
राजावादीको हिंसात्मक प्रदर्शनका क्रममा रिपोर्टिङ गरिरहेका पत्रकारको मृत्यु र सञ्चारसंस्थामाथि भएको आक्रमणको घटना निन्दनीय छ । यो आक्रमण नेपाली प्रेस स्वतन्त्रतामाथिको आक्रमण हो ।
शुक्रबार राजधानीमा ‘राजावादी आन्दोलन’का नाममा निस्किएको अराजक, उच्छृंखल र असंयमित जत्थाले अन्नपूर्ण मिडिया नेटवर्क र कान्तिपुर टेलिभिजनका मुख्यालयमा तोडफोड एवं आगजनी साथै प्रदर्शनको रिपोर्टीङ गरिरहेका एभीन्युज टीभीका क्यामेरा पर्सन सुरेश रजकको निधन हुनुु दुुखद् हो । निरंकुशताको पहिलो निसानी प्रेस हो भन्ने यो ‘आन्दोलन’ले अँगालेको शैलीले देखाएको छ । मुलुकमा गणतन्त्र ल्याउन २०६२/०६३ को आन्दोलनमा मिडियाले खेलेको भूमिका महत्वपूर्ण छ ।
नेपाली नागरिक हैसियतमा रहेका हरेक व्यक्तिलाई राजनीतिक अभ्यास गर्न, शासनमा पहुँच बनाउन र जनमत आर्जन गर्न लोकतन्त्र र यसअन्तर्गतको संविधान बाधक छैनन् । त्यसका खातिर गरिने प्रदर्शन र आन्दोलन भने शान्तिपूर्ण एवं अरूको सुरक्षामा खलल नपुग्ने किसिमका हुनुपर्छ । लोकतान्त्रिक पद्धति र कानुनी दायराभन्दा बाहिर जान लोकतन्त्रमा कसैलाई छुट छैन । नेपाली मिडिया जगत लोकतन्त्रको संरक्षण र संवद्र्धन गर्न र राजनीतिक थिति बसाल्ने मार्गदर्शक बन्न सदा अग्रसर रहँदै आएको छ । लोकतन्त्रको विकल्प केवल उन्नत लोकतन्त्र हो । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, मानव अधिकार एवं नागरिक सम्प्रभुत्ता केवल लोकतन्त्रमा सम्भव छ । त्यसमा हुने अवरोध खेदजन्य छ ।
अराजक, बर्बर र असहिष्णु आन्दोलन सिर्जना गरेर पत्रकारको हत्या र सञ्चार गृहमाथि गरिएको आक्रमण नेपाली मिडिया जगतका लागि ठिक हुन सक्दैन । जनतालाई सुसूचित गराउने र विचार निर्माणमा सघाउने प्रेसजस्तो भरपर्दो सञ्चारसंस्थाहरू र सञ्चारकर्मीको ज्यानै जाने गरी यस प्रकारको हमला हुनु घोर आपत्तिजनक, निन्दनीय र भत्र्सनायोग्य कार्य हो । तसर्थ यस्ता अराजक गतिविधिहरु नियन्त्रण गर्न र मृत रजकको घटनाको छानबिन गरी संलग्नलाई कानुनी कारबाही गर्नुुको साथै मिडियामा भएको क्षति र मृतक पत्रकारको परिवारलाई क्षतिपूर्ति दिने विषयमा सरकारले ध्यान दिन जरुरी छ ।