Shittalpati
लोक दोहोरी प्रतिष्ठान पाल्पाद्वारा श्रीनगरमा बनभोजसँगै सांस्कृतिक कार्यक्रम 

पाल्पा, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल पाल्पा शाखाले बनभोजसँगै साँस्कृतिक कार्यक्रम गरेको छ । प्रतिष्ठानले शुुक्रबार ऐतिहासिक पर्यटकीयस्थल श्रीनगरडाँडामा बनभोजसँगै साँस्कृतिक कार्यक्रम गरेको हो । तिहारमा देउसी भैलोमार्फत संकलन भएको रकमबाट बनभोजसहित साँस्कृतिक कार्यक्रम गरिएको प्रतिष्ठानले जनाएको छ । उसले देउसी भैलोमार्फत संकलित केही रकम बनभोज र बाँकी रकम संस्थागत विकासमा खर्चने भएको हो । 

बनभोज कार्यक्रममा सहभागी हुन पुगेका तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले प्रतिष्ठानले जिल्लाको कलासंस्कृतिको संरक्षणमा खेलेको भूमिका महत्वपूर्ण रहेको बताए । उनले भने ‘कलाकारहरु भनेका देशका गहना हुन्, उनीहरुले स्थानीय कलासंस्कृतिलाई जीवन्त राख्न महत्वपूर्ण भूमिका खेल्ने गरेका छन् । ’ नगर प्रमुख श्रेष्ठले कलासंस्कृतिको संरक्षणका लागि प्रतिष्ठानसँग नगर सरकारले सहकार्य गरेर अगाडि बढ्ने समेत बताए । 

कार्यक्रममा प्रतिष्ठानका कानुनी सल्लाहकार शिवप्रसाद देवकोटाले प्रतिष्ठान आफ्नो उद्देश्य अनुरुप अगाडि बढेको बताए । उनले प्रतिष्ठानले गर्ने हरेक गतिविधिहरु रचनात्मक रहेको समेत उल्लेख गरे । प्रतिष्ठानका अध्यक्ष कमल भट्टराईले सबैको सहयोग र साथले प्रतिष्ठानले आफुलाई जिल्लामा सक्रिय बनाउन सफल भएको बताए । उनले साथीहरुबिचको सम्बन्धलाई थप मजबूद बनाएर लैजान बनभोज कार्यक्रम गरिएको उल्लेख गरे । आयोजित औपचारिक कार्यक्रम प्रतिष्ठानका अध्यक्ष भट्टराईको अध्यक्षता, उपाध्यक्ष रुपेश कार्कीको स्वागत, सचिव रामकृष्ण थापाको सञ्चालनमा कार्यक्रम भएको  थियो । बनभोज कार्यक्रममा नाँचगान गर्नुको साथै विभिन्न खेलप्रतियोगिताहरु समेत भएका थिए । 

प्रकाशित मिति: शुक्रबार, चैत १५, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update