Shittalpati
‘नागरिकमा भरोसा सिर्जना गर्ने काम अब काँग्रेसले गर्छ’

गुल्मी, नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नागरिकमा भरोसा सिर्जना गर्ने काम अब काँग्रेसले गर्ने बताएका छन् । नेपाली काँग्रेस गुल्मीको तेस्रो जिल्ला अधिवेशनलाई मंगलबार तम्घासमा सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन् ।

उनले देशको भ्रष्टाचारलाई सफा गरी जनतालाई भरोसा सिर्जना गर्ने दिशामा काँग्रेस अग्रसर भएर लागेको बताए । महामन्त्री थापाले भने, ‘हामी एमालेसँगै सरकारमा छौं, देशको भ्रष्टाचारलाई सफा गर्ने काम गर्दैछौं । भ्रष्टाचारलाई सफा गर्ने क्रममा कांग्रेसको स्पष्ट कुरा छ, जोसुकै परोस्, कांग्रेस परोस्, एमाले परोस्, दायाँको परोस्, बायाँको परोस्, हाम्रो परोस्, आमाको परोस्, मामाको परोस्, हामी जान्दैनौं । गलत काम गर्ने मान्छेले सजाय पाउनुपर्छ । यो मान्यता स्थापित गर्न सक्यो भने बल्ल नागरिकहरूमा भरोसा पैदा हुन्छ । त्यो भरोसा सिर्जना गर्ने काम हामी गर्दैछौं ।’

जनताले अपेक्षा गरे अनुसारको उपलब्धि दलहरूले दिन नसक्दा असन्तुष्टि बढेको उनले बताए । ‘नागरिकमा असन्तुष्टि छ । असन्तुष्टि किन छ भने, २० वर्ष नागरिकले प्रतीक्षा गर्‍यो । २०६० सालदेखि २०८० साल भनेको २० वर्ष भयो । यो भित्रमा जति छिटो परिणाम आउनुपथ्र्यो । त्यो परिणाम आउन सकेन । नागरिकमा ठूलो बेचैनी र असन्तुष्टि देखिन्छ ।’ नागरिकमा देखिएको असन्तुष्टिमा एकथरी मानिसले मट्टितेल खन्याउने काम गरिरहेको थापाले बताए । थापाले भने, ‘एकथरीका मानिसहरू आगो ÞवारÞवार्ती बल्छ भन्ने ठानेर मट्टितेल खन्याइरहेका छन् । मट्टितेल कसले खन्याइरहेको छ भनेर पछि लाग्ने काम कांग्रेसको होइन । असन्तुष्टि किन छ भनेर चिन्ने काम कांग्रेसको हो । असन्तुष्टिको आगो निभाउने हाम्रो काम हो ।’ महामन्त्री थापाले कांग्रेसको महाधिवेशन २०८४ साल अगाडि नै हुने बताए । विभिन्न बहानामा पार्टीको महाधिवेशन धकेल्ने खेल भए पनि कानुनी हिसाबले स्थानीय तहको निर्वाचन अगाडि नै पार्टीको महाधिवेशन हुने उनले दावी गरे ।

अर्का महामन्त्री विश्वप्रकाश शर्माले लोकतान्त्रिक गणतन्त्रको विकल्प नभएको बताएका छन् । उनले वर्तमान व्यवस्थाको विकल्प राजतन्त्र नभएको उल्लेख गर्दै राजतन्त्र पुनःस्थापना हुने भ्रमबाट मुक्त हुन सम्पूर्ण नागरिकलाई आग्रह गरे । उनले जनतामा निराशा र असन्तुष्टि रहेको स्वीकार गर्दै त्यसलाई सम्बोधन गर्न विलम्ब हुन नुहुने बताए । महामन्त्री शर्माले चैत ५ गते भएको स्ववियु निर्वाचनको नतिजाले नै राजतन्त्रको पक्षमा जनमत छैन भन्ने पुष्टि गरेको बताए । 

महामन्त्री शर्माले राजाले पटक–पटक संविधान र लोकतन्त्रमाथि धावा बोलेपछि नेपाली जनताले गणतन्त्रको विगुल फुकेको बताए “नागरिकमा कैयौँ असन्तुष्टि होलान्, तर त्यसको विकल्प समाधान हो राजा होइन”, उनले भने । उनले गणतन्त्रको विकल्प खोज्ने होइन यसलाई सुधार गरेर अगाडि बढ्ने हो भने । काँग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले गुल्मीको विकासमा आफु सधै सक्रिय भएर लागेको बताए । उनले पार्टीलाई बलियो बनाउनेदेखि विकास निर्माणका काममा सधै जिल्लावासीसँगै रहेको धारणा व्यक्त गरे । 

कार्यक्रममा काँग्रेसका केन्द्रीय सदस्यहरु मिनेन्द्र रिजाल, चन्द्र केसी, अजयबाबुु सिवाकोटी, काँग्रेस लुम्बिनी प्रदेशका सभापति अमर पुनः, प्रदेश उपसभापति भुवनप्रसाद श्रेष्ठ, राष्ट्रिय सभा सदस्य विष्णुप्रसाद सापकोटो लगायतका नेताहरुले काँग्रेसलाई बलियो बनाएर लैजान जरुरी रहेको बताएका छन् । कार्यक्रममा काँग्रेसले जिल्लाभित्र सक्रिय उद्यमशी गर्दै आएका र शिक्षा क्षेत्रमा उत्कृष्ट हुनेहरुलाई सम्मान समेत गरेको छ । सोही अवसरमा विभिन्न पार्टी परित्याग गरी दर्जानौ व्यक्तिहरु काँग्रेस प्रवेश गरेका छन् । जिल्ला सभापति खिलध्वज पन्थीको अध्यक्षता, उपसभापति अनन्त पौड्यालको स्वागत, सचिव भगतसिं खड्काको सञ्चालनमा उद्घाटन सत्र कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: मंगलबार, चैत २६, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update