
पाल्पा, जिल्लाको तानसेनमा निजी विद्यालयका अध्यक्ष र प्रिन्सिपलहरुको भेला भएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल, प्याब्सन पाल्पाको आयोजनामा जिल्लाका निजी विद्यालयहरुका अध्यक्ष तथा प्रिन्सिपलहरुको एक दिने भेला शनिबार भएको हो ।
निजी तथा आवासीय विद्यालयहरुको शैक्षिक गुणस्तर र संस्थागत विकास गर्ने उद्देश्यले भेला आयोजना गरिएको प्याब्सनले जनाएको छ ।
भेलामा जिल्ला समन्वय समिति पाल्पाका समन्वय प्रमुख टंकनाथ खनालले निजी शिक्षण संस्थाले शैक्षिक विकासमा महत्वपूर्ण भूमिका खेलेको बताए । उनले पाल्पा जिल्लामा मात्र नभई देशभर निजी विद्यालयको शैक्षिक नतिजा उत्कृष्ट रहेको उल्लेख गरे । प्रमुख खनालले भने ‘निजी विद्यालमा अध्ययनरत विद्यार्थीहरु विश्व बजारसम्म प्रतिस्पर्धा गर्न सफल भएका छन् । यो हाम्रो लागि खुसी गर्नु पर्ने कुरा हो ।’ उनले मुलुकमा निजी शिक्षण संस्था नभएको भए देशको शैक्षिक सुचक अत्यन्त्यै कमजोर हुने उल्लेख गरे ।
कार्यक्रममा पाल्पा प्यारागन बोर्डिङ स्कूलका अध्यक्ष जगदीश भट्टराई, प्याब्सन लुुम्बिनी प्रदेशका उपाध्यक्ष महेशमान बज्राचार्य, प्याब्सन पाल्पाका सल्लाहकारहरु मिनप्रसाद बञ्जाडे, भेषराज सुवेदी लगायतले आ–आफ्ना धारणा राखेका थिए । भेलामा प्याब्सन सदस्य विद्यालहरुका लागि प्रस्तावित आंचारसंहिताका विषयमा प्रस्तुति र त्यसको कार्यान्वयनमा कसरी प्रभावकारी बनाउने भन्ने विषयमा व्यापक छलफल र अन्तर्किया भएको थियो । प्याब्सनका जिल्ला अध्यक्ष डाँसुराम पन्तको सभापतित्व, उपाध्यक्ष अशेष भट्टराईको स्वागत, सचिव गंगाबहादुर खत्रीको सञ्चालनमा कार्यक्रम भएको थियो ।