
मस्तिष्क र स्नायुकोषको स्वाभाविक विकासक्रममा हुने असमान अवस्थाको रूप अटिजम हो । यसलाई नेपालीमा आत्मकेन्द्रित व्यवहार भनिन्छ । व्यक्तिको मस्तिष्कमा स्नायुकोषको सञ्जालले राम्रोसँग काम नगर्दा सूचना प्रशोधनमा बाधा उत्पन्न हुन गई सामाजिक क्रियाकलाप, सञ्चारसिप र कल्पनाशक्तिको विकासमा असर पुग्छ । जसले गर्दा सञ्चारमा विचलन, सामाजिक रूपमा घुलमिल हुन नसक्ने, पुनरावृत्ति, एकोहोरोपन, इन्द्रियहरूको उतारचढावको फलस्वरूप वातावरण, व्यक्ति र वस्तुप्रति भिन्दै प्रतिक्रिया र व्यवहार देखाउँछन् । बौद्धिक अपाङ्गता वा अटिजम कुनै रोग होइन । मस्तिष्कको एक विशेष अवस्था मात्रै हो । जुन असामान्य र अस्वीकृत व्यवहारका रूपमा देखिन्छ । अटिजम हुनुका कारण र उपचारका क्षेत्रमा धेरै अनुसन्धान भइरहेका छन् । कारण र निर्मूल गर्ने उपाय अझै पत्ता लाग्न सकेको छैन ।
पछिल्लो समय नेपलसहित विश्वभर अटिजमको समस्या बढ्दो छ । अटिजमको बारेमा सचेतना दिने र त्यस्तो समस्या भएका बालबालिकाको विशेष स्याहारमा जोड दिंदै संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष विश्व अटिजम दिवस मनाइने गरिन्छ । नेपालमा अटिजमबाट गुज्रिरहेकाको यकिन तथ्यांक भने छैन । अटिजमको समस्याबाट गुज्रिरहेकाहरुको उपचार र नियन्त्रणका लागि त्यसको तथ्यांक राख्न आवश्यक छ । स्पेक्ट्रम डीसअर्डरका रुपमा लिइने यो स्वास्थ्य समस्याको खतर केटी भन्दा केटाहरुमा ४ गुणाले बढी हुने गरेको पाइएको छ । आमा बुवाको उमेर धेरै भएपछि जन्मिएका बच्चाहरुमा अटिजमको खतरा हुने गरेको छ । यो समस्या जति ढिलो थाहा हुन्छ उनीहरुको उपचारमा पनि झन् ढिलो हुनुको साथै अवस्था जटिल हुँदै जान्छ । यस कारण यो समस्या समयमा पहिचान गर्न सकियो भने जटिलता हुनबाट बचाउन सकिन्छ । यसर्थ समाजमा अटिजम समस्या भएका व्यक्तिहरुको पहिचान गरी उनीहरुलाई तत्काल उपचारमा संलग्न गराउन जरुरी छ ।