
पाल्पा, राजावादीहरुको प्रदर्शन अराजक बन्दै गएको छ । राजसंस्था पुनस्थापनासहितको माग गरेका राजावादी प्रदर्शनकारीहरूले काठमाडौंका ठाउँ ठाउामा ढुंगा प्रहार गरेर घरका सिसा फुटाएका हुन् ।अहिले पनि त्यहाँ प्रदर्शनकारीले व्यक्तिका घरहरू तोडफोड र आगजनी गरेका छन् ।
काठमाडौंको तीनकुनेमा उनीहरुले व्यक्तिका घरको सिसा छियाछिया हुनेगरी फुटाएका छन् । उक्त घरभित्र मानिसहरू छन् ।
विभिन्न ठाउँबाट र्यालीसहित तीनकुने पुगेर सभामा परिणत हुने भनिए पनि पहिले नै भीड भड्किएको हो । उनीहरूले तीनकुने सडक किनारमा रहेका तोडफोड र आगजनी गरेका हुन् ।
तीनकुनेस्थित चौरमा जारी प्रदर्शनबीच अवस्था तनावग्रस्त बनेपछि अश्रुग्यास प्रहारसमेत भएको थियो ।त्यसपछि राजावादी समर्थकहरू झनै उच्छृंखल बनेका हुन् । चाबहिल, भक्तपुर लगायत चक्रपथबाट राजावादीहरूले जुलुस निकालेका थिए । उक्त जुलुस तीनकुने पुगेपछि अवस्था तनावग्रस्त बनेको थियो ।
प्रदर्शनका लागि तोकिएको घेरा तोड्न प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढासमेत प्रहार गरेका छन् । प्रदर्शनकारीलाई रोक्न प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । अश्रुग्यास प्रहार पछि आन्दोलनकारी थप आक्रोशित बनेका हुन् । उनीहरूले व्यक्तिका घर,पसलमा ढुंगामुडा प्रहार गर्दै सरकारविरुद्ध नाराबाजी गरिरहेका छन् ।