
पाल्पा, नेकपा एमाले पाल्पाले लोकतान्त्रिक गणतन्त्रलाई सफल र सुढृड बनाउन आह्वान गर्दै तानसेनमा मोटरसाइकल र्याली गरेको छ । नेकपा एमाले पाल्पाले पोलिटिव्युरो सदस्य खिमलाल भट्टराईको नेतृत्वमा तानसेनको टँुडिखेलबाट मोटरसाईकल र्याली गरी नगर परिक्रमा गरेको हो ।
एमाले निर्वाचन चिन्ह सूर्य र पार्टी झण्डासहित कार्यकर्ताहरु गणतन्त्रको पक्षमा नाराबाजी गर्दै मोटसाइकल र्यालीमा सहभागी भए । तानसेनको टुँडिखेल, भिमसेनटोल, नारायाणस्थान, मेहलधारा, गैरागाउँ, भुसालडाँडा, शिवालय, भगवतीटोल, अशनटोल, मखनटोल, सिल्खानटोल टक्सार हुँदै पुनः टुँडिखेलमा पुगेर मोटरसाइकल र्याली कोषसभामा परिणत भएको थियो । एमाले कार्यकर्ताहरुले, अराजकता चाहिदैन, शान्ती सुरक्षा कायम गर, तिनकुने घटनाका दोषीहरुलाई कारवाही गर, राजतन्त्र चाँहिदैन जस्ता नारा लगाउँदै र्याली गरेका थिए ।
कोणसभालाई सम्बोधन गर्दै एमाले पोलिटिव्युरो सदस्य खिमलाल भट्टराईले दुई/चार जना बोल्दै, लुटतन्त्र मच्चाउँदैमा, अराजक गतिविधी गर्दैमा सजिलै गणतन्त्र हटेर राजतन्त्र नआउने ठोकुवा गरे । राजावादीहरुले पैसाको भरमा, गुण्डागर्दीको भरमा, सार्वजनिक तथा व्यक्तिगत सम्पत्ति तोडफोड लुटपाट तथा हत्या हिंसाको भरमा राजतन्त्र ल्याउन खोज्नु मुर्खता मात्र भएको एमाले स्थायी कमिटी सदस्य भट्टराईले बताए । कुनै पनि व्यवस्था, विधि, प्रक्रिया, जनमतको आधारमा मात्र परिवर्तन हुने भएकाले राजावादीको अराजक गतिविधीले गणतन्त्र अझै बलियो भएको उनको भनाई छ । कोणसभालाई सम्वोधन गर्दै नेकपा एमालेका अध्यक्ष ओमबहादुर घर्तीमगर, सचिव रामजी पोखरेल लगायतले लोकतान्त्रिक गणतन्त्रलाई सफल र सुढृड बनाउन जिल्ला–जिल्लाबाट राजनीतिक कार्यकर्ताहरुले सक्रिय भूमिका खेल्ने बताए । लोकतान्त्रिक गणतन्त्रमा मात्र सबैको अधिकार सुनिश्चित हुने भएकोले गणतन्त्रको विकल्प गणतन्त्र नै भएको एमाले कार्यकर्ताले जोड दिए ।