
पाल्पा, दुई शीत कृति लोकार्पण गरिएको छ । शीत काव्य समाज नेपालको आयोजनामा ‘प्रकृति’ र ‘ईश’ कृति काठमाडौंमा लोकार्पण गरिएको हो ।
साहित्यकार सत्यनारायण ढकालद्वारा लिखित ‘प्रकृति’ र साहित्यकार भोजभक्त कँडेलद्वारा लिखित‘ ईश’ कृतिको प्रमुख अतिथि शिक्षाविद्, लेखक, मानार्थ शीत ईश्वर लव जोशीले एक औपचारिक कार्यक्रमकाबिच लोकार्पण गरेका हुन् । कृति लोकार्पण गर्दै उनले जन्मभूमि पाल्पाबाट परिकल्पना गरिएको शीतको व्यापकता बढ्दो रहेको बताए । जोशीले नेपाली साहित्य क्षेत्रमा शीतले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गरे । शीत काव्यको भविष्य सुन्दर रहेकाले सोही अनुसार लाग्न साहित्यकारहरुलाई उनले आग्रह गरे । दुवै कृतिमाथि परिकल्पनाकार पुष्कर अथक रेग्मीले समीक्षा गरेका थिए । हालसम्म शीतका पन्ध्रवटा कृति प्रकाशित भइसकेका छन् भने शीत कल्प कृति प्रकाशित गरि दशजना शीत ईश्वरको पदवीद्वारा विभुषित भइसकेका छन् ।
प्रकृति शीत कृति प्रकाशित गरेसँगै लेखक ढकाल नवौं शीत ईश्वर बनेका छन् भने ईश शीत कृति प्रकाशित गरी कँडेल दशौं शीत ईश्वरको रूपमा प्रतिष्ठापित भए । सुख शान्ति मिडियाको संयोजनमा भएको कार्यक्रममा शीत वाचन र गायिकाहरू दीपा दियाली र रेणु दुलालद्वारा शीतगायन हुनुका साथै कृतिका लेखकहरू, नोवेल साकोसका संस्थापक राजन न्यौपाने, घुम्ती मुक्तकका अध्यक्ष निर्मल रमण पराजुली, आगोका परिकल्पनाकार दीर्घबहादुर चन्द, सुसेली प्रवर्तक दुर्गा अधिकारी भमरकोटे,उतार प्रवर्तक टंक बहादुर बजगाइँ, आधुनिक साहित्य परिषदका अध्यक्ष मुरली प्रसाद ढकाल लगायतले कृति सफलताको शुभकामना व्यक्त गरेका थिए ।
शीत काव्य समाज नेपालका अध्यक्ष प्रथम शीत ईश्वर कृष्ण केसीले निकट भविष्यमै शीत ईश्वरहरू सहितको र्याली सहित शीतयात्रा आयोजना गर्ने योजना बनाइएको बताए । समाजका केसीको अध्यक्षता, महासचिव दामोदर ढकालको सञ्चालनमा कार्यक्रम भएको थियोे ।