Shittalpati
वायु प्रदूषणको कहर

नेपाली आकाश यति बेला घुर्मैलो देखिन थालेको छ । मौसमी प्रणालीमा आएको सामान्य परिवर्तनसँगै वायुमण्डलमा धुलो र धुवाँका तह जम्मा भएर प्रकाश छिर्न मुस्किल पर्ने गरी छेक्न थालेको छ । हिउँद महिनामा बर्सेनि देखिने यो समस्यासँगै वायु प्रदूषणको समस्या फेरि चर्चामा छन् ।

देशका काठमाडौं उपत्यका, पोखरा, विराटनगर, नेपालगञ्जजस्ता शहरी क्षेत्रहरूमा केही दिनदेखि देखिएको वायु प्रदूषणको प्रभाव अन्य जिल्लाहरुमा पनि देखिन थालेको छ । नेपालमा बढ्दो बायु प्रदूषण निकै चिन्ताको विषय बनेको छ । प्रमुख शहरी क्षेत्रहरूमा धूलो, सवारीसाधनहरुले निकाल्ने धुवाँ, निर्माण कार्य तथा उद्योगधन्दाबाट निस्कने प्रदूषित पदार्थ, जङ्गलमा लागेको डढेलोबाट निस्किएको धुवाले हावालाई दूषित बनाएको छ । बेलाबेलामा पर्ने पानीले त्यसलाई केही मात्रामा भए पनि मत्थर गराउने गथ्र्यो तर यस वर्षको हिउँदको यो समयसम्म पानी परेको छैन्, जसले गर्दा वायुमण्डल गुम्म भइरहेको छ । यसले मानिसहरूको स्वास्थ्यमा गम्भीर असर पार्दै आइरहेको छ । मानिसहरूमा श्वासप्रश्वास, छातीको रोग, आँखाको रोग, फोक्सोमा प्रभावका साथै मष्तिष्कघात तथा हृदयघातसमेत गराउनसक्ने चेतावनी विज्ञहरूले दिएका छन् । स्वस्थ बन्नका लागि गरिने प्रातः भ्रमणसमेत नगर्न उनीहरूले सुझाव दिएका छन् भने जरुरी कामलेबाहेक घरबाहिर ननिस्कन सुझाव दिएका छन् । जरुरी कामले घरबाहिर निस्कनै परे मास्क लगाउन पनि विज्ञहरूको सुझाव छ । मानिसका लागि स्वास्थ्य पहिलो धन हो र यसको ख्याल सबैले गर्नै पर्छ, । सबै व्यक्ति आफ्नो स्वस्थ्यका बारेमा सचेत रहनै पर्छ, यसले गर्दा प्रदूषणबाट पर्ने मारबाट जोगिन सकिन्छ । एकपटक पानी परेपछि हालको प्रदूषण कम हुने भनिएको छ तर यो मानिसको काबुभन्दा परको विषय हो । अन्यत्रबाट आउने आकाशीय प्रदूषण रोक्न सकिँदैन तर हामी आफैंले भने लापरवाही गर्नु हुँदैन । सचेततापूर्वक काम गर्ने हो भने केही कमी आउन सक्छ । वायु प्रदूषण केवल पर्यावरणीय समस्या होइन, यो मानव अस्तित्वसँग जोडिएको विषय हो । राज्यले यसलाई राष्ट्रिय प्राथमिकतामा राखेर दिगो समाधान खोज्नुपर्छ र नागरिकहरूले पनि आफ्नो भूमिका निभाउनु आवश्यक छ । यसो गर्न सकियो भने मात्र वायु प्रदूषणको कहरबाट बच्न सकिन्छ ।

प्रकाशित मिति: बिहीबार, चैत २८, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update