
पाल्पा, नेपाल पत्रकार महासङ्घ पाल्पा शाखाले शुक्रबार काठमाडौँमा भएको आन्दोलनमा समाचार सङ्कलन गर्ने क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजक र सञ्चारगृहमाथिको भएको आक्रमणविरुद्ध विरोधमा सभा गरेको छ । पत्रकार रजकको मृत्युको सत्यतथ्य पत्ता लगाएर दोषीमाथि कडा कारवाहीको माग गर्दै महासंघले शनिबार दिउँसो तानसेनस्थित आन्दोलनचोकमा विरोधसभा गरेको हो ।
सभामा महासंघका जिल्ला अध्यक्ष कमलराज तिमिल्सेनाले घटनाका दोषीलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न सरकारसँग माग गरे । उनले प्रेस स्वतन्त्रता कुण्ठित गर्ने कुनै पनि गतिविधि स्वीकार्य नहुने बताए । अध्यक्ष तिमिल्सेनाले मुलुक परिवर्तमान पत्रकारहरुले खेलेको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै पत्रकारको सुरक्षाका लागि ठोस् कदम चाल्न पनि सरकारलाई आग्रह गरे । उनले पत्रकार महासंघ केन्द्रले चरणवद्ध आन्दोलनका कार्यक्रम तय गरेकाले सोही अनुसार जिल्लाका पत्रकारहरु सहभागी हुने बताए । अध्यक्ष तिमिल्सेनाले पत्रकारहरुलाई निर्धक्का साथ समाचार संकलनमा लाग्न आग्रह गर्दै कही कतै समस्या आए पत्रकार महासंघ श्रमजिवी पत्रकारहरुको पक्षमा खडा हुने समेत बताए ।
महासंघका निवर्तमान अध्यक्ष रेखीराम रानाले देशैभर पत्रकार महासंघको स्थापना दिवस खुसीयालीका साथ मनाउनुपर्नेमा शुुक्रबार भएको राजावादीहरुको अराजक आन्दोलनबाट पत्रकार साथीको दुखद् निधन भएकोमा शोक मनाउन बाध्य भएको बताए । उनले शान्तिपूर्ण प्रदर्शनको हवला दिँदै आन्दोलनकारीहरुले अराजक गतिविधि गर्दै हिंसात्मक अवस्था सिर्जना गरी श्रमजीवी पत्रकारको ज्यान जाने अवस्था उत्पन्न गराउने तथा सञ्चार गृह, राजनीतिक दलको कार्यालय, नागरिकका घर, व्यावसायिक भवन, सवारी साधनलगायतमा भएको तोडफोड, आगजनी तथा लुटपाट गर्नु दुखद् भएको भन्दै घटनामा सम्लग्नहरुलाई तत्काल पक्राउ गरी कानुनी कारवाहीको दायरामा ल्याउन सरकारलाई आग्रह गरे ।
नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष माधव अर्यालले लोकतन्त्रमा आफ्ना असहमति शान्तिपूर्ण रुपले राख्न पाइने व्यवस्था हुँदाहुँदै राजनीतिक अभिष्ट पूरा गर्ने नाममा हिंसा निम्त्याउने, पत्रकारको ज्यान जाने अवस्था ल्याउने, निजी सम्पत्ति र व्यापारिक प्रतिष्ठानमा आगजनी र लुटपाटलगायतका गतिविधि किमार्थ स्वीकार्य नभएको बताए । अर्यालले भने ‘पत्रकार रजकलाई रिपोर्टिङ गर्दा गर्दैको अवस्थामा प्रदर्शनकारीहरुले आगो लगाई दिनु, कान्तिपुर टेलिभिजन र अन्नपूर्ण पोस्टको कार्यालयमा तोडफोड गर्नु, हिमालय टिभीको गाडीमा आगो लगाउनु, त्यसबाहेक राजनीतिक पार्टीको कार्यालयमा आगजनीका साथै भाटभटेनी सुपरमार्केट, सन्चो उत्पादन कम्पनीमा तोडफोड र लुटपाट मच्चाइएको छ । शान्तिपूर्ण आन्दोलनका नाममा निम्त्याइएको यस्तो हिंसा र अराजकतालाई किमार्थ स्वीकार गर्न सकिन्न ।’
प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य मिलन विकले पत्रकार र सञ्चार संस्थाहरुमाथि आक्रमण हुनु निन्दनीय घटना भएको भन्दै दोषी माथि कडा कारवाही हुनुपर्नेमा जोड दिए । उनले यस्ता घटना आगामी दिनमा नहुन भन्ने कुरामा सजग हुँदै सुरक्षा व्यवस्थालाई कम रुपमा आकलन नगरी आन्दोलनलाई आन्दोलनका रुपमा लिई सुरक्षालाई थप व्यवस्थित बनाउनुपर्ने दिशामा ध्यान दिन सरकार आग्रह गरे ।
महासंघका संस्थापक सचिव भरत शर्माले जनतालाई सु–सूचित गराउने पत्रकारको ज्यानै जाने र सञ्चार संस्थाहरुमाथि आक्रमण गर्नु घोर आपत्तिजनक, निन्दनीय र भत्र्सनायोग्य कार्य रहेको बताए । यस्ता अमानवीय कार्यमा संलग्न जो कोही भएपनि तत्काल कानुनी कठघरामा उभ्याउन उनले सरकारसँग माग गरे । सरकारले सावधानी नपनाउँदा शुक्रबारको घटना घटेको उनको भनाई छ । सरकारले आगामी दिनमा आमनागरिकको सुरक्षामा ध्यान दिन समेत आग्रह गरे । महासंघका सचिव रामचन्द्र रायमाझीले हत्या गरिएका पत्रकार रजकलाई न्यायसहित घाइते पत्रकारहरूको उपचार, राहत तथा क्षतिपूर्ति र पत्रकारहरूको भौतिक सुरक्षाको ग्यारेण्टी गर्न सरकारसँग माग गरे । उनले यी मागहरू पूरा नभए महासंघ निरन्तर सडक संघर्षमा उत्रिन बाध्य हुने समेत बताए ।
विरोध सभामा सहभागीहरुले ‘पत्रकार सुरक्षाको ग्यारेन्टी गर’, ‘पत्रकार सुरेस रजकको हत्यारालाई कारवाही गर’, ‘प्रेस स्वतन्त्रता कायम गर’, ‘स्ट्याण्ड्स फर प्रेस फ्रिडम’ र ‘पत्रकारमाथिको दमन बन्द गर’ लेखिएका प्ले कार्ड बोकेका थिए । घटनाको विरोधमा महासंघ केन्द्रीय समितिले आइतबार देशभरका पत्रकारलाई कालोपट्टी बाँधेर काम गर्न आह्वा गरेको छ । त्यस्तै, सोमबार महासंघ केन्द्रले संघीय सरकारका गृहमन्त्रीलाई, प्रदेश समितिहरूले प्रदेशका गृहमन्त्री र जिल्ला शाखाले प्रमुख जिल्ला अधिकारीमार्फत एकैसाथ सरकारलाई ज्ञापनपत्र बुझाउने निर्णय गरेको छ । त्यस्तै, मंगलबार घटनाका विषयमा सञ्चारगृहका सम्पादक र सरोकारवाला संघसंगठनका नेतासँग छलफल गर्ने कार्यक्रम तय गरेको छ ।