
पाल्पा, नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएको विषय चर्किंदा संघीय संसद्का दुुवै सदनका बैठक बिहीबार पनि स्थगित भएका छन् ।
सत्ता र प्रतिपक्षी दलहरूबीच सहमति हुन नसक्दा प्रतिनिधिसभाको बैठक सूचना टाँस गरेर शुक्रबार बिहान ११ बजेसम्मको लागि स्थगित भएको छ । यसअघि बिहीबार ११ बजेका लागि बोलाइएको बैठक २ बजेसम्मका लागि सारिएको थियो । संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले सूचना जारी गर्दै प्रतिनिधिसभा बैठकको समय परिवर्तन भएको जानकारी दिएका थिए । बिहीबार बिहान ११ बजेका लागि बोलाइएको बैठक सभामुख देवराज घिमिरेले दिउँसो २ बजेका लागि सारेको महासचिव पाण्डेयको सूचनामा उल्लेख थियो । २ बजे पनि बैठक बस्न नसकेपछि महासचिव पाण्डेयले सूचना टाँस गरेर शुक्रबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरिएको हो । यस्तै राष्ट्रिय सभाको बैंठक पनि स्थगित भएको छ । विपक्षी दलको विरोधकाकारण कार्यसूचीमा प्रवेश गर्न सकेन । राष्ट्रिय सभाको बैठक शुरु भए लगत्तै विपक्षी दलका सांसदहरुले उभिएर विरोध जनाए । राष्ट्रिय सभाको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाज)का सांसद डा वेदुराम भुसालले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक पदबाट हटाउनुको कारणबारे सरकारले जवाफ दिनुपर्ने बताए । “यो मन्त्रिपरिषद्को निर्णय हो । धारा ७६ बमोजिम प्रधानमन्त्री सङ्घीय संसद्प्रति जवाफदेही हुनुपर्ने व्यवस्था छ । प्रधानमन्त्रीले संसद्मा जवाफ दिनुभएको छैन । तर उनले बाहिर अरु कार्यक्रममा संसद्मा जवाफ आवश्यक छैन भन्दै हिँड्नु भएको छ”, उनले भने । सभाका अध्यक्ष नारायणप्रसाद दाहालले यस विषयमा ध्यानाकर्षण भएको बताउदै सभा सञ्चालन गर्न आग्रह गरेका थिए । “यस विषयमा सभाको मात्र होइन, सिङ्गो राष्ट्रकै ध्यानाकर्षण भएको छ । तर हामीले अध्यादेशलाई प्रतिस्थापन गर्न ल्याइएका विधेयकलाई चाँडो पारित गर्नुपर्नेछ । राष्ट्रिय सभाको प्रतिष्ठाको पनि विषय बन्छ”, उनले भने । विहीबार दिउँसो १२ बजेर १५ मिनेटमा बस्ने गरी निर्धारण भएको बैठक सुरु भएलगत्तै विपक्षी दलका सांसदहरुले अवरोध गरेपछि सभा अध्यक्ष दाहालले १ घण्टाका लागि स्थगित भएको जानकारी गराएका थिए । त्यसपछि दोस्रो पटक पुनः सूचनामार्फत ३ बजेर ३० मिनेटमा बस्ने गरी सङ्घीय संसद् सचिवालयले सूचना प्रकाशित गरेको थियो । विशेष कारणवश तोकिएको समयमा बैठक बस्न नसकेपछि बैठक स्थगित भएको थियो । राष्ट्रियसभाको अर्को बैठक शुक्रबार बस्ने गरी निर्धारण गरिएको छ ।
विपक्षी दलहरूले भने मन्त्रिपरिषद् बैठकबाटै कुलमानलाई हटाउने निर्णय गरिएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली आफैं सदनमा आएर यसबारे स्पष्टीकरण दिनुपर्ने माग राख्दै आएका छन् । उनीहरूले प्रधानमन्त्रीले जवाफ नदिएसम्म सदन अवरुद्ध गर्ने अडानसमेत राखेका छन् । कुलमानलाई हटाइएको विषयमा सरकार संसद्रुमा जवाफ दिन तयार भएको छ । यद्यपि विपक्षी दलहरूको मागअनुसार प्रधानमन्त्री केपी शर्मा ओली भने आफैं उपस्थित भएर जवाफ भने नदिने एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए ।