Shittalpati
सदनदेखि सडकसम्म चर्कियो आन्दोलन

पाल्पा, सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेपछि सदनदेखि सडकसम्म आन्दोलन चिर्र्किएको छ । प्रतिपक्षी दलका सांसदहरुले बुधबारको संघीय संसद्का दुवै सदनमा आन्दोलन चर्काए भने घिसिङका समर्थकहरुले प्राधिकरणको कार्यालय अगाडि सडकमा प्रदर्शन गरे ।

कुलमान–बर्खास्तीबारे प्रधानमन्त्रीले स्पष्ट जवाफ नदिएसम्म सदन चल्न नदिने भन्दै विपक्षी दलहरूले प्रतिनिधिसभा र राष्ट्रिय सभा बैंठक नै अवरोध गरेका हुुन् । निरन्तरको अवरोधपछि प्रतिनिधिसभा बैठक बिहीबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ । विपक्षी दलहरूले बैठक अवरोध गरेपछि सुरुमा आधा घण्टाका लागि बैठक स्थगित गरिएको थियो । उक्त समयमा पनि बैठक सुरु हुन नसकेपछि संघीय संसद्रुका महासचिव पद्मप्रसाद पाण्डेयले सूचना जारी गरी ३ बजेसम्मका लागि बैठक स्थगित गरिएको जानकारी दिएका थिए । विपक्षी दलहरूले प्रधानमन्त्रीको जवाफ माग गर्दै प्रतिनिधिसभाको बैठक अवरुद्ध पारेका हुन् । बुधबार बिहान ११ बजेका लागि बोलाएको बैठक ढिला गरी सुरु भएकोमा सुरुवातमै विपक्षी दलहरूले उठेर विरोध जनाएका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले नेकपा (माओवादी केन्द्र) का सांसद शक्तिबहादुर बस्नेतलाई बोल्ने समय दिएका थिए । सांसद बस्नेतले परिवर्तित परिस्थितिप्रति सरकार बेखबर भएर स्वार्थ समूह एवं विचौलियाको हितमा लागि परेर नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकलाई हटाएको बताए । विपक्षी दलहरूले निरन्तर अवरोध गरेपछि सभा सञ्चालनका लागि वातावरण बनाउन सभामुख घिमिरेले सांसदलाई पटक पटक आग्रह गरे पनि विधिसम्मत ढंगबाट सहयोग नभएपछि सभा सञ्चालन हुन नसक्ने सभामुख घिमिरेले सांसदहरूलाई जानकारी गराएका थिए । यस्तै राष्ट्रियसभाको बैठक पनि सुरु हुनासाथ विपक्षी दलका सांसदहरु आ–आफ्नो आसनमा उभिएर विरोध जनाएका थिए । राष्ट्रियसभामा माओवादी केन्द्रका गोपीशर्मा अछामीले सरकारले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिंगलाई हटाइएकोमा बिरोध गरे ।

प्रधानमन्त्रीले स्पष्टिकरण नदिएसम्म सदन नचलाउन आग्रह गरे । लोडसेडिंग अन्त्य गर्ने घिसिंगलाई पुरस्कृत गरिनुपर्नेमा दण्डित गरिएकोमा उनले आपत्ति जनाए । निरन्तर अवरोधका कारण दिउँसो सवा १ बजे बोलाइएको बैठक कार्यसूचीमा पर्न सकेको थिएन । आधा घण्टाका लागि स्थगित बैठक बस्न सकेन । दोस्रो बैठक दिउँसो पौने ४ बजे बस्ने तय भएको थियो । तर, यो बैठकमा पनि विपक्षीले अवरोध कायमै राखे । त्यसपछि राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले अर्को बैठक बिहीबार मध्यान्ह सवा १२ बजे बस्ने गरी बैठक स्थगित गरे । यस्तै कुलमान हटाएको विरोधमा सरकारविरुद्ध बुधबार पनि रत्नपार्कस्थित प्राधिकरणको कार्यालय अगाडि विभिन्न समूहले प्रदर्शन गरे । प्रदर्शनका क्रममा घिसिङका समर्थक र प्रहरीबीच घम्साघम्सी समेत भएको थियो । सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्ले उक्त पदमा रहेका कुलमान घिसिङलाई हटाउँदै शाक्यलाई नियुक्त गरेको हो । सरकारले घिसिङको काम सन्तोषजनक नभएको ठहर गर्दै चैत ११ गते पदबाट हटाउने निर्णय गरेको थियो । कुलमानलाई हटाउनु गलत भएको भन्दै सदन र सडकबाट सरकारको विरोध भइरहेको छ ।

प्रकाशित मिति: बिहीबार, चैत १४, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update