Shittalpati
मौसम विज्ञान दिवसको सान्दर्भिकता

मौसमको फेरबदलमा बादलको महत्वलाई दर्साउँदै आज (२३ मार्च) मा विश्व मौसम विज्ञान दिवस मनाइँदै छ । सन् १९५० मा विश्व मौसम विज्ञान संगठनको स्थापना भएको दिनको सम्झनामा सन् १९६१ देखि हरेक वर्ष मौसम विज्ञान दिवस मनाउन थालिएको हो । पृथ्वीमा बसोबास गर्ने मानवका लागि यहाँको वायुमण्डल र महासागर साझा रुपमा रहेको छ । मौसम, हावापानी तथा जलचक्रलाई कुनै राष्ट्रिय वा राजनीतिक सीमाना थाहा हुँदैन ।

त्यसैले यसका लागि अन्तर्राष्ट्रिय सहकार्य आवश्यक हुन्छ । यो दर्शनले सन् १८७३ देखि विश्वको मौसम विज्ञान समुदायको कार्यलाई सञ्चालन गर्दै आएको छ । साथै वर्तमान र भविष्यका पुस्ताहरुका लागि समाजको सेवामा विज्ञानलाई रुपान्तरित गर्दा थप मार्गदर्शन गर्ने यसले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिन सकिन्छ । तर मानव जाती अहिले प्रविधि विकासको उच्च विन्दुमा रहे पनि त्यसको समुचित प्रयोग गर्न नजान्दा वा हेल्चेक्रयाइँ गर्दा अस्तित्व संकटमा परेको छ । साथै प्रविधि विकासमा अब्बल सावित भएका राष्ट्रहरू पनि वातावरणीय र पर्यावरणीय संरक्षणमा उदासीन हुँदा मानव जातीसँगै पृथ्वीकै अस्तित्व संकटमा परेको कुरा पछिल्लो समय वातावरणमा देखिएको अप्रत्यासित परिवर्तनले पुष्टि गरेको छ ।

हरितगृह ग्यास उत्सर्जनका कारण अहिले मौसम चरम अवस्थामा पुग्दैछ । महासागरमा गर्मी बढेको छ भने अधिक अम्लीयपन बढेको छ । समुद्रको स्तर बढेको छ, हिमनदी तथा हिउँ पक्लिनेक्रम बढेर गएको छ । मौसम परिवर्तनको दर तीव्ररुपमा बढ्दै गएको छ । यस अवस्थामा हरितगृह उत्सर्जनलाई न्यूनीकरण गर्न तथा यसलाई सुनिश्चित गर्न तत्काल प्रभावकारी कदम चाल्न सके मात्र हरेक वर्ष विश्व मौसम विज्ञान दिवस मनाउनुको सान्दर्भिकता रहन्छ । अन्यथा दिवस औपचारिकतामै सिमिति बन्न पुग्ने निश्चित छ ।

प्रकाशित मिति: आइतबार, चैत १०, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update