Shittalpati
डढेलोबाट वन जोगाऔं

हाल सुख्या मौसम भएकोले यतिबेला देशभरीका वनहरुमा आगोलागी हुने क्रम बढेको । फागुनको पहिलो हप्तादेखि देशका विभिन्न भागका वनमा लागेको डढेलो अझै नियन्त्रणमा आएको छैन । गर्मीयाममा वनमा डढेलो लाग्नु नयाँ विषय होइन । तर, यसवर्ष नेपालको वन क्षेत्रमा लागेको डढेलोका घटना नियन्त्रणमा नआउनु चुनौतीपूर्ण देखिएको छ । मुलुकका धेरै वन क्षेत्रमा आगलागी भईरहेको तथ्यांक सार्वजनिक भईरहेका छन् । जथाभावि लागेको डढेलोले यतिबेला सबैतिर वायु प्रदूषण बढिरहेको छ । वायु प्रदूषण बढाउनुमा वन डढेलो प्रमुख कारक रहेको विज्ञहरुले बताईरहेका छन् । तर, वनमा डढेलो लगाउने व्यक्ति हत्तपत्ति पत्ता लाग्दैन । जसले गर्दा आगजनी गर्ने व्यक्तिको मनोवल बढ्ने गरेको छ ।

पाल्पामा पनि फागुनको दोस्रो सातादेखि डढेलोले सताएको छ । हालसम्म यहाँका ३६ वटा जङ्गलमा लागेको डढेलोले ७ सय ११ हेक्टर क्षेत्रफल सखाप पारेको छ । डढेलोबाट अहिले सबैभन्दा बढी क्षति चुरे क्षेत्रका वनमा भइरहेको छ । डढेलो भनेको वनको प्रकोप भएकाले यसको नियन्त्रणमा सबै जुट्न आवश्यक छ । तर यसतर्फ कसैको पनि ध्यान पुग्न सकेको छैन । सामान्यतः हरेक वर्ष फागुनदेखि जेठसम्मको समयलाई वन डढेलोको यामभनेर चिनिन्छ । प्रायः यो समयावधिमा वन डढेलोको प्रकोप देशैभर अत्याधिक बढ्ने गरेको छ । डढेलोले वन प्राकृतिक र मानवीय धनजनको ठूलो क्षति गर्दै आएको छ । यसबाट बहुमूल्य जैविक विविधता र सम्पदासमेत खरानी भएका छन् । डढेलोका घटनाहरुले निरन्तरता पाइरहे पनि त्यसप्रति उच्च चासो र सरोकार भने निकै कम छ । डढेलोजन्य अवस्थालाई राष्ट्रिय विपत्तिको प्रमुख कारणका रुपमा समेत हेरिए पनि त्यसको नियन्त्रणप्रतिको सक्रियता भने निकै कम देख्न सकिन्छ । डढेलोका कारण मानवीयसँगै पशुपंक्षीमा समेत ठूलो क्षति पुगेको हुन्छ । वनमा गाईवस्तु चराउन जाने गोठालाहरुले चुरोट बिडीको ठुटोलाई आगो ननिभाईकन फाल्ने गरेका कारणले पनि जङ्गलभरी आगो फैलने गरेको छ । वन जोगाउनमा समुदायका वासिन्दाहरुको भूमिका सबै भन्दा बढी प्रभावकारी रहनेमा दुई मत नहोला । वनलाई जोगाउन सक्दा पानीका स्रोतको संरक्षण, प्रदूषण नियन्त्रण, दाउरा घाँसको सुविधा मिल्ने भएका कारण यसको महत्वलाई मनन गर्न सक्नुपर्ने आवश्यकता छ । सरकारले आफ्नो स्तरबाट गरेको प्रयासलाई अझै प्रभावकरी तुल्याउनु पर्ने आवश्यकतालाई नकार्न सकिन्न । डढेलो नियन्त्रणमा सयममै तयारी गरेर बस्न सकियो भने यसबाट क्षति न्यूनीकरणमा सफलता मिल्न्छ । सरकारको एकल प्रयास मात्रले वनको जोगाउन सकिदैन । तसर्थ सबै मिलेर वन जोगाउन लागौं ।

प्रकाशित मिति: बुधबार, चैत २७, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update