Shittalpati
यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुको गुनासो : ‘पहिचान सहितको अधिकार प्राप्त गर्न अझै संघर्ष गर्नु परेको छ’

पाल्पा, यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायले संविधानमा व्यवस्था भएअनुसार पहिचान सहितको अधिकार प्राप्त गर्न नसकेको गुनासो गरेका छन् । साहसी कदम नेपालको आयोजना र तानसेन नगरपालिकाको आयोजनामा सोमबार तानसेनमा भएको यौनिक तथा अल्पसंख्याक समुदायको तथ्याङ्कको लागि अन्तक्र्रिया र सचेतना कार्यक्रममा उनीहरुले पहिचान सहितको अधिकार संविधानमा व्यवस्था भए पनि अझै संघर्ष गर्नु परेको बताएका हुन् ।

साहसी कदम नेपालकी संस्थापक अध्यक्ष तथा यौनिक अल्पसंख्यक महिला हसिना क्षेत्रीले सरकारले पहिचान सहितको अधिकार संविधानमा उल्लेख गरे पनि प्रभावकारी कार्यान्वयन नगर्दा आफूहरूले समस्या भोग्नु परेको बताइन् । उनले आफुहरुको मुख्य लडाइँ पहिचान र समावेशिताको भएको उल्लेख गरिन् । कार्यक्रममा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको परिभाषा, उनीहरुको लैङ्गिक स्वभाव, कानुनी प्रावधान र शब्दावलीसम्बन्धी प्रस्तुतीकरण गर्दै संस्थाकी कार्यक्रम निर्देशक रेसम न्यौपानेले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायमाथिको बुझाईमा केही परिवर्तन आएको र सो समुदायलाई स्वीकार गरिए पनि अझै विभेद र लाञ्छनाको अन्त्य नभएको बताइन् । उनले संविधानले नागरिकता पाउने हक सुनिश्चित गरे पनि नागरिकता लिनै सकस रहेको गुनासो गरिन् । न्यौपानेले नागरिकता लिन जाँदा मेडिकल जाँच गरेर पहिचानसहितको रिर्पोट लिएर आउनु भनेर फर्काइने गरेको र अनावश्यक प्रश्नको सामना गर्नुपरेको बताइन् ।

उनले भनिन्‘ स्वास्थ्य परीक्षण गर्नुपर्ने विषयमा हाम्रो आपत्ति होइन, तर परीक्षण गराउन जाँदा ५/६ जना डाक्टर वरीपरी बसेर हामीलाई नाङ्गै हुन लगाइन्छ, र पालैपालो हाम्रा यौनाङ्ग खेलाइन्छ । त्यसपछि मात्र कागज लेखेर पठाइन्छ ।’ यस्तो यातना सहनु परेको उनको गुनासो छ । सामान्यतया कोही व्यक्ति शारीरिक रूपमा पुरुष भएर जन्मिए पनि भावनात्मक र अन्य हिसाबले आफूलाई महिलाका रूपमा मान्छ या कोही शारीरिक रूपमा महिलाका रूपमा जन्मिएर पनि भावनात्मक र अन्य हिसाबमा आफूलाई पुरुष ठान्छ भने उनीहरु लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदाय भित्र पर्ने गरेको संयोजक न्यौपानेले बताइन् । शरीर एक र आत्मा अर्को भएर जन्मनुमा न त उनीहरुको दोष हुन्छ न त उनीहरुको अविभावकको, फरक खालको यौन अभिमुखीकरण र लैङ्गिक पहिचान भएका कारण यौनिक तथा अल्पसंख्यक समुदायका व्यक्तिहरुमाथि विभिन्न लाञ्छना र अमानवीय व्यवहार हुने गरेको उनको गुनासो छ । हाम्रो समाजले अहिले पनि यो समुदायलाई स्वीकार गर्न नसकेको न्यौपानेले बताइन् । लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक भन्नाले लेस्बियन (महिला समलिङ्गी), गे (पुरुष समलिङ्गी), बाइसेक्सुअल (उभयलिङ्गी), ट्रान्सजेन्डर (पारालिङ्गी पुरुष/महिला), इन्टरसेक्स (अन्तरलिङ्गी), असेक्सुअल (प्रत्यक्ष लिङ्ग वा लैङ्गिक इन्द्रिय नभएको) आदि समुदाय पर्दछन् । जसलाई छोटकरीमा ‘एलजिबिटिआइक्युए’ भन्ने गरिएको उनको भनाई छ । यो समुदाय खासगरी लैङ्गिक पहिचानसहितको जन्म दर्ता, नागरिकता तथा राहदानी, विवाह र प्रमाणपत्रको समस्याबाट पीडित रहेको न्यौपानेले बताइन् । आफ्नो लैङ्गिक पहिचानको संघर्षमा धेरै अगाडि बढिसकेपनि अझै आफ्नो परिवारले साथ नदिएको उनी सुनाउँछिन् । 

