
पाल्पा, जिल्लाको बगनासकाली गाउँपालिका –७ खानीगाउँमा घाँस काट्ने क्रममा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । सोही ठाउँका ४५ वर्षीय कमल प्रसाद भट्टराईको रुखबाट लडेर आज विहान मृत्यु भएको हो ।
भट्टराई आफ्नै घरदेखी तीन सय मिटर पूर्वतर्फ बारीमा रहेको साजको रुखमा चढी घाँस काट्ने क्रममा अचानक रुखबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिए । उनका अनुसार भट्टराई रुखबाट खसेको स्थानीयले जानकारी गराए लगत्तै स्थानीय प्रहरी चौकी गाप्टुङ र जिल्ला प्रहरी कार्यालयबाट गएको प्रहरी टोलीले प्रारम्भिक अनुसन्धान गर्दा घटनास्थलमै मृत्यु भएको पाइएको छ ।
उनी विहानै घरबाट घाँस काट्न भनि निस्किएका थिए । घर अबेरसम्म नआएपछि परिवार र छिमेकीले बारीमा हेर्न जाँदा लडेको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । अहिले भट्टराईको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल पाल्पा पठाईएको प्रहरीले जनाइएको छ । घटनाको अनुसन्धान भइरहेको छ ।