
पाल्पा, अन्तर्राष्ट्रिय विकास र शान्तिको लागि खेलकुद दिवस नेपालसहित विश्वभर आज मनाइँदैछ । हरेक वर्षको अप्रिल ६ तारिखमा सामाजिक परिवर्तन, समुदाय विकास र सबैमा शान्तिको भावना उजागर गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय विकास र शान्तिको लागि खेलकुद दिवस मनाउने गरिन्छ । संयुक्त राष्ट्र सङ्घको साधारण सभाले सन् २०१३ देखि यो दिवस मनाउन सुरु गरेको हो ।
खेलकुदका माध्यमबाट विश्वभरको गरिबी उन्मूलन, असमानतारहित, सुन्दर र शान्त समाजको सन्देश प्रवाह गर्नका लागि हरेक वर्ष विश्व खेलकुद दिवस मनाउने गरिन्छ । खेलकुद एउटा विश्वब्यापी भाषा हो, यो समाजमा हुनेगरेको सबै किसिमको भेदभावबाट मुक्त हुन्छ । खेलकुदले युवा महिला र पुरुष जनसंख्या, व्यक्तित्व र समुदायहरूको साथसाथै स्वास्थ्य, शिक्षा र सामाजिक उद्देश्यहरूको सशक्ततालाई प्रोत्साहन पनि गर्दछ । यूएनका साथै अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी, इन्टरनेसनल युनिभर्सिटी स्पोर्टस, एफआईए फाउन्डेसन, इन्टरनेसनल काउन्सिल अफ स्पोर्टस साइन्स एन्ड फिजिकल एजुकेस नलगायत खेलकुद सम्बन्धी अन्तर्राष्ट्रिय निकायहरूले समेत यो दिवस मनाउन विश्वव्यापी आह्वान गरेका थिए ।
समाजमा सामाजिक परिवर्तन, सामुदायिक विकास र शान्ति तथा आपसी समझदारी स्थापनामा खेलकुदलाई माध्यम बनाउनका लागि वार्षिक रूपमा यो दिवस मनाउन थालिएको हो । नेपालमा पनि २०१५ यता यो दिवस निरन्तर रूपमा मनाइँदै आएको छ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीसँगको सहकार्यमा यूएनले विश्वव्यापी रूपमा मनाउने यो दिवस नेपालमा पनि मनाइँदै आइएको हो । नेपालमा हरेक वर्ष यो दिवस मनाइए पनि खेलकुद विकासमा देखिएका समस्याहरु भने जस्ताको तस्तै छन् । सरकारले खेल दिवसका लागि ठूलो मात्रमा बजेट विनियोजन गरे पनि त्यसको सहि सदुपयोग भने हुन सकेको छैन । खेलकुद नीतिको अभाव र निषेधको राजनीतिका कारण नेपालमा खेल क्षेत्रको विकास हुन नसकेको हो । मुलुकमा हरेका क्षेत्रमा विकासका प्रचुर सम्भावना छरिएर रहेजस्तै खेलक्षेत्र मात्र अपवाद रहन सक्दैन ।