Shittalpati
जनता सचेत बनौं

यति बेला जनतामा त्रास पैदा भएको छ । गणतन्त्रवादी र राजतन्त्रवादीहरु सक्रियतासाथ आम्नेसाम्ने भएर गत एक महिनादेखि उभिँदै आएका छन् । यी दुवै पक्ष जुध्न लागेका साँढेजसरी थान थापेर बसेका छन् र दुवै पक्ष पछि हट्ने मनस्थितिमा छैनन् । जसले गर्दा अब मुलुकमा कति खेर के हुने हो भनेर आम सर्वसाधारण त्रासमा छन् ।

एक पक्षले नेपालमा राजा फर्काउने भन्दै आन्दोलन गरिरहेका छन् । उनीहरुले चैत १५ गते देशमा राजा आउने हल्ला फैलाई जनतालाई नारायणहिटी आउन आह्वान गरिरहेका छन् । गणतन्त्रवादीहरु भने गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्न भन्दै त्यसको प्रतिवाद गर्दै आएका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले त पूर्वपञ्चहरुको हर्कतविरुद्ध एकताबद्ध भएर प्रतिकार गर्ने घोषणा गरेको छ । पूर्वराजा ज्ञानेन्द्रले यही बेला देशका विभिन्न भागको भ्रमण गरेर आफू राजगद्दीमा फर्कन तयार भएको संकेत देखाइरहेका छन् । अहिलेको परिस्थितिले नेपालमा के राजतन्त्र स्थापना हुन लागेकै हो त ? भन्ने आशंका आम जनातामा पैदा भएको छ । यसो हुनु दुखद् हो । नेपाली जनताको लामो बलिदानपछि आएको लोकतन्त्रलाई केही नेताहरुको अविवेकी प्रवृत्तिका कारण अहिले व्यवस्थामाथि धावा बोल्नेहरु सक्रिय हुनु पक्कै पनि मुलुकका लागि हितकर छैन । अहिले परिस्थिति सिर्जना हुनु वर्तमान व्यवस्थाका थुप्रै विकृति र विसंगति अनि दल र नेताहरूप्रतिको असन्तुष्टि हो । त्यही असन्तुष्टिको धमिलो पानीमा राजतन्त्रले माछा मार्ने प्रयास गर्न खोज्दैछ, जुन नेपाल र नेपाली जनताका खातिर स्वीकार्य हुने खालको छैन । गणतन्त्रले नेपालमा अनेक सामाजिक र आर्थिक परिवर्तन ल्याएको छ । नेपालले विकासको छलाङ मारेको छ ।

झण्डै शतप्रतिशत परिवारलाई बिजुलीको उज्यालो पु¥याउनेदेखि गाउँ–गाउँमा मोटरबाटो र आधारभूत खानेपानीको सुनिश्चितता भएको छ । सञ्चार क्षेत्रमा ठूलो क्रान्ति आएको छ । यो केवल समयले ल्याएको परिवर्तन होइन, लोकतान्त्रिक व्यवस्था भएकैले हासिल भएका उपलब्धि हुन् । अहिलेको व्यवस्थामा देखिएका विकृति र विसंगतिको अन्त्य गर्दै अघि बढ्नुपर्ने आवश्यकता हो । यति बेला सत्ताका लागि जस्तोसुकै सम्झौता चाहे पूर्वराजाबाट होस्, चाहे गणतन्त्रवादीबाट हुन सक्ने भएकाले जनता सचेत हुने बेला आएको छ । यतिखेर कुनै वादभन्दा पनि मुलुकको स्वतन्त्रताका लागि जनता चनाखो हुनुको विकल्प छैन । लोकतन्त्र बचाउने जिम्मा आम नेपालीको हो । तसर्थ  आम जनता लोकतन्त्रको पक्षमा दृढताका साथ उभिनु र सचेत हुन जरुरी छ ।

प्रकाशित मिति: शुक्रबार, चैत १५, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update