
पाल्पा, पाल्पाका वन उपभोक्ताहरुले बाँदरबाट बाली जोगाउन र मानविय सुरक्षाका लागि भरुवा बन्दुक राख्न दिनुपर्ने बताएका छन् । शुक्रबार डिभिजन वन कार्यलय पाल्पाले आयोजना गरेको निजी वन सम्बन्धी संघ संस्थाहरुको क्षमता अभिवृद्धि गोष्ठीमा सहभागीहरु उपभोक्ताहरुले बाँदरबाट बाली जोगाउनै मुस्किल हुनुको साथै मानिसमाथि नै आक्रमण गर्न थालेकाले सुरक्षाका लागि समेत भरुवा बन्दुक राख्न पाउनुपर्ने बताएका हुन् ।
सहभागीहरुले बाँदरका कारण गाउँ नै खाली हुँदै गएकाले त्यसतर्फ सरकारले ध्यान दिनुपर्नेमा जोड दिए । उनीहरुले गाउँ नै मिलेर बाँदर धपाउन विभिन्न उपायहरु खोजे पनि त्यो सम्भव नरहेकाले विकल्पका रुपमा भरुवा बन्दुक राख्न पाउने अनुमति सरकारले दिनुपर्ने बताए । उनीहरुले अधिकांस जग्गाहरु बाँझो हुँदै जाँदा बाँदरको आहारमा समेत कमी हुँदै गएकाले घर–घर पस्न थालेर अन्नबाली खाइदिने र महिलाहरु र केटाकेहीहरुलाई आक्रमण गर्ने गरेको गुनासो गरे । सहभागीहरुले बाँदर मांसहारी भए पनि अहिले आहार नहुँदा घरपालुवा कुखुरा, परेवाहरु समेत खाइदिन थालेको भन्दै आक्रमक बनेको बाँदर नियन्त्रणका लागि सरकारले कडा कानुन बनाउनुको साथै भरुवा बन्दुक राख्न पाउने व्यवस्था गर्नु पर्नेमा जोड दिए ।
कार्यक्रममा बगनासकाली गाउँपालिका खानेगाउँका भूपति भट्टराईले हिउँद र वर्षाका बेला पाक्न लागेको बाली जोगाउन बारीमै पहरा दिए पनि जोगाउन मुस्किल परेको बताए । अन्न खान आएको बाँदरलाई धपाउँदा उल्टै मान्छेतिर जाइलाग्ने र आक्रमण गर्ने गरेको उनले सुनाए । भट्टराईले भने ‘बाँदरले बाली मात्र नभएर मानिसलाई समेत आक्रमण गर्न थाल्यो, अब बाँदर नियन्त्रण गर्न सकिएन भने गाउँ सबै खाली हुने अवस्था आयो । सरकारले अब भरुवा बन्दुक राख्न नदिने हो भने अवस्था थप जटिल हुँदै जाने निश्चित छ ।’ उनले अब बाली जोगाउने कि मान्छे ? भन्ने अवस्थामा पुगेको बताए । सरस्वती बस्यालले गाउँमा पाकेका मकैका घोगा देख्न छाडिसके, फलफूल तरकारी जे लगाए पनि बाँदर र बदेलले खाएर हैरान गराउने गरेको बताईन् । ‘काखका साना छोराछोरीलाई घरमा छोडेर काममा जान डर हुन थाल्यो ।
बाँदर घरमै आएर अँगेना र चुलाको छेउमा खानेकुरा खोज्न थाले । मान्छेलाई हातमुख जोड्न मात्रै नभएर जीवन जोगाउनै गाह्रो हुन थालेको छ’ उनले भनिन् । सामुदायिक वन महासंघ तानसेन नगरकी अध्यक्ष भवानी गौतमले बाँदर नियन्त्रण चुनौतीका रुपमा रहेकाले त्यसलाई नियन्त्रण गर्न ऐन, नियम नै बनाउनुपर्ने बताईन । उनले महासंघको तर्फबाट सरकारलाई पटक–पटक यस विषयमा ध्यानाकर्षण गराउँदै आएको बताइन् । बाँदरको बगालले घरको कौसीमा राखेका मकै समेत खाएर हैना बनाउने गरेको पत्रकार दयाराज न्यौपानेले बताए । ‘धपाउँदा भागेजस्तो गर्छन् तर केही छिनमै झुक्याएर आइहाल्छन्,’ उनले भने । ‘घरमा महिला भए बाँदर टेड्दै टेड्दैन, घरमा आमलाई नटेरेपछि लखेट्न लौरो लिएर दौडिएँ । तर, उल्टै ममाथि आक्रमण गर्न आए, भागेर ज्यान बचाएँ ।’ कार्यक्रममा डिभिजन प्रमुख नारायणदेव भट्टराईले वन ऐन, वन दर्ता, सरकारले कृषि हानिकारक वन्यजन्तु गरेको घोषणा लगायतका विषयमा उपभोक्तालाई जानकारी लगाएका थिए ।
उनले सरकार बाँदरलाई कृषि हानिकारक वन्यजन्तु घोषणा गरेकाले अब खेतबारीबाट लखेट्दा रातो बाँदर र बँदेल मरे किसानलाई कानुनी कारवाही नहुने बताए । ‘लगाएको बालीमा क्षति गरिदिने हुनाले बाँदर र बँदेललाई कृषि हानिकारक जीव घोषणा गरिएको हो,’ भट्टराईले भने, ‘खेतबारीमा आएका बेला लखेट्ने क्रममा बाँदर वा बँदेल मरिहाल्यो भने अब किसानलाई कानुन लाग्दैन ।’ बाँदरले बालीनाली वा धनजनको हानिनोक्सानी पु¥याए किसानले एक्लै वा सामूहिक रूपमा धपाउन, लखेट्न वा पक्रन सक्ने उनले बताए ।
बाँदर वा बँदेल धपाउने, लेखेट्ने वा पक्रने क्रममा मरे सम्बन्धित वडा कार्यालयमा जानकारी दिनुपर्ने भट्टराईले बताए । मरेको बादेल तौलका आधारमा पञ्चकीर्ति मूल्य तोकी उक्त रकम राजस्वमा दाखिला गरेर सम्बन्धित स्थानीय तहको सम्बन्धित वडाभित्र व्यापारिक प्रयोजनबाहेकमा उपयोग गर्न सकिने समेत उनले जानकारी । गोष्ठी समापन कार्यक्रममा बोल्दै पत्रकार महासंघ पाल्पाका सचिव रामचन्द्र रायमाझीले बसाईसराइँको मुख्य कारण बाँदर आतंक रहेकाले सरकारले सोही अनुसारको निती बनाएर कार्यान्वयन गर्नुपर्ने बताए । सामुदायिक वन महासंघ लुम्बिनी प्रदेशकी अध्यक्ष कल्पना भण्डारी र पारिवारिक निजी वन महासंघ पाल्पाका अध्यक्ष प्रेम घिमिरेले वन्यजन्तु र मानवबिचको द्धन्द्ध नियन्त्रण गर्न सरकारले ध्यान दिनुपर्ने बताए । कार्यक्रममा जिल्लाभरका निजी वनका उपभोक्ता समितिका प्रमुख तथा प्रतिनिधि र उपभोक्ताहरुको सहभागिता रहेको थियो । कार्यक्रम डिभिजन प्रमुख नारायणदेव भट्टराईको अध्यक्षता, कार्यालयका प्रशासन अधिकृत सुशिल ज्ञवालीको सञ्चालनमा कार्यक्रम भएको थियो ।