
पाल्पा, बढ्दो आधुनिकताको प्रभावसँगै मौलिक संस्कृति लोप हुने खतरा बढेपछि तानसेनका नेवार समुदायका व्यक्तिहरु संरक्षणमा जुटेका छन् । मौलिक परम्परा र संस्कृतिलाई संरक्षण गर्दै नयाँ पुस्तासम्म पुर्याउन उनीहरु यसको संरक्षणमा जुटेका हुन् ।
नेवार समुदायले परापूर्वकालदेखि मान्दै आएका संस्कार,संस्कृति र परम्परालाई जीवन्त राख्न यहाँका नेवार समुदायरु संगठीत रुपमा लागेका छन् । मौलिक खानाका परिकारसहित परम्परागत रुपमा ख्वाइने भोजलाई बफेट पार्टीले विस्थापन गर्न लागेको अवस्थामा नेवार समुदाय संगठीत बरजु गुठी पाल्पाले शनिबार एक दिने नेवारी मौलिक भोज ‘नेवाः भ्वय्’ आयोजना गर्यो । नेवार समुदायको बाक्लो बसोवास रहेको तानसेन –३ टक्सारटोलको रातो घरमा गुठीले मौलिक भोज आयोजना गरेको हो । भोजमा लस्करै बसेर लगभग एक हजार पाँच सय जनाले सामूहिक नेवारी भोज खाएका थिए ।
नेवारी भाषामा ‘झ्व भ्वय्’ ले ‘लस्करै बसेर खाने भोज’ लाई बुझाउँछ । सहभागीमध्ये ज्येष्ठ सदस्यले खान सुरु गरेपछि मात्र अरूले खाने चलन रहेको छ । सोही अनुसार ज्येष्ठ नागरिक तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले खान सुरु गरेपछि अन्य सहभागीहरुले खाएका थिए । खानु अघि गुर्जु चिनियामान बज्राचार्य र नगर प्रमुख श्रेष्ठले नेवारी परम्परा अनुसार पुजा गरेर शुभारम्भ गरेका थिए । भोजको शुभारम्भ गर्दै नगर प्रमुख श्रेष्ठले लोप हुन लागेको नेवार संस्कार र संस्कृतिको संरक्षणमा गुठीले देखाएको सक्रियता प्रशंसनिय रहेको बताए । नेपाल सबै जातजातिहरुको बगैँचा भएको भन्दै नेवार त्यसमा पनि उत्कृष्ट संस्कृति भएको जातीमा पर्ने उनले उल्लेख गरे ।
परम्परागत नेवारी संस्कृति संरक्षण, संवद्र्धन र विकाससँगै मौलिकपनलाई चिरकालसम्म बचाइराख्न यस्ता कार्यक्रम सहयोगी बन्ने उनले विश्वास व्यक्त गरे । भोजमा सहभागी हुन पुगेकी नगरपालिकाकी उपप्रमुख प्रतिक्षा गाहा सिंजालीले खाना बस्दादेखि उठ्दासम्म नेवारी संस्कारले आफ्नो मन छोएको बताइन् । उनले भनिन् ‘संस्कार एकातिर थियो भने खानाका परिकार समेत स्वास्थ्यवर्द्धक रहेको पाइयो, यस्ता सन्तुलित र वैज्ञानिक खाना हाम्रो शरिरका लागि फाइदाजनक समेत लाग्यो ।’ उपप्रमुख सिंजालीले यस्ता परम्परागत भोजको पुस्ता हस्तान्तरण गर्दै जाने र यसको प्रचार–प्रसार गरी तानसेन आउने आन्तरिक तथा बाह्य पर्यटकहरु भित्र्याउन सकिने बताइन् । उक्त भोजमा सहभागी हुन पुग्ने जो कोही व्यक्तिहरु नेवारी भोजन र संस्कार देख्दा दंग थिए । यो समुदायको भोज खाने आफ्नो छुट्टै नियम रहेको छ । सोही नियममा रहेर त्यहाँ पुग्नेहरुले भोजन गरेका थिए । नेवाः भोजमा सहभागीहरुलाई सुकुलमै पलेंटी कसेर खाना राखिएको थियो । सुकुलको सबैभन्दा माथि ज्येष्ठ नागरिकलाई राखिएको थियो । भोज सालको पात (लप्ते) मै खुवाइएको हो ।
