Shittalpati
क्षयरोग दिवसको औचित्य

अन्तर्राष्ट्रिय क्षयरोग दिवस आज नेपालसहित विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक बर्षको मार्च २४ मा यो दिवस मनाउने गरिन्छ । नेपालमा क्षयरोग सम्बन्धित संघसंस्थाहरुले यो दिवस मनाउँदै छन् । २४ मार्च १८८२ मा चिकित्सक रोबर्ट कोचले शरीरमा क्षयरोगको कीटाणु पत्ता लगाएको एक सय वर्षपछि क्षयरोग बारे जनचेतना जगाउनका लागि यो दिवस मनाउन थालिएको हो । हरेक वर्ष यो दिवस मनाईए पनि क्षयरोगका विरामीहरुको संख्यामा कमी आउन सकेको छैन ।

नेपालमा क्षयरोग एक प्रमुख जनस्वास्थ्य समस्याको रुपमा रहेको छ । क्षयरोग माइक्रोव्याटेरियल टयूवरकुलाई भन्ने व्याक्टेरियाको संक्रमणबाट हुने सरुवा रोग हो । यो रोग स्वासप्रश्वासको माध्यमबाट सर्दछ । रोग नियन्त्रणमा उपलब्ध स्रोत र साधनको समुचित परिचालन गरि वर्तमान अवस्थामा नेपालले विश्व स्वास्थ्य संगठनले निर्धारण गरेको मापदण्ड पुरा गर्दै आएको छ । तर नेपालमा अझै पनि १० देखि १३ हजार क्षयरोगी उपचारको पहुँचमा आएका छैनन् । यसको अर्थ क्षयरोग अर्थात् टिबी नियन्त्रण गर्न सरकारी निकाय नै कमजोर रहेको मानिन्छ । यसले सन् २०३५ सम्म टिबी रोग नियन्त्रण गर्न अन्तर्राष्ट्रिय क्षेत्रमा गरेको प्रतिवद्धताप्रति चुनौती दिने देखिएको छ ।

क्षयरोगको न्यूनीकरणमा तिनै तह सरकार, गैरसरकारी संस्था, लक्षित समूहको भूमिका महत्वपूर्ण हुन्छ । क्षयरोग रोकथामका लागि स्वास्थ्य संस्थामा आवश्यक दक्ष स्वास्थ्य जनशक्तिसहित आवश्यक साधन स्रोत हुनुपर्छ । आमनागरिकलाई प्रवद्र्धनात्मक, निरोधात्मक र उपचारात्मक कार्यक्रम सञ्चालन गरी गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नुपर्छ । स्वास्थ्य संस्थामा आधुनिक सूचना प्रविधिको विकास गरी सेवाप्रवाहलाई गुणस्तरीय बनाई स्वास्थ्यकर्मीलाई आफ्नो कार्यक्षेत्रमा उत्साहसाथ कार्य गर्ने वातावरण मिलाउन आवश्यक छ । यसो भएमा मात्र क्षयरोगको न्यूनीकरण गरी लक्षित समूहको स्वास्थ्य सुरक्षा गर्न सकिनेछ । तब मात्र हरेक वर्ष मार्च २४ मा मनाइने विश्व क्षयरोग दिवसको औचित्य रहन्छ । 

प्रकाशित मिति: सोमबार, चैत ११, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update