
पाल्पा,पाल्पा अस्पतालले ११३ औं वार्षिकोत्सव मनाएको छ । वि.सं. १९६९ मा स्थापना भएको अस्पतालले एक भव्य समारोहकाबिच पहिलो पटक वार्षिकोत्सव मनाएको हो ।
वार्षिकोत्सवको प्रमुख अतिथि लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले उद्घाटन गरेका हुन् । कार्यक्रमको उद्घाटन गर्दै मन्त्री सारुले अस्पतालले गुणस्तरीय सेवा प्रवाहलाई ध्यानमा राखेर काम गर्नुपर्ने बताए । उनले प्रदेश सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरेकाले सोही अनुसार अस्पतालले आफ्नो सेवालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । लुम्बिनी प्रदेशसभा सदस्य वीरबहादुर रानाले भवन निर्माण गर्दा गुरुयोजना र कार्य योजना बनाउने कुरामा ध्यान दिन सुझाव दिए । जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनालले अस्पतालबाट प्रदान गरिने सेवालाई थप गुणस्तरीय र सेवाग्राहीमैत्री बनाउनुपर्नेमा जोड दिए । तानसेन नगरपालिकाका नगरप्रमुख सन्तोषलाल श्रेष्ठले पाल्पा अस्पतालबाट गुणस्तरीय सेवा प्रवाहका लागि नगर सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले ५० शैयाको अस्पतालमा परिणत भए पनि पूर्वाधार अभावले सेवा प्रवाहमा समस्या देखिएको बताए । अस्पताल विकास समितिका अध्यक्ष गुँरास आत्रेयले पहिलो पटक अस्पतालले वार्षिकोत्सव मनाएको बताए । अस्पतालले आफ्नो क्षमताले भ्याएसम्म गुणस्तरीय सेवा प्रदान गर्दै आएको उनको भनाई छ । समितिका सदस्य तथा तानसेन नगरपालिकाका प्रवक्ता यादवसिंह कार्कीले अस्पतालका लागि जग्गा व्यवस्थापनको अन्तिम टुंगो लगाउने प्रक्रियामा रहेको बताए ।
आकस्मिक र अप्रेसन कक्ष भवनको शिलान्यास
यस्तै वार्षिकोत्सवका अवसरमा अस्पतालको आकस्मिक र अप्रेसन कक्ष भवनको शिलान्यास समेत गरिएको छ । लुम्बिनी प्रदेश सरकारको ५० लाख र अस्पताल विकास समितिको २० लाख लगानीमा भवन निर्माण गर्न लागिएको हो । असार १५ गते भित्र सक्ने गरी ५६ लाख २५ हजार एक सय ७३ रुपैयाँमा निर्माण व्यवसायीसँग सम्झौता भएर काम अघि बढेको छ । अहिले आकस्मिक र अप्रेसन कक्ष नहुँदा गम्भीर बिरामी भएका बिरामीले अस्पतालबाट फर्काउनुपर्ने बाध्यता रहेको छ । वार्षिकोत्सवमा अस्पतालका निमिक्त मेडिकल सुपरीटेन्डेन्ट डा. रामेश्वर देवकोटाले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । वार्षिकोत्सवका अवसरमा अस्पतालले निवृत्त कर्मचारीका साथै लामो अवधिदेखि सेवारत कर्मचारीलाई समेत सम्मान गरेको छ । अस्पताल विकास समितिका अध्यक्ष आत्रेयको अध्यक्षता, समितिका सदस्य सशी श्रेष्ठको सञ्चालनमा कार्यक्रम भएको थियो ।