
पाल्पा, पाल्पामा भव्य रुपमा राष्ट्रिय सहकारी दिवस मनाइने भएको छ । जिल्लाका विभिन्न ठाउँमा छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरी दिवस मनाउन लागिएको हो ।
‘मर्यादित सहकारी समुन्नत समाज’ भन्ने नाराका साथ यस वर्ष जिल्लामा भव्य रुपमा कार्यक्रम गरी दिवस मनाउन लागिएको जिल्ला सहकारी संघ पाल्पाका अध्यक्ष भुपति पाण्डेयले जानकारी दिए । उनका अनुसार तानसेन र रामपुरमा छुट्टाछुट्टै समयमा कार्यक्रम हुने छन् ।
चैत २० गते तानसेनमा जिल्ला भित्रका सबै प्रकारका सहकारी संस्था र सहकारी अभियन्ताहरुको सहभागीता रहने, सोही दिन नारामा उल्लेख भएका प्लेकार्ड, ब्यानर र झण्डासहित र्याली निकालिने अध्यक्ष पाण्डेयले बताए । र्याली पछि तानसेन नगरपालिकाको सभाहलमा सहकारी सभा आयोजना हुने छ ।
सभामा सहभागीलाई वर्तमान समयमा सहकारीले खेप्नु परेका समस्या र समाधानका उपायका विषयमा सहकारी अभियन्ता तथा संविधानसभा सदस्य केशव वडाल, गोपी मैनाली लगायतले जानकारी गराउने कार्यक्रम रहेको जिल्ला बचत तथा ऋण सहकारी संघ पाल्पाका अध्यक्ष जगदीश भट्टराईले बताए । उनका अनुसार कार्यक्रमलाई प्रभावकारी बनाउन तानसेन नगरपालिकाले आयोजकका रुपमा सहयोग गर्ने छ । तानसेनमा तानसेन नगर सरकार, रामपुरमा रामपुर नगर सरकारको आयोजना र जिल्लाका सबै स्थानीय सरकारहरु समेतको सहभागीताका कारण पाल्पामा दिवस भव्य हुने जिल्ला सहकारी संघ पाल्पाका उपाध्यक्ष कृष्ण भूषालले जानकारी दिए । यो पटकका सबै कार्यक्रम देशभरी मै पाल्पा जिल्ला उत्कृष्ट हुने सोंचका साथ अगाडि बढ्ने योजना बनाइएको उनले बताए ।
दिवसकै सन्दर्भ पारेर पुर्वी पाल्पामा लुम्बिनी बचत तथा ऋण संघ लि.को संयोजनमा रामपुर नगरपालिका र त्यहाँका साकोसहरुको सहभागीतामा चैत्र २२ गते सहकारी प्रशिक्षण, सहकारीका समस्या र समाधानका उपायहरुका विषयमा व्यापक छलफल र अन्तक्र्रिया हुने लुम्बिनी बचत तथा ऋण संघका अध्यक्ष कृष्ण नेपालले जानकारी दिए ।
राष्ट्रिय सहकारी दिवस प्रत्येक वर्ष चैत्र २० गते मनाउने गरिएको छ । यस वर्ष ६८ औं स्थापना दिवस मनाइँदै छ । २०१३ साल चैत्र २० गते चितवनको शारदानगरमा बखान सहकारी स्थापना भएको दिनको स्मरणमा यो दिवस मनाउने गरिएको हो । देशभर अहिले करिब ३० हजारको सङ्ख्यामा सहकारी रहेको तथ्याङ्क छ । जहाँ झण्डै ६० लाख सदस्य छन् । सहकारी क्षेत्रले ५० हजारलाई प्रत्यक्ष तथा पाँच लाख नागरिकलाई अप्रत्यक्ष रोजगारी सिर्जना गरेको छ । कुल गार्हस्थ्य उत्पादनमा ३ प्रतिशत र वित्तीय पहुँचमा १५ प्रतिशत योगदान सहकारी क्षेत्रले गरेको बताइन्छ ।