
पाल्पा, सरकारले भोलि (सोमबार) सार्वजनिक बिदा दिने भएको छ । मुस्लिम समुदायको चाड इद उल फितरको अवसरमा बिदा दिने निर्णय भएको गृह मन्त्रालयले एक सूचनामार्फत जानकारी गराएको छ ।
मन्त्रालयका सहसचिव रामचन्द्र तिवारीले आज (आइतबार) सूचना जारी गर्दै भोलि (सोमबार) इस्लाम धर्मावलम्बीहरूले मनाउने ईदको अवसरमा सार्वजनिक बिदा दिने जानकारी दिएका हुन् । सरकारले २०८० माघ २९ गतेको नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै ईद (इद उल फित्र) का दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।
इद उल फितर मुस्लिम समुदायको महत्वपूर्ण चाडमध्ये एक हो । यो चाड इस्लामिक पात्रोअनुसार नवौँ महिना रमजानभर गरिएको उपवास (रोजा) को समापनमा मनाइन्छ । रोजाको दौरान मुस्लिम धर्मावलम्बीहरूले सूर्योदयदेखि सूर्यास्तसम्म भोजन, पानी तथा अन्य भौतिक सुख–सुविधाबाट टाढा रहन्छन् । जानकारहरुका अनुसार, यो अवधिमा आध्यात्मिक शुद्धता, दानशीलता, सहानुभूति, तथा आत्मसंयमको अभ्यास गरिन्छ । नेपालमा मुस्लिम समुदायका लागि इद विशेष हर्षोल्लासका साथ मनाइन्छ ।