
जनताका असन्तुष्टिहरुलाई सम्बोधन गर्नुपर्नेमा जनताकै काम गरेर हिरो बनेका विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने निर्णय गरेर सरकारले गम्भीर सैद्धान्तिक र राजनीतिक गल्ती गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको प्रस्तावमा मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले घिसिङलाई हटाउने निर्णय गर्नु देश र जनताका लागि उपयुक्त हैन । आगामी साउन २४ मा घिसिङको चारवर्षे कार्यकाल सकिँदै थियो । साढे चार महिना मात्र कार्यकाल बाँकी रहेका घिसिङलाई सरकारले हटाउने निर्णय गर्नु गलत हो ।
कुलमान घिसिङको बर्खास्तीलाई लिएर राजनीतिक वृत्तमा तीव्र प्रतिक्रिया देखिएको छ भने सामाजिक सञ्जालमा सरकारको आलोचना चुलिएको छ । घिसिङको कार्यकालमा लोडसेडिङ अन्त्य भएपछि उनी जनस्तरमा अत्यधिक लोकप्रिय बनेका कारण पनि यति बेला सरकारको निर्णयप्रति सर्वत्र आलोचना भएको हो । सरकार गलत छ र कुलमान घिसिङ चाहिँ सोह्रैआना सही भन्ने अर्थ र आशय पनि होइन तर जनताको चाहना उज्यालो नेपाल हो । त्यसको सार्थकता कुलमान नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक भएदेखि यता देखिएको छ । आम नागरिकमा असन्तुष्टि बढ्दो छ । त्यही असन्तुष्टिलाई तेर्साएर एउटा तप्का व्यवस्था नै परिवर्तन गर्न भन्दै सलबलाइरहेको छ । यस्तो बेला सरकारको डेलिभरीबाट त्यो असन्तुष्टिलाई सम्बोधन गर्नुपर्नेमा असन्तुष्टिको आगोमा मट्टितेल हाल्ने काम गर्नु राम्रो होइन । मन्त्री र सरकार घिसिङका विरुद्धमा एकोहोरो लाग्नुले अरू राजनीतिज्ञ, विश्लेषक तथा जनताले उनले लोडसेडिङ गराएर व्यापारीका इनभर्टर, जेनेरेटरलगायतको व्यपार बढाइदिन खोजेको र व्यापारीसँगको सम्बन्ध मजबुत पारेर फाइदा लिने खोजेको अर्थमा बुझिरहेका छन् । एक दशकअघि मुलुकले भोगेको लोडसेडिङको कहालीलाग्दो अवस्था अझै पनि धेरैले भुलेका छैनन् । दैनिक १८ घण्टासम्मको लोडसेडिङले घरायसी कामकाजदेखि व्यापार व्यवसाय र उद्योग कलकारखानासम्म अस्तव्यस्त बनेको थियो । यसैबीच कुलमान घिसिङ नेपाल विद्युत् प्राधिकरणको प्रमुख भएसँगै लोडसेडिङको समस्या बिस्तारै समाधान हुँदै गयो थियो । मुलुकमा अँध्यारो युगको अन्त्य गर्दै उज्यालोतर्फ डोर्याएको भन्दै कुलमानलाई ‘उज्यालोका हिरो’ भनेर समेत सम्बोधन गरेको अवस्थामा सरकारले पदमुक्त गर्नुलाई कसैले पनि राम्रो मानेका छैनन् । पछिल्लो समय मुलुकमा अर्थतन्त्र चलायमान हुन नसकेको, बेरोजगारी तथा गरिबीको दर दिनप्रतिदिन बढ्दै गएका जस्ता समस्याको समाधान खोज्नुपर्ने समयमा उज्यालोका हिरो भनेर कहलिएका कुलमानलाई सरकारले जिरो बनाउन खोज्नु लाजमर्दो विषय हो । यसर्थ सरकारले जुन गैरजिम्मेवार निर्णय लिएको छ, यसले देश र जनताका लागि भने राम्रो गर्दैन ।