिन दिवस मनाएरमात्रै पुग्दैन । पानीको समस्या दिनानुदिन जटिल बन्दै गएको अवस्थामा सरकारी तवरबाटै पानीलाई सर्वसुलभ, गुणस्तरीय र सबैको पहुँचमा पु¥याउन सके मात्र हरेक वर्ष दिवस मनाउनुले अर्थ राख्दछ ।

प्रकाशित मिति: शनिबार, चैत ९, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update