Shittalpati
पाल्पामा वैदेशिक रोजगारीमा जाने पाँच हजार बढीले लिए सेवा

पाल्पा, वैदेशिक रोजगारीलाई सुरक्षित र उपलब्धिमूलक बनाउने उद्देश्यका साथ सञ्चालित सुरक्षित आप्रवासन परियोजना (सामी) कार्यक्रम पाल्पामा प्रभावकारी बन्दै गएको छ । तानसेन नगरपालिकाभित्र परियोजना सञ्चालन भएपछि वैदेशिक रोजगारीमा गएका, गएर फर्किएका र जाने तयारीमा रहेका व्यक्ति तथा परिवारका सदस्य यसबाट लाभान्वित भएका हुन् ।

जिल्लामा चालु आर्थिक वर्षको अवधिमा वैदेशिक रोजगारीमा गएका, गएर फर्किएका र जाने तयारीमा रहेका ५ हजार ६२ जनाले सामी कार्यक्रमको सेवा लिएका छन् । विदेश काम गर्न, अध्ययन गर्न गएका र विदेशबाट फर्किएका उक्त संख्याका व्यक्तिहरुलाई परामर्श दिने र आइपरेका समस्या समाधानमा सहयोग गर्ने काम गरेको कार्यक्रम जिल्ला संयोजक दिनेश घिमिरेले बताए । आइतबार तानसेन नगरपालिकाको आयोजनामा भएको सुरक्षित बैदेशीक रोजगारीका लागि पत्रकार तथा सरोकारवालाहरुसँगको अन्तरक्र्रिया तथा अभिमुखीकरण कार्यक्रममा संयोजक घिमिरेले सामी कार्यक्रममार्फत प्रदान गरेका सेवाको बारेमा जानकारी गाराउँदै सेवा लिने बढ्दै गएको बताए ।

उनले वैदेशिक रोजगारीमा जान लागेका, आप्रवासमा रहेका र तिनका परिवारलाई आइपर्ने समस्या र कानुनी सहायता प्रदान गरिर्दै आएको उल्लेख गरे । संयोजक घिमिरेले भने ‘वैदेशीक रोजगारीका क्रममा ठगीमा परेका र शव झिकाउनुपर्ने २४ वटा समस्या चालु आर्थिक वर्षमा जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका छन् । ति मध्ये ८ वटा ठगी र शव झिकाउने केशका समस्या समाधान गर्न सफल भएका छौं ।’ उनका अनुसार अहिले ४ वटा ठगी र १२ वटा क्षतिपूर्तिका केशहरु समाधानका लागि प्रक्रियामा रहेका छन् । यस्तै परामर्श लिने मध्येका १ सय ११ जनाको फलोअफ भइरहेको समेत घिमिरेले बताए । चालुआर्थिक वर्षमा तानसेनबाट एक हजार ३८ जना वैदेशिक रोजगारीमा गएको उनले जानकारी गराए । यो सङ्ख्या यहाँका वडा नं १, २, ३, ४, ५ का नागरिकहरुको तथ्याङ्क हो । उनीहरु श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएकाहरू हुन् । यहाँबाट अध्ययनका लागि ३ सय २९ जना र रोजगारका लागि ५ सय ५९ जना विदेश गएका छन् । ५० जना भने विदेशबाट फर्किसकेका छन् ।

कार्यक्रममा नगर प्रमुख सन्तोषलाल श्रेष्ठले स्वदेशमा नै रोजगारी गर्न र वैदेशिक जाने नै भए सही सूचना लिएर र सिप सिकेर मात्र जान सबैलाई आग्रह गरे । उनले वैदेशिक रोजगारीमा जान लागेका व्यक्तिहरू विदेश जाँदा, रोजगारीमा रहँदा र फर्कंदासम्म भोग्नुपर्ने ठगी तथा अल्झनहरूमा कानुनी तथा व्यावहारिक सहयोग गर्न आप्रवासी स्रोत केन्द्रले काम गर्दै आएको बताए । नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सेनाले सुरक्षित आप्रवासन कार्यक्रमले वैदेशीक रोजगारमा जानेहरुका लागि केही सहज बन्दै गएको उल्लेख गरे ।

उनले आगामी दिनमा सेवालाई थप प्रभावकारी बनाएर लैजान आग्रह गर्दै पाल्पाली मिडियाहरुकोतर्फबाट सेवाका बारेमा आमनागरिकहरुलाई जानकारी गराउने बताए । वैदेशिक रोजगारीलाई प्रभावकारी र सुरक्षित बनाउने उद्देश्यका साथ परियोजनाले कार्य गर्दै आइरहेको नगरपालिकाका सूचना अधिकारी भरत आचार्यले बताए । सुरक्षित आप्रवासन परियोजना (सामी) नेपाल सरकार र स्विस सरकारको सहयोगमा सञ्चालन भइरहेको छ ।

परियोजनाले वैदेशिक रोजगारमा जानेको लागि आवश्यक सिपमूलक तालिमहरू निःशुल्क रूपमा दिनुका साथै, वैदेशिक रोजगार सम्बन्धी चेतनामूलक कार्यक्रमहरू गर्दै आइरहेको छ । यसका साथै वैदेशिक रोजगारीका लागि जाने प्रक्रिया, कानुनी परामर्श लगायत वैदेशिक रोजगार सम्बन्धी सम्पूर्ण कुराहरूको बारेमा जानकारी दिइने गरेको परियोजनाले जनाएको छ । कार्यक्रममा सहभागी पत्रकार तथा सरोकारवालाहरुले सबै स्थानीय तहमा कार्यक्रम पुर्‍याउनुपर्नेमा जोड दिएका छन् । उनीहरुले वैदेशीक रोजगारमा जानेहरुलाई सहज बनाउने मात्र नभई स्वदेशमै बस्ने वातावरण सिर्जना गर्ने दिशामा समेत लाग्न परियोजनालाई आग्रह गरे ।

प्रकाशित मिति: सोमबार, चैत १८, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update