न्यौपानेले भनिन्‘ पितृसत्तात्मक सोच भएको व्यक्तिहरुमाझ हुर्कँदा मेलै धेरै कुरा भोग्नु परेको छ । शरिर पुरुषको तर आत्मा र भावना महिलाको भएपछि मेलै महिलाको पहिरन लगाँउदा मेरो आयु छोटो हुन्छ भन्ने जस्ता कुरा पनि सुन्नु पर्‍यो ।’ आफ्नो समुदाय माथि हुने सबैखाले विभेद अन्त्य गरी सम्मानजनक रूपमा बाँच्न पाउने अधिकार सुनिश्चितताका लागि तीनै तहका सरकारले ध्यान दिनुपर्नेमा उनले जोड दिइन् ।

कार्यक्रममा तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले तेस्रो लिङ्गीहरुको समस्याप्रति नगर सरकार गम्भीर रहेको बताए । उनले यौनिक अल्पसंख्याहरुको लागि स्थानीय सरकारको नीति, कार्यक्रम तथा बजेटमै समावेश गर्दै आएको र आगामी दिनमा पनि बजेट विनियोजन गर्दै जाने उल्लेख गरे । उपप्रमुख प्रतिक्षा सिंजालीले सचेतनामूलक कार्यक्रम प्रभावकारी बनाएर लैजान सके समाजमा यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरु प्रति हेर्ने दृष्टिकोणमा परिवर्तन हुने बताइन् । उनले संविधानमा व्यवस्था भए बमोजिम यो समुदायको अभियानमा नगर सरकारले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन् । नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पिताम्वर पाण्डेयले यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुहरुमा समाज र देशका लागि योगदान दिन सक्ने क्षमता रहेको बताए । उनले समुदायमा खुलेर हिड्न समेत आग्रह गरे ।

कार्यक्रममा साहसी कदम नेपालकी सदस्य इन्द्रा देवी सारु मगरले आफु यौनिक अल्पसंख्याक नभए पनि उनीहरुसँग राम्रो संगत रहेको बताइन् । उनले यस्ता समुदायका व्यक्तिहरुलाई समस्या पर्दा सहयोग गर्ने हुँदा आफुलाई साथीहरुबाट नराम्रो दृष्टिकोणले हेर्ने गरेको समेत गुनासो गरिन् । सारुले भनिन् ‘साथी, संघसंस्थाहरु छोडे तर यी समुदायका व्यक्तिहरुलाई सहयोग गर्न छोडेकी छैन, अहिले संस्थाको लागि कार्यालय समेत मेरै घरमा राख्न निशुल्क दिएकी छु ।’ पाल्पा संयोजक तथा यौनिक अल्पसंख्यक महिला सानु खनालले पाल्पामा पनि थुप्रै यौनिक अल्पसंख्यकहरु भएकाले उनीहरुलाई बाहिर ल्याउने प्रयास गरिएको बताइन् । उनका अनुसार अहिले जिल्लामा २२ जना खुलेर बाहिर आएको बताइन् । कार्यक्रम संस्थाकी संस्थापक अध्यक्ष सहिसना क्षेत्रीको अध्यक्षता, व्यवस्थापक सुमन थापाको सञ्चालनमा कार्यक्रम भएको थियो । संस्थाले सोमबार नै पारलैङ्गिक दृश्यताको अन्तर्राष्ट्रिय दिवस परेकाले सोही कार्यक्रम गरेको जनाएको छ । उसले पञ्चेबाजासहित नगर परिक्रममा, सचेतनामूलक नाटक समेत देखाएको थियो ।

प्रकाशित मिति: मंगलबार, चैत १९, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update