
पाल्पा, पाल्पाका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले मान्छेले बाँदर हैन, बाँदरले मान्छे धपाउन थालेको बताएका छन् । डिभिजन वन कार्यालय पाल्पाले आईतबार तानसेनमा आयोजना गरेको सरोकारवालासँगको समन्वय गोष्ठीमा जिल्लामा बाँदरका कारण देखा परेका समस्या र ग्रामीण क्षेत्रका जनताले पाएको सास्तिका विषयमा चर्चा गर्दै उनले यस्तो बताएका हुन् ।
प्रजिअ सुवेदीले भने ‘बाँदर आतंकले गर्दा समस्या आएको छ । यस्तो अवस्था आयो कि, अब मान्छेले बाँदर धपाउने भन्दा पनि बाँदरको बथानले घर घेरेपछि, मान्छे नै घर छोडेर बाहिर बस्नुपर्ने अवस्था आयो ।’ उनले गाउँ गाउँबाट बाँदरले दुख दिएको भन्दै आफुलाई फोन आउने गरेको सुनाए ।
‘मलाई गत साता एउटा फोन आयो, हाम्रो टोलका घरमा बाँदरको हुल पस्यो, हामी घर छोडेर बाहिर नजिकैको बारीमा बसिरहेका छौं, तुरुन्तै सुरक्षा दिनुपर्ने भो, अनि मैले तत्काल प्रहरी पठाए र बाँदर भाँगे’ प्रजिअ सुवेदीले भने ‘अहिले त यतिसम्म बाँदरले दुःख दिएको छ, अब मानिसले बाँदर भन्दा पनि, बाँदरले नै मानिसलाई घर छोडेर भाग्नुपर्ने अवस्था छ ।’