लप्तेमा भोजको प्रारम्भिक परिकारहरू राखिसकेपछि सबैभन्दा पहिले ज्येष्ठ नागरिकले खान सुरु गरे । त्यसपछि मात्रै अरूले खान सुरु गरे । यो भोजमा तीन चरणसम्म दोहोरिँदै परिकार राख्न ल्याइएको थियो । सुरुमा सालको पातको लपेस (लप्ते) मा खानाका परिकार राखेर “भ्वय छुयगु” भनेर सुरुवात गर्ने गरिएको थियो । यसरी राखेको भोजमा मानिसहरू बस्न थालेपछि “द्यः छायगु” भनेर देवतालाई चढाउने गरिन्छ । भोज खान सुरु गरेपछि पहिला संक/वास (रक्सी) यसैक्रमले पात÷ल्हापा, चिउरा÷ फिनी, छोइला, केराउ, राखिएको थियो । दोस्रो पटक चिउरा, पंचकोल, आलु,तामा,गोबी, खसीको मासु, मटर, पनिर, चुकाउनी, अचार, मेथी क्वा, वास राखिएको थियो । तेस्रो पटक वाउँचा (साग), भुटुवा, चिउरा, चिनी, दही, फलफूल, केराउ, सिन्का, वास राखेपछि भोज सकिने गर्दछ । यसरी परिकार राख्दा पहिलो चरणमा के–के राख्ने, दोस्रो, तेस्रो र चौथोमा के–के राख्ने भन्ने पनि नियमबद्ध विधान छ । अन्त्यमा फलफूल र दही राखिन्छ । भोज सकेपछि दाँत कोट्याउने सिन्का (खौका) समेत दिइएको थियो । खौका लिएपछि भोज सकिन्छ । तर, ‘सकियो’ भनेर झ्वाट्ट उठ्न पाइँदैन ।
पहिलो लाइनका ज्येष्ठ नागरिकहरू उठेपछि मात्रै अरू उठ्ने हो । गुठीका विनयराज बज्राचार्यले खानाको नियमबारे भोजमा सहभागीहरुलाई जानकारी गराएका थिए । नेवारी संस्कार र संस्कृति जर्गेनाका लागि सहभागिहरुबाट न्युनतम शुल्क लिइएको थियो । लोप हुन लागेको नेवारी मौलिक खाना र संस्कारको संरक्षण गर्न एक दिने नेवाः भोज राखिएको गुठीका अध्यक्ष प्रविन बज्राचार्यले बताए । ‘हामी स्थानीयस्तरबाट नै आफ्नो संस्कार संस्कृतिलाई बचाउन जुटेका छौँ”, अध्यक्ष बज्राचार्यले भने, “सस्कृतिको जगेर्ना गर्दै नयाँ पुस्तालाई आफ्नो संस्कृति, पराम्परा सिकाउँदै आएका छौँ ।” आगामी दिनमा पनि यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिदै जाने गुठीका उपाध्यक्ष दिनेश बहादुर बज्राचार्यले बताए ।
यहाँका करिब ६ सय घर परिवार नेवार समुदाय रहेका छन् । जहाँ एक सय जना युवाहरु गुठीमा आवद्ध रहेर संस्कृति संरक्षणमा लाग्दै आएको गुठीका महासचिव धिरजबहादुर बज्राचार्यले बताए । “नेवार समुदायको छुट्टै कला, संस्कार ,संस्कृति रीतिरिवाज छ”, उनले भने, “कतिपय परम्परा लोप हुँदै गएको अवस्था छ । यस्ता परम्पराको संरक्षणमा हामी जुटेका छौँ । मौलिक कुराको सरक्षण गर्नु नयाँ पुस्ताको दायित्व पनि हो ।” गुठीले पहिलो पटक २०७१ म नेवारी मौलिक भोज गराएको महासचिव बज्राचार्यले बताए । भोजमा २४ प्रकारका खानेकुराहरु बनाइएको कार्यक्रम संयोजक बाबुरत्न शाक्यले बताए । सोही अवरमा विभिन्न नेवारी कला संस्कृति समेत प्रदर्शन गरिएको थियो ।
नेवा संस्कारसँगै विकास भएको यस्तो प्रकारको भोज नेवार समुदायमा मनाइने विभिन्न संस्कारहरू जस्तैकी विवाह, व्रतबन्ध, इहि, बार्हा भोजका साथै जन्म संस्कार, मृत्यु संस्कारहरूमा समेत खुवाउने गर्दछ । शारीरिक रूपमा एकदम स्वास्थ्यकर रहेपनि आधुनिक समाजमा चलेको बफे भोज र सुकु भोज गर्नका लागि बढी मान्छेहरूको आवश्यकता पर्ने भएका कारण यस प्रकारको भोज सङ्कटमा पर्न थालेको छ । चौरासी व्यञ्जनले युक्त यस भोज वैज्ञानिक दृष्टिकोणले समेत उपयुक्त रहेको छ । जसमा प्रोटिनको लागि मासु, गेडागुडी, कार्बोहाइड्रेटको लागि चिउरा, आलु, भिटामिनको लागि हरियो साग, काउली, दही, एसिडिटीको लागि लसुन, कफको लागि अल्कोहल, प्रेसरको लागि मेथी, पाचनको लागि अमिलोको झोल खाने गरिन्छ ।