Shittalpati
वनै खायो डढेलोले... !
पाल्पाको रिब्दीकोट गाउँपालिका– १ र २ को सिमानामा पर्ने संसारकोट जङ्गलमा लागेको डढेलो निभाउँदै नेपाली सेनासहित नेपाल प्रहरी, सशस्त्र प्रहरी ।

पाल्पा, जिल्लाका अधिकांस ज·ल डढेलोले खाएको छ । लामो समयसम्म पानी नपरेर खरेडी परेकाले यहाँ दिनदिनै डढेलोले सखाप पारेको हो । हालसम्म यहाँका ३६ वटा ज·लमा लागेको डढेलोले ७ सय ११ हेक्टर क्षेत्रफल सखाप पारेको छ ।

केही दिन यता जिल्लाका तिनाउ गाउँपालिका–३, झुम्साको खुलखुले सामुदायिक वन, झुम्साकै बसन्तपुर नजिक ओढारखोला, सरागखोला, कचलको काम्लेटटरी, मसिना, सिद्धचुहार, तरुले सामुदायिक वन, झिँगामारा, रिङ्सिंङ् वन, तिनाउ गाउँपालिका–२, को सुकेताल र खुर्साने नजिकैको जङ्गल, रम्भा गाउँपालिका अन्तर्गत पर्ने रिमिघाडाँडा जङ्गल, रिब्दीकोट गाउँपालिकाको पालुङ सामुदायिक वन लगायतका जङ्गलमा डढेलो लागि रहेको छ । यस्तै निस्दीको ज्यामिरेस्थित अरुणखोलास्थित जङ्गल, ज्यामिरेको वेभोके, बतासा, मठेखर्क, क्षेत्रीखर्क, माथागढीको रहवास, हात्तीलुङ लगायतका स्थानमा पनि डढेलो लागेको छ ।

डढेलो लागेका वन क्षेत्रका नयाँ बिरुवा डढेर खरानी बनेका छन् । डढेलोले वयस्क र पुराना रुख पनि मारेको छ । चैत लागेसँगै बढेको डढेलोले वन क्षेत्र उजाड बनेको छ । डढेलोले रुख, बिरुवा सखाप हुनुको साथै नजिकका बस्ती पनि आगलागीको उच्च जोखिममा छन् । यसपालि हिउँदे वर्षा नभएको हुँदा डढेलो झन् फैलिएको स्थानीय बताउँछन् । हिउँदे वर्षाले रुख, बिरुवाले झारेका पातपतिङ्गर भिजाउँदा आगो ढिलो फैलने विगत अनुभव सम्झँदै वन क्षेत्र नजिकका बासिन्दा यसपालि हिउँदे वर्षा नहुँदा चैत मध्यभित्रै डढेलोले विकराल रूप लिएको बताउँछन् ।

अधिकांस डढेलो लागेको ज·ल नजिकै वस्ती रहेका छन् । ति वस्तीमा हावाहुरीले कुनै पनि समय डढेलो बस्तीमा छिर्ने डरले स्थानीय रातभर सुत्न सकेका छैन । हरेक वर्ष लाग्ने आगोका कारण रातभर निदाउनै नसकिने रिब्दीकोटकी भिमा कार्की बताउन्छिन् । ‘अघिल्लो वर्ष नजिकैको जंगलमा लागेको आगो बस्तीमा पसेको थियो, आगोबाट बल्ल बल्ल बस्ती जोगाउन सफल भए पनि पटक–पटकको डढेलोले रातमा निन्द्रा नै लाग्दैन्’ उनले भनिन् ।

अहिले पनि यहाँ आगो लागेको थियो । ‘पहिले छिमेकीको घर जलेको थियो कतै आफ्नो जल्ने त होइन भन्ने पिरले अहिले पनि सताउँछ’ कार्की भन्छिन् ‘के गर्नु विपत्तिको अगाडि कसैको केही लाग्दो रहेन छ ।’ घरमा एक्लै बस्दै आएकी कार्की डढेलोका कारण निकै पिरोलिएकी छन् । दिनहुँ जस्तो भगवानलाई सम्झिदै बस्नु परेको उनी बताउन्छिन् ।

यहाँका स्थानीयले बस्ती जोगाउन सफल भए पनि जङ्गल, केही घर, गोठ र मानवीय क्षति भने भएको छ । हालसम्म जङ्गलमा लागेको डढेलो निभाउने क्रममा एक जनाको मृत्यु भएको र १६ वटा घर, गोठ जलेको डिभिजन वन पाल्पाका प्रमुख नारायणदेव भट्टराईले बताए । सामुदायिक वनमा लागेको डढेलो नियन्त्रणमा लिन प्रयास गरे पनि आगो पूर्णरुपमा ननिभ्दा हावाहुरीले पुनः सल्किने समस्या रहेको उनले बताए ।

डढेलो नियन्त्रणका लागि डिभिजन वन कार्यालयले मातहतका कार्यालय, सामुदायिक वन उपभोक्ता महासङ्घ, सामुदायिक वन, स्थानीयबासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय निकायले दैनिक जसो नियन्त्रणको प्रयास गरे पनि सफल हुन सकेको छैनन् । सुख्खा मौसम तीब्र गतिमा चलेको हावाहुरी, चुरे तथा महाभारत क्षेत्रको भू–बनोटले गर्दा डढेलो नियन्त्रण बाहिर गएको डिभिजन वन कार्यालयले जनाएको छ । पाल्पाका १० स्थानीय तहका ८१ वडामध्ये ३९ वटा वडा वन डढेलोको उच्च जोखिममा छन् । २६ वडा मध्यम र १६ वडा न्यून जोखिममा रहेका छन् ।

प्रकाशित मिति: मंगलबार, चैत २६, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update