Shittalpati
पूर्वखोलाका किसानलाई चैते धान रोप्न भ्याइनभ्याइ

पाल्पा, जिल्लाको पूर्वखोला गाउँपालिका भित्रका किसान चैते धान रोपाइँमा व्यस्त छन् । यहाँका डढेटा,लाबे, सातविसे, खैरेनी, आठबिसे, कलौली, चेवा मंगला, सुखौरा लगायतका फाँटका प्रायः किसानलाई चैते धानको रोपाइँको हतारोले एकैछिन फुर्सद छैन ।  डढेटा र कलौली फाँटका चिटिक्क खेतमा किसान चैते धान रोप्ने चटारोमा थिए ।

महिलाहरु हरियो धानको विउँ काढ्न र रोप्नमा व्यवस्त देखिन्छन् भने पुरुषहरु खेत हिलाउन, आली गरा मिलाउनमै व्यस्त छन् । कतै किसानले हल गोरु लगाएर खेत जोतिरहेका छन् भने कतै गोरुको सट्टा ट्याक्टरको प्रयोग गरी हिलो फेटेका देखिन्छ । सिंचाई सुविधा भएकाले चैत्र र बर्खा गरी दुईपटक धान रोप्ने प्रचलन रहेको छ । यहाँ फागुन महिनामा विउ राखेर चैत महिनामा हिउँदे धान रोप्ने प्रचलन रहेको छ । ‘सबै छिमेकी जम्मा भएर आपसमा रोपाइँको मेलापातमा सघाइरहेका छौं । यो बेला हाम्रा लागि व्यस्त समय हो,’ डढेटाका किसान सोमबहादुर थापाले भने । यहाँ पानीको स्रोतको समस्या नभएकाले धमाधम रोपाइँ भइरहेको उनको भनाइ छ । यहाँका अधिकांश किसानहरु वर्षाैदेखि चैते धानमा आर्कषित हुँदै आएका छन् । पूर्वखोलाबासीले घरको धान प्रयोग गर्न कार्तिक महिना नै कुर्न पर्दैन, असार साउनमा पनि नयाँ धान भिर्याएर आम्दानी गर्न सक्छन् । आफुले जानेदेखि नै हिउँदे धान रोप्दै आएको कलौलीकी किसान गोमाया कामुले बताइन् । अधिकांस ठाउँका युवाहरु विदेश गइरहेका बेला डढेटाका केही युवाहरु भने कृषिमै लागेका छन् । डढेटा फाँटमा आली गरा मिलाउदै गरेको अवस्थामा युवा कृषकहरु पनि देखिन्थे । आली लगाउँदै गरेका मनु दिसुवाले पुस्तौदेखि आमाबुवाले लगाउदै आएको धान खेतीलाई आफुले पनि निरन्तरता दिदै आएको बताए । असारमा हुँदै आएको धान रोपाइँ चैत्र महिनामा पनि देख्न पाउँदा त्यहाँ पुग्ने नयाँ पुस्ता भने दंग छन् । कृषिमा आधुनिक प्रविधिसँगै बेमौसमी खेतीको प्रयोग बढ्दै गएको पाइन्छ । असारमा प्रशस्त मात्रामा नयाँ उत्पादन नहुने, खडेरी, गर्मी मौसमसँगै शुरु भएको बर्षा याममा भोकमरी तथा अनिकाल बढ्ने समयमा हिउँदे धानको उत्पादनले धेरै परिवारको छाक टर्ने, भोकमरी र अनिकाल हट्ने भएकाले नियमित रुपमा हिउँदे चैते धान लगाउँदै आएको कलौलीकी थमिश्वरा पुनले बताइन् । विशेष गरी यहाँका वडा न. २, ३ र ४ मा रहेका फाँटहरुमा चैते धान रोपाइँ हुने गरेको गाउँपालिकाकी कृषि शाखा प्रमुख चाँदनी चौधरीले बताईन् । उनका अनुसार यहाँ १५ हेक्टर क्षेत्रफलमा चैते धान रोपाइँ हुने गरेको छ । यस वर्ष  सोमबारसम्म १० हेक्टर क्षेत्रफलमा धान रोपाइँ भइसकेको कृषि प्रमुख चौधरीले बताइन् । यहाँका अधिकांस फाँटहरुमा पर्याप्त मात्रमा सिचाँइको सुविधा भएकाले कृषकहरु दुई सिजन  नै धान खेतीमा आकर्षण हुने गरेका छन् । 

कृषिलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रमहरु बनाउने गरेको पालिका अध्यक्ष नुन बहादुर थापाले बताए ।  उनले भने ‘ हामीले विउ, विजन, मल, प्राविधिक  सहयोग कृषि क्षेत्रमा गर्दै आएका छौं, त्यसैले पनि कृषकहरु कृषिमा उत्साहित हुनुहुन्छ ।’ यहाँका  खोलाबाट कुलो बनाएर कृषकहरुले धान रोप्ने गरेको अध्यक्ष थापाले बताए । यहाँका कृषकहरुले अन्य बाली भन्दा पनि धान बालीमा बढी आकर्षित हुने गरेको पालिका उपाध्यक्ष भागिरथी शर्मा भट्टराईले बताईन् । उनले अन्य स्थानीय तहहरुमा धेरै खेतबारीहरु बाँझो रहे पनि आफुहरुको पालिकामा अहिलेसम्म त्यस्तो अवस्था नरहेको उल्लेख गरिन् । विगतमा स्थानीय जातको धान लगाउँदा कृषकले उत्पादन कम गरे पनि पछिल्लो समय उन्नतजातको विउ लगाउन थालेपछि उत्पादनमा समेत वृद्धि भएको पालिकाका प्रमुख प्रशासकिय अधिकृत सुन्दर प्रसाद श्रेष्ठले बताए । उनले बाँझो जग्गाको सदुपयोग गर्ने गरी कृषकहरुलाई पालिकाले प्रोत्साहनका कार्यक्रम समेत ल्याउने गरेको बताए । पाल्पाका अन्य फाँटहरुमा  पनि यतिबेला चैते धान रोप्ने चटारो  छ । फागुन महिनामा विउ राखेर चैत महिनामा हिउँदे धान रोप्ने प्रचलन रहेको छ । पाल्पामा नियमित रुपमा कुलो लाग्ने र प्रशस्त पानी भएका खोला नालाका फाँटहरुमा चैते धान रोप्ने गर्छन् । जिल्लाको पूर्वखोला, रामपुर, रम्भा, निस्दी लगायतका फाँटहरुमा चैत्रे धान रोप्ने गरिन्छ । यहाँ ६ सय २० हेक्टरमा चैत्रे धानको खेती गरिन्छ भने ७ सय कृषकले चैते धान लगाउँदै आएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।


 

प्रकाशित मिति: बुधबार, चैत १३, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update