Shittalpati
आज ‘अप्रिल फूल’

पाल्पा, आज अप्रिल १ अर्थात् अप्रिल फुल । प्रत्येक वर्ष अप्रिल महिनाको १ तारिखको दिन झुटो बोलेर, ख्याल ठट्टा गरेर यो दिन रमाइलो गरिन्छ । यस दिनलाई विश्वका कयौँ देशमा ‘अप्रिल फूल’ को रुपमा मनाउने गरिन्छ । नेपालीमा ‘मूर्ख दिवस’ भन्ने गरिएको छ ।

आफ्ना साथीसंगी, छिमेकी तथा परिवारका सदस्यसँग ठट्टा गर्ने, उनीहरुलाई हुँदै नभएको कुरा सुनाएर मनोरञ्जन गर्ने तथा दुःख दिएर मूर्ख बनाउनेलगायतका गतिविधि गरेर अप्रिल फूल अर्थात मूर्ख दिवस मनाउने गरिन्छ । सबैले एकअर्कालाई मूर्ख बनाएर यो दिन रमाइलो गर्छन् । अप्रिल फूल किन, कहिले र कसरी मनाउन थालियो भन्ने विश्वासिला कारणहरु भेटिँदैनन् । प्रायः मानिसको धारणा मुर्ख दिवसको जन्मस्थान फ्रान्स हो भन्ने छ । फ्रान्सको राजा चाल्र्स नवौँले सन् १५८२ देखि अप्रिल महिनाको पहिलो तारिखलाई अप्रिल फूल अर्थात एकले अर्कोलाई मूर्ख बन्ने र बनाउने कार्यको थालनी गरेका थिए । त्यतिबेला ग्रेगोरियन क्यालेण्डर अनुसार नयाँ वर्ष मार्च २५ तारिखका दिनदेखि अप्रिल १ सम्म नयाँ वर्षको रुपमा मनाउने गरिन्थ्यो ।

तर, जसले जनवरी १ मा नयाँ वर्ष मनाउन थाले । उनीहरूले अप्रिल १ मा नयाँ वर्ष मनाउनेहरूलाई मूर्ख बनाउन थाले । त्यसपछि अप्रिल १ का दिन झुक्काउने दिनको रुपमा मानिन्छ । यो दिनमा मानिसलाई झुक्याउँदा हाँसो ठठ्टा को रुपमा रमाइलो हुने गर्दछ । नेपालमा पनि अप्रिल फूल मनाउने प्रचलन छ । यो दिन एकअर्कालाई हानी नपुग्नेगरी रमाइलोका लागि एक छिनलाई मूर्ख बनाएर मनाइन्छ ।

प्रकाशित मिति: मंगलबार, चैत १९, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update