नेपालमा कोरोना भाइरसको प्रभाव दिनप्रति दिन बढ्दै गएको छ । संक्रमितको संख्या ३२ सय ३५ भन्दा बढी पुगेको छ भने मृत्यु हुनेको संख्या १३ पुगेको छ । यी १३ जनाकै मृत्युको वास्तविक कारण कोरोना नै हो त ? विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार यी १३ जनाको मृत्युको कारण कोरोना नै हो भन्ने सरकारले पुष्टि गरिसकेको त छ, तर पनि मृत्युपछि मात्रै कोरोना पुष्टि हुने गरेका कारण यसको वास्तविक कारण खोज्नु स्वाभाविक नै हुन्छ । सिन्धुपाल्चोककी पहिलो मृतक महिलाको मृत्युपछि कोरोना परीक्षण गरियो, बाँके, पाल्पा बुटवल, लगायतका जिल्लामा पनि कोरोनाका कारण मृत्यु भएका भनिएका व्यक्तिहरुको मृत्युपछि मात्र परीक्षण गरी कोरोना पुष्टी भयो । यो अत्यन्त दुःखको विषय हो ।
सरकारले परीक्षणको दायरालाई व्यापक बनाउन नसक्नुको परिणाम हो भन्दा फरक नपर्ला । मृत्यु भइसकेपछि मात्रै कोरोना संक्रमण पुष्टि हुनु आफैमा दुर्भाग्य हो । मृत्यु हुनुअघि नै संक्रमण भए नभएको पत्ता लगाउने संयन्त्र विकास गर्न सके संभवत यस्तो अवस्था सिर्जना हुने थिएन । यस विषयमा सरकार गम्भीर बन्नु पर्दछ । मृत्यु भइसकेपछि मात्रै कोरोना पुष्टि हुने हो भने उपचारमासंलग्न स्वास्थ्यकर्मी, मृतकका परिवार र आफन्तमा संक्रमण हुने उच्च जोखिम रहेको छ । त्यसैले यि र यस्ता विषयमा गम्भीर भएर सोंचिएन भने नेपालमा कोरोना संक्रमणले भयावह रूप नल्याउला भन्न सकिदैन । नेपालमा कोरोनाका कारण अहिलेसम्म मृत्यु भएका व्यक्तिमा गरिएको कोरोना पुष्टिलाई एकपटक मूल्यांकन गरेर मृत्युको वास्तविक कारण के हो भन्ने एउटा आँकडा निकाल्न जरुरी छ ।
जसले गर्दा आगामी घटनामा सहज हुनेछ । कतिपय मृतकमा कोरोना संक्रमण देखिए तापनि उनीहरूमा अन्य घातक रोग नदेखिएका पनि होइनन् । हरेक संक्रमितको मृत्यु भइसकेपछि मात्रै कोरोना पत्ता लाग्ने हो भने यसको संक्रमण दर कल्पना गरेभन्दा निकै जटिल हुने देखिन्छ । तसर्थ सरकारले कोराना लक्षण देखिएर क्वारेन्टाइन, आइसुलेशनमा राखिएका नागरिकहरुको तत्कालै परीक्षण गर्नुपर्छ । अन्यथा मृत्युपछि मात्रै परीक्षण गरी संक्रमण पुष्टि गर्ने हो, संक्रमणको उच्च खतरा हुन सक्ने देखिन्छ ।