Shittalpati
राजावादीको प्रदर्शन अराजक : कतै तोडफोड, कतै आगजनी

पाल्पा, राजतन्त्र समर्थकले शुक्रबार राजधानीमा गरेको प्रदर्शन अराजक बनेको छ । राजसंस्था पुनस्थापनासहितको माग गरेका राजावादी प्रदर्शनकारीहरूले काठमाडौंका विभिन्न ठाउँहरुमा कतै तोडफोड, कतै आगजनी गरेका छन् ।

उनीहरुले तीनकुनेमा ढुंगा प्रहार गरेर घरका सिसा फुटाए भने कतिपय व्यक्तिका घरहरूमा तोडफोड र आगजनी गरेका छन् । विभिन्न ठाउँबाट  र्‍यालीसहित तीनकुने पुगेर सभामा परिणत हुने भनिए पनि पहिले नै भीड भड्किएको थियो । उनीहरूले तीनकुने सडक किनारमा रहेका घर, पसलहरु तोडफोड र आगजनी गरेका हुन् । तीनकुनेस्थित चौरमा जारी प्रदर्शनबीच अवस्था तनावग्रस्त बनेपछि अश्रुग्यास प्रहारसमेत भएको थियो । त्यसपछि राजावादी समर्थकहरू झनै उच्छृंखल बनेका हुन् । चाबहिल, भक्तपुर लगायत चक्रपथबाट राजावादीहरूले जुलुस निकालेका थिए । उक्त जुलुस तीनकुने पुगेपछि अवस्था तनावग्रस्त बनेको थियो । प्रदर्शनका लागि तोकिएको घेरा तोड्न प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढासमेत प्रहार गरे । प्रदर्शनकारीलाई रोक्न प्रहरीले अश्रुग्यास प्रहार गरेको हो । अश्रुग्यास प्रहारपछि आन्दोलनकारी थप आक्रोशित बनेका थिए । प्रदर्शनकारीहरूले प्रहरीको हतियार समेत खोसेका थिए । उनीहरूको आक्रमणबाट केही प्रहरी घाइते भएका छन् । आन्दोलनकारीले सर्वसाधारणको घरमा पनि आगजनी गरेका छन् । यसैगरी घरमा लगाइएको आगो निभाउन आएको दमकलमा पनि अवरोध गरेका थिए । प्रदर्शनकारीहरूले काठमाडौँको आलोकनगरस्थित नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा पनि आगजनी गरे । उनीहरूले पार्टी कार्यालयमा तोडफोड गरी आगो लगाएका छन् । तीनकुनेस्थित बागमती पुलमा प्रहरीले बनाएको सुरक्षा घेरा तोडेर अघि बढ्न खोज्दा प्रहरीले अवरोध गरेपछि दुई पक्षबीच झडप भएको थियो । झडपका क्रममा प्रहरीले कैयौँ सेल अश्रुग्यास प्रहार गरेको थियो । दोहोरो झडपका क्रममा राजावादीले सभा गर्न लागेको मञ्चमा पनि क्षति पुगेको थियो । त्यसपछि प्रदर्शनकारीहरू प्रहरीमाथि आक्रमण र भौतिक सम्पत्ति तोडफोडमा उत्रिएका थिए । प्रदर्शनकारीले सञ्चार गृहलाई पनि निशाना बनाएका छन् । उनीहरूले कान्तिपुर टेलिभिजनको कार्यालय र तीनकुनेमै रहेको अन्नपूर्ण पोस्टको केन्द्रीय कार्यालयमा पनि ढुंगा प्रहार गरे । राजावादी समूहले कोटेश्वरस्थित भाटभटेनीमा तोडफोड गरेका छन् ।

भाटभटेनी सुपर स्टोरमा तोडफोड गरेर मोबाइल फोन, घडी, मदिरा जस्ता महँगा सामान लुटेका छन् । त्यतिमात्र होइन, प्रदर्शनकारीहरूले फलफूल, तरकारी पनि लुटेर लगेका छन् ।  उनीहरुले त्यहाँ ढुंगा प्रहार गरेर सिसालगायतका भौतिक संरचनामा क्षति पुर्‍याए । प्रदर्शनकारीले कोटेश्वरस्थित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको कार्यालय र परिसरमा रहेका गाडीहरूमा समेत आगजनी गरेका छन् । राजावादीहरुको प्रदर्शन अराजक बन्दै गएपछि  काठमाडौंका विभिन्न क्षेत्रमा कफ्र्यु समेत लगाइएको थियो । व्यक्तिका घर, पसल, सञ्चार गृह र सरकारी सम्पत्तिमा आगजनी बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले तीनकुने क्षेत्रमा कफ्र्यु लगाइएको हो । प्रर्दशनका क्रममा प्रहरीको गोली लागी घाइते भएका एक जनाको मृत्यु भएको छ । घाइते अवस्थामा त्रिवि शिक्षण अस्पतालमा लगिएका प्रदर्शनकारीको अस्पताल पु¥याउँदा नै मृत्यु भइसकेको स्रोतले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, चैत १६, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update