Shittalpati
विश्व पानी दिवस नेपालमा पनि मनाइँदै

पाल्पा, प्रत्येक वर्ष मार्च २२ तारिखका दिन विश्वभर मनाइने विश्व पानी दिवस शनिबार नेपालमा पनि विभिन्न जनचेतनाका कार्यक्रम गरी मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घको आयोजनामा सन् १९९२ मा ब्राजिलको रियो द जेनेरियोमा भएको पर्यावरण र विकाससम्बन्धी महासभाले विश्व पानी दिवसको घोषणा गरेको हो । सन् १९९२ मा एजेण्डा २१ मा समाहित गरिएको पानी दिवसको रुपरेखालाई आत्मसाथ गर्दै सन् १९९३ देखि मार्च २२ तारिखका दिन विश्वभर यो दिवस मनाउन थालिएको थियो ।

जलाधार क्षेत्रको संरक्षण, स्वच्छ पिउने पानीको अभावमा मानव शरीरमा लाग्ने रोगलगायत पानीको महत्वबारे सर्वसाधारणमा चेतना जगाउन सरकारी तथा विभिन्न गैरसरकारी संघ संस्थाले विविध कार्यक्रम गरी यो दिवस मनाउँदै छन् । पानी पृथ्वीको सर्वश्रेष्ठ प्राणी मानिसका लागि मात्र नभई सबै जीव र वनस्पतिको जीवनको आधार हो । चेतनशील प्राणीका रुपमा मानवको जीवनका क्रियाकलाप पनि पानीमा निर्भर रहन्छन् । हाम्रा घरायसी क्रियाकलाप, खेतीपाती र पशुपालन जस्ता कृषि प्रणाली, स्वास्थ्य र आर्थिक क्रियाकलापदेखि धार्मिक एवं सांस्कृतिक संस्कारमा गर्भावस्थादेखि मरणोपरान्तसम्म पानीको आवश्यकता पर्दछ । पानी नभएको स्थानमा जीवन सम्भव छैन । यसैले पानी नै जीवन हो भन्ने गरिन्छ । जीव र वनस्पतिका लागि जन्ममात्र पर्याप्त हुँदैन बाँच्नका लागि स्वच्छ पानी आवश्यक पर्छ । पिउने पानी स्वच्छ र सुरक्षित भयो भने ८० प्रतिशत रोग नै लाग्दैनन् भनिन्छ ।

पृथ्वीको दुईतिहाइ भाग पानीले ढाकेको छ । तर सबै पानी पिउन योग्य छैन । समुद्र र महासागरको पानी नुनिलो छ । जसले पृथ्वीको ९७.५ प्रतिशत भाग ओगटेको छ । २.५ प्रतिशत पानीमात्र ताजा, स्वच्छ र पिउनका लागि योग्य छ । यसमध्येको ठूलो अंश अर्थात् १.७२ प्रतिशत पृथ्वीको उत्तरी र दक्षिणी ध्रुवमा हिउँको रूपमा रहेको छ । ०.७४ प्रतिशत भूमिगत स्रोतका रूपमा जमिनमुनि रहेको छ । जमिनको सतहमा रहेको ०.०४ प्रतिशत पानीमात्र मानवका लागि पिउन योग्य छ । नेपाल विश्वमै जलस्रोतमा दोस्रो ठूलो देश भनिए पनि धेरै सहर, बजार र गाउँमा खानेपानीको समस्या छ । संविधानको मौलिक हकका रूपमा स्वच्छ खानेपानीको हक लेखिए पनि कार्यान्वयन हुन नसकेको गुनासो छ । यस्तै विषयमा जनचेतना जगाउँदै पानी दिवस मनाउने गरिएको छ । 

प्रकाशित मिति: शनिबार, चैत ९, